दिनको पहिलो खेलमा शाहब आलमले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले हराएर प्लेअफको औपचारिकता पक्का गरेको थियो ।
What you should know
काठमाडौँ — सुदूरपश्चिम रोयल्स लगातार दोस्रो वर्ष नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर १ मा पुगेको छ । सुदूरपश्चिमले बिहीबार चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै शतप्रतिशत विजय यात्रा कायमै राख्यो ।
दिनको पहिलो खेलमा शाहब आलमले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले हराएर प्लेअफको औपचारिकता पक्का गरेको थियो । यी दुई खेलमा बिहीबार बनेका कीर्तिमान यस्तो छ :
– नेपाल प्रिमियर लिगमा पहिलो पटक ह्याट्रिक विकेट सम्भव भएको छ । यो सौभाग्य काठमान्डु गोर्खाजका शाहब आलमले पाए । उनले पोखरा एभेन्जर्सविरुद्धको खेलको अन्तिम ओभरमा लगातार तीन विकेट लिएका थिए । उनले अन्तिम ओभरको पहिलो ३ बलमा ऋषि धवन, विपिन खत्री र आकाश चन्दलाई आउट गरे ।
– काठमान्डुका शाहब आलमले एनपीएल इतिहासकै उत्कृष्ट बलिङ गरेका छन् । उनले पोखराविरुद्ध ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिए । उनले कर्णाली याक्सका विलियम बोसिस्टोलाई उछिनेका हुन् । बोसिस्टोले गत वर्ष पोखराविरुद्ध नै २८ रन खर्चेर ६ विकेट लिएका थिए ।
– काठमान्डुका भीम सार्कीले एनपीएलमा तेस्रो कम बलमा अर्धशतकको कीर्तिमान बनाएका छन् । उनले पोखराविरुद्धको खेलमा १९ बलमै अर्धशतक बनाए । यस सिजनमा सुदूरपश्चिमका हरमित सिंहले काठमान्डुविरुद्ध नै १९ बल तथा गत वर्ष जनकपुर बोल्ट्सका जिम्मी निसमले चितवन राइनोजविरुद्ध १८ बलमा अर्धशतक बनाएका थिए ।
– काठमान्डुका मिलिन्द कुमार एकै खेलमा ५ क्याच लिने पहिलो खेलाडी बनेका छन् । उनले बिहीबार पोखराविरुद्ध यो कीर्तिमान बनाएका थिए । काठमान्डुकै जेहरार्ड इरसमसले चितवनविरुद्ध यसै सिजन ४ क्याच लिएका थिए ।
– चितवनका रवि बोपारा एनपीएलमा ५ सय रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले यसपालि ६ खेलमा ३ अर्धशतकसहित २ सय ३६ रन बनाइसकेका छन् । गत सिजन उनले ८ खेलमा ३ अर्धशतकसहित २ सय ८६ रन बनाएका थिए ।
– सुदूरपश्चिम रोयल्स एनपीएलमा लगातार ६ खेल जित्ने पहिलो टोली बनेको छ ।
