विराटनगरलाई हराउँदै लुम्बिनी चौथो स्थानमा 

आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेमात्र लुम्बिनी लायन्सको प्लेअफ सुरक्षित हुने सम्भावना

मंसिर १८, २०८२

विनोद पाण्डे

Lumbini beats Biratnagar to take fourth place

What you should know

काठमाडौँ — लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार टस जितेपछि फिल्डिङ रोज्नुको कारण स्वाभाविक नै थियो । तर उनीसामु चुनौती निकै ठूलो थियो । रोहितले विराटनगर किंग्सलाई ब्याटिङ निम्तो दिएपछि क्रिजमा आए दक्षिण अफ्रिकी ब्याटिङ स्टार फाफ डु प्लेसिस । 

डु प्लेसिससँगै अर्का ब्याटर थिए जर्ज मन्सी । रोहितले पहिलो ओभरमै स्पिनर शेर मल्ललाई बलिङको जिम्मा दिएर विराटनगरको ब्याटिङ घेर्ने प्रयास गरे । शेरले आफ्नो कप्तानलाई निरास बनाएनन् । दोस्रो बलमै शेरले मन्सीलाई शून्यमा एलबीडब्लू आउट गरेपछि लुम्बिनीको आत्मविश्वास बढेको थियो । 

अभिषेक गौतमलाई तेस्रो ओभर बलिङ गर्न दिइयो । डु प्लेसिसले उनको पहिलो बलमै चौका प्रहार गरे । तर उक्त ओभरको अन्तिम बलमा अभिषेकले जादु देखाए । डु प्लेसिस स्टेपआउट गर्न अगाडि बढ्दा अभिषेकले ‘सार्प टर्न’ गरेर अफ स्टम्प बाहिर गएको बलमा निरोशन डिकवेलाले स्टम्पिङ गरिदिए ।

लुम्बिनीबाट प्रतियोगितामा सबै खेल खेल्दै आएका अभिषेकले अघिल्ला ५ खेलमा ३ विकेट लिएका थिए । उनले सुदूरपश्चिम रोयल्ससँगको खेलमा जस ब्राउनको विकेट लिए । त्यस्तै चितवन राइनोजविरुद्ध दीपक बोहरा र देव खनाललाई आउट गरेका थिए । 

मन्सी र डु प्लेसिसको महत्त्वपूर्ण विकेट लिएपछि लुम्बिनीले खेल नियन्त्रणमा राख्यो । विराटनगरले पावर प्लेमा ३४ रनमात्र बनाउन सक्यो । १० ओभरमा टोली ५९–२ को स्थितिभन्दा माथि जान सकेन । विराटनगरले निर्धारित २० ओभर खेल्दा ८ विकेट गुमाई १ सय ४४ रनमात्र बनाउन जोड्न सक्यो । 

एनपीएलमा पहिलो खेल खेलिरहेका डु प्लेसिसले १२ रनमात्र बनाउन सके । ९ बल खेलेका उनले २ चौका प्रहार गरे । उनले ओपनिङमा ब्याटिङ गरेपछि तेस्रो नम्बरमा आएका लोकेश बमले विराटनगरबाट सर्वाधिक ३५ रन बनाए । ४२ बलमा २–२ चौका र छक्का प्रहार गरेका लोकेशलाई जेजे स्मिटले कट एन्ड बोल्ड गरे । साम हेजलेटले २७ रन बनाए । उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे ।

नारायण जोशी ५, प्रतिश जिसी ११, बसिर अहमद १९ बलमा१ चौका र १ छक्कासहित २८ र साहिल पटेल ३ रनमा आउट भए । इनिङ्सको अन्तिम बल सामना गर्न आएका कप्तान सन्दीप लामिछानेले छक्का प्रहार गरे । मर्च्येन्ट डी ल्याङ्गे ८ बल खेल्दै १० रनमा अविजित रहे । लुम्बिनीबाट शेरले ३ विकेट लिए । प्लेयर अफ द म्याच उनले ४ ओभरमा २५ रनमात्र खर्चिए । अभिषेकले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । नामिबियाका जोडी रुबेन ट्रम्पलमनले ४ ओभरमा २४ र स्मिटले ३ ओभरमा ३४ रन खर्चेर १–१ विकेट लिए । 

डी’आरसी शटले ४४ बलमा ५७ रन बनाएपछि लुम्बिनीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १७.४ ओभरमै लक्ष्य पूरा गर्दै ५ विकेटको जित पायो । ६ खेलमा तेस्रो विजय नतिजा निकालेको लुम्बिनीले प्लेअफमा पुग्ने आशा कायमै राखेको छ । लुम्बिनी अहिले चौथो स्थानमा छ । 

आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेमात्र लुम्बिनी प्लेअफमा सुरक्षित हुने सम्भावना बन्छ । विराटनगरको ६ खेलमा यो दोस्रो हार हो । ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगरले शनिबार सुदूरपश्चिम रोयल्ससँग आफ्नो अन्तिम खेल खेल्नेछ । 

अस्ट्रेलियन ब्याटर शटले ६ चौका र २ छक्का प्रहार गर्दै लुम्बिनीलाई विजय दिलाउन महत्त्वपूर्ण भूमिका खेले । प्रतियोगितामा यो उनको पहिलो अर्धशतक हो । उनले र डिकवेलासँग २४ बलमा ४६ रनको साझेदारी गरे । शट र सुमित महर्जनले पहिलो ४ ओभरमा २९ रन जोड्दै लुम्बिनीलाई राम्रो सुरुआत दिलाएका थिए । तर, पाँचौं ओभरमा सुवास भण्डारीले सुमितलाई १० र कप्तान रोहितलाई शून्यमा आउट गरी विराटनगरलाई खेलमा फर्काउने प्रयास गरे । सुमितलाई स्टम्पआउट गराएका सुवासले रोहितलाई डु प्लेसिसबाट सानदार क्याचआउट गराए । 

सन्दीप जोराले पनि २४ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दिलीप नाथ १२ बलमा २ चौका प्रहार गर्दै १६ रनमा आउट भए । उनी लुम्बिनीलाई जितनिम्ति ३ रन चाहिएको अवस्थामा आउट भएका थिए । डिकवेला २९ र शेर मल्ल १ रनमा अविजित रहे । डिकवेलाले २२ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । विराटनगरबाट सुवासले ४ ओभरमा ३०, कप्तान सन्दीपले ४ ओभरमा २० रन खर्चेर २–२ तथा बसिर अहमदले १ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully