कुल ५ टिमको सहभागिता रहने प्रतियोगितामा नेपालको चुनौती लिग च्याम्पियन एपीएफ क्लबले पेस गर्नेछ । राष्ट्रिय टिमले अहिलेसम्म कुनै उपाधि जित्न नसेकेको स्थितिमा एपीएफसामु क्लब फुटबलमा त्यो क्रमलाई पूर्णविराम लगाउने अवसर हुनेछ ।
What you should know
काठमाडौँ — दक्षिण एसियाली महिला फुटबल शुक्रबार नयाँ अध्यायमा प्रवेश गर्दै छ, जति बेला दशरथ रंगशालामा पहिलो संस्करणको वुमेन्स क्लब साफ च्याम्पियनसिप सुरु हुनेछ । कुल ५ टिमको सहभागिता रहने प्रतियोगितामा नेपालको चुनौती लिग च्याम्पियन एपीएफ क्लबले पेस गर्नेछ । राष्ट्रिय टिमले अहिलेसम्म कुनै उपाधि जित्न नसेकेको स्थितिमा एपीएफसामु क्लब फुटबलमा त्यो क्रमलाई पूर्णविराम लगाउने अवसर हुनेछ ।
तर टिमसामु एउटा ठूलो समस्या छ, कम्तीमा आफ्नो पहिलो खेलमा । उद्घाटन दिनको पहिलो खेलमा पाकिस्तानको कराँची सिटीले भुटानको ट्रान्सपोर्ट युनाइटेडको सामना गर्नेछ । त्यसपछि दोस्रो खेलमा एपीएफले प्रतिद्वन्द्वी बंगलादेशको नसरिन क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । एपीएफको समस्या हो, टोलीका केही खास खेलाडी विदेशी लिगमा खेलिरहेका छन् । त्यसमाथि भएका प्रमुख खेलाडी पनि हदैसम्म थकित छन् । यात्राले उनीहरूलाई गलाएको छ ।
नेपाली महिला राष्ट्रिय टिम बुधबार मध्यरात मात्रै काठमाडौं आइपुगेको थियो । त्यसका अधिकांश खेलाडी भन्नु नै एपीएफका हुन् । कप्तान अनिता बस्नेतले बिहीआर आयोजित प्रि–म्याच कन्फ्रेन्समा भन्छिन्, ‘हाम्रा अधिकांश खेलाडी थाकेका छन्, यसले खेलाडीको प्रदर्शन पनि प्रभावित रहेको छ । तर पनि हामी प्रतियोगितालाई लिएर उत्साही छौं । घरमै खेलिरहेका छौं र हामीसामु उपाधि जित्ने अवसर छ ।’
उनी मान्छन्, प्रतियोगिताको पहिलो खेलको नतिजाले धेरै तथ्य तयार पार्नेछ, त्यसैले यो असाध्यै महत्त्वपूर्ण हुनेछ । अझ प्रशिक्षक जीवेश पाण्डेले त यो प्रतियोगिताका लागि भनेर प्रशिक्षणको एउटै सत्र सञ्चालन गर्न पाएका छैनन् । उनको ध्यान पनि खेलाडीलाई सक्दो आराम दिनेमै हुनेछ । पूर्व राष्ट्रिय खेलाडी पाण्डे भन्छन्, ‘हामी प्रतियोगिताका लागि तयार भने छौं, हामी पहिलो खेलको प्रतीक्षामै छौं ।’
एपीएफले सामना गर्ने टिम हो, बंगलादेशको नसरिन । दशरथ रंगशालामै बंगलादेशको राष्ट्रिय टिमले दुईपल्ट वुमेन्स साफ च्याम्पिनयसिप जितेको पृष्ठभूमिमा नसरिन आफ्नो चुनौती पेस गर्ने क्रममा छ । यो टिमको सबैभन्दा ठूलो विशेषता हो, उमेर समूहका खेलाडीको बाहुल्य ।
टोलीकी कप्तान हुन्, सन्जिदा खातुन । उनी भन्छिन्, ‘टिममा मसँगै केही खेलाडी मात्र सिनियर छन् । सबै टिमलाई जस्तो दबाब छ, हामीलाई पनि त्यस्तै छ ।’ बंगलादेशी टिमका प्रशिक्षक मोनिर हुसेन भन्छन्, ‘प्रतियोगितालाई लिएर हाम्रो टिम उत्साही छ ।’
अर्कोतर्फ ट्रान्सपोर्ट युनाइटेड भुटानी महिला लिगमा दोस्रो भएको टिम हो । यसका अधिकांश सदस्य पनि भुटानी राष्ट्रिय टिमकै सदस्य हुन् । कप्तान सुनीता राईको शब्दमा ९० प्रतिशत खेलाडी राष्ट्र्रिय टिमकै हुन् । कप्तान सुनीता भन्छिन्, ‘हाम्रो पूरा ध्यान प्रतियोगितामै छ । हामी सबै उत्साही छौं ।’ उनले दशरथ रंगशालामा खेल्न पाएकामा पनि खुसी व्यक्त गरिन् र थपिन्, ‘मलाई लाग्छ, नेपाली फुटबल समर्थकले यो खेललाई असाध्यै धेरै माया गर्छ ।’ भुटानी टिमका प्रशिक्षक हुन्, येसी वाङ्चुक । उनले आफ्नो टिमले यो प्रतियोगिताका लागि राम्रो तयारी गरेको सुनाए ।
पाकिस्तानको कराँची सिटी भने सन् २०२१ मा स्थापित क्लब मात्र हो । त्यस टिमकी कप्तान मारिया खान क्लब स्तरमै भएता पनि आफूहरूले देशको प्रतिनिधित्व गरेर खेलिरहेको र त्यसले गर्दा राम्रो खेल्न प्रेरित भएको बताइन् । प्रशिक्षक एडिल रिज्कीले फेरि एकपल्ट काठमाडौंमा खेल्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘हामी प्रतियोगिताको पहिलो खेलको प्रतीक्षामा छौं र त्यसमा राम्रो प्रदर्शनको अपेक्षा राख्छौं ।’
प्रतियोगिताको पाँचौं टिम हो, इस्ट बंगाल । टोलीको पहिलो खेल सोमबार मात्रै छ । टिम बिहीबार अबेर मात्रै काठमाडौं आइपुगेको थियो, त्यसैले प्रि–म्याच कन्फ्रेन्समा उपस्थित हुन सकेन ।
