शुक्रबार भएको फाइनल खेलमा संखुवासभाको मकालु फ्रेन्चलाई २-१ गोलले हराउँदै सोमबारेले उपाधि जितेको हो ।
संखुवासभा — किरात राईहरूको उधौली साकेलाको अवसरमा आयोजित नवौं पांमा कप फुटबलको उपाधि भोजपुरको सोमबारे फुटबल क्लबले जितेको छ ।
भगिवन्त रंगशालामा शुक्रबार भएको फाइनल खेलमा संखुवासभाको मकालु फ्रेन्चलाई २-१ गोलले हराउँदै सोमबारेले उपाधि जितेको हो । मकालुका तर्फबाट एलेक्सले पहिलो हाफको २५ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
सोमबारे फुटबल क्लबका अजय मार्टिनले दोस्रो हाफको २७ औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए । लगत्तै रिचार्ड विल्सनले २८ औं मिनेटमा अर्को गोल थपे । सोही गोल निर्णायक बनेको थियो ।
दुवै क्लबले नाइजेरियन खेलाडी ल्याएर प्रतियोगितमा भाग लिएको थियो । विदेशी खेलाडी जिल्लामै आएर खेलेपछि खेलप्रेमीले उनीहरुले कलाकौशल हेर्ने मौका पाएका थिए ।
प्रतियोगितमा भोजपुरका खेलाडी अजय मार्टिन हाइस्कोरर घोषित भए । म्यान अफ दी म्याच रिचार्ड विल्सन भए ।
बेष्ट स्ट्राइकर भोजपुरका मिलन चाम्लिङ भए भने बेस्ट डिफेन्स भोजपुरकै धिरेन क्षेत्री घोषित भए ।
प्रतियोगितामा संखुवासभा र भोजपुरका ८ टिमको सहभागिता थियो । विजयी भोजपुरले नगद दुई लाख ५० हजार पायो भने उपविजेता बनेको संखुवासभाको मकालु फ्रेन्चले एक लाखमा चित्त बुझायो ।
