तेक्वान्दोमा गीता र अभिषेकलाई स्वर्ण

सातदोबाटोस्थित तेक्वान्दो हलमा शुक्रबार सिनियर महिला ५३ केजीमुनि तौल समूहमा गीता र पुरुष ८० केजीमुनि तौल समूहमा अभिषेकले स्वर्ण जितेका हुन् ।

मंसिर १९, २०८२

कान्तिपुर संवाददाता

Geeta and Abhishek win gold in taekwondo

काठमाडौँ — त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३ औं कोरियन एम्बासडर तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा शुक्रबार सिनियर महिला ५३ केजीमुनि तौल समूहमा गीता र पुरुष ८० केजीमुनि तौल समूहमा अभिषेकले स्वर्ण जितेका हुन् । गीता र अभिषेक मिसन–२०२६ को विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् ।

सिनियर महिलामा आर्मीकै वीणा नाथले रजत तथा चन्द्रनिगाहपुरकी कञ्चन खड्का र आर्मीकै आरती सिंहले कांस्य जिते । पुरुषमा पारस चन्दले रजत जित्दा धौलागिरि डोजाङका विशान्त केसी र आर्मीका सुवास केसीले कांस्य जितेका थिए ।

सिनियर पुरुष ६८ केजीमुनि आर्मीका सगुन श्रेष्ठ पहिलो, आर्मीकै धनसिंह परियार दोस्रो तथा पोखरी डोजाङका अनिश जीसी र पुलिसका भुवन महराले तेस्रो स्थान हात पारे । जुनियर पुरुष ५५ केजीमुनि दिलीप स्मृति डोजाङका करण ढोलीले स्वर्ण, ऋतु डोजाङका राजु ऐरले रजत, नागार्जुन डोजाङका सुदीप नेपाल र कञ्चनपुरका क्रिस बुढाथोकीले कांस्य हात पारे । सोही तौलको महिलामा गोर्खाली डोजाङकी प्रतिमा भुजेलले स्वर्ण जितिन् । उनले गोर्खालीकै पूर्णिमा श्रेष्ठलाई हराइन् । काँकडभिट्टाकी तायमी राई र अल्फा डोजाङकी अञ्जना विष्टले कांस्य जितेका थिए ।

च्याम्पियनसिप शनिबारसम्म चल्नेछ ।  

कान्तिपुर

Link copied successfully