रश्मिकुमारी घिसिङले ३८ औं मिनेटमा गोलको खाता खोलिन् । मीना देउवाको ब्याक पासमा रश्मिले बललाई सजिलै पोस्टको दिशा दिइन् ।
काठमाडौँ — नेपाली लिग च्याम्पियन एपीएफले साफ वुमेन्स क्लब च्याम्पिनयसिप २०२५ मा शुक्रबार विजयी सुरुआत लिएको छ । उसले दशरथ रंगशालामा भएको खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले हराएको हो ।
रश्मिकुमारी घिसिङले ३८ औं मिनेटमा गोलको खाता खोलिन् । मीना देउवाको ब्याक पासमा रश्मिले बललाई सजिलै पोस्टको दिशा दिइन् ।
मीनाले ७१ औं मिनेटमा दोस्रो गोल थपिन् । उनले एक्लै बल अगाडि बढाउँदै सुन्दर गोल गरिन् ।
रश्मिले ८१ औं मिनेटमा तेस्रो गोल थपिन् र यसका लागि उनले पेनाल्टी एरियाबाट सहज प्रहार गरिन् । मीनाले दोस्रो हाफको इन्ज्युरी समयमा चौथो तथा आफ्नो दोस्रो व्यक्तिगत गोल गरिन् ।
यससँगै एपीएफको ३ अंक भएको छ । नसरिन भने शून्य अंकमा रह्यो ।
शुक्रबार नै भएको उद्घाटन खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड र कराँची सिटी एफसीले गोलरहित बराबरी खेलेका थिए । यससँगै दुवै टिम १/१ अंकमा रहे ।
