एनपीएलको तेस्रो शतक रोसिङ्टनको नाममा, कर्णाली प्लेअफबाट बाहिरियो।
What you should know
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा तेस्रो शतक बनाउने खेलाडी विदेशी नै रहे । पोखरा एभेन्जर्सका इंग्लिस ब्याटर एडम रोसिङ्टन एनपीएलमा शतक बनाउने तेस्रो खेलाडी बनेका छन् । उनको योगदानमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गरी प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।
रोसिङ्टनले अविजित १ सय ८ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको पोखराले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा निर्धारित २० ओभर खेल्दै २ विकेट गुमाई २ सय १ रन बनाएको थियो ।
रोसिङ्टन पोखराबाट शतक बनाउने दोस्रो खेलाडी हुन् । कर्णालीका स्कटिस ब्याटर मार्क वाटले यसै प्रतियोगितामा लुम्बिनी लायन्सविरुद्ध १ सय १४ र गत वर्ष पोखराकै अमेरिकी खेलाडी आन्द्रिज गाउसले लुम्बिनीविरुद्ध नै १ सय ४ रन बनाएका थिए । रोसिङ्टनले ५५ बलमै शतक पूरा गरेका थिए ।
वाटले लुम्बिनीविरुद्ध ४१ बलमा शतक बनाएका थिए । गाउसले शतक पूरा गर्दा ५४ बल सामना गरेका थिए । ३२ वर्षे रोसिङ्टनले कुल ५८ बल खेल्दै ८६ रन बाउन्ड्रीबाटै बटुलेका थिए, त्यसमा ११ चौका र ७ छक्का समावेश थियो । एनपीएलमा २ सय रन पार गर्ने पोखरा दोस्रो टोली पनि बन्यो । विराटनगर किंग्सले पोखराविरुद्ध २ सय २० रन बनाएको थियो ।
कप्तान कुशल भुर्तेल १७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै १८ रनमा आउट भएपछि रोसिङ्टनले प्रतियोगितामा पहिलो खेल खेलिरहेका विश्वकप विजेता इंग्ल्यान्डका खेलाडी जेसन रोयसँग दोस्रो विकेटमा ७२ बलभित्र १ सय २७ रनको साझेदारी गरेका थिए । रोय ४६ रनमा आउट भए ।
उनले ३४ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । उनी जस्तै प्रतियोगितामा पहिलो खेल खेलिरहेका धनन्जय लक्षण ११ बल खेल्दै ३ चौका र १ छक्कासहित २३ रनमा अविजित रहे । कर्णालीका नन्दन यादवले ४ ओभरमा ३४ र वाटले ३ ओभरमा २४ रन खर्चेर १–१ विकेट लिए । कप्तान सोमपाल कामीले ४ ओभरमा ५० र गुलशन झाले ३ ओभरमा ३५ रन खर्चे पनि कुनै विकेट लिन सकेनन् ।
वाटले आक्रामक अर्धशतक बनाए पनि जवाफमा कर्णाली १९ ओभरमा १ सय ६७ रनमै अलआउट भयो । पोखराले ५ खेलमा दोस्रो विजय हात पारेको हो । प्लेअफमा पुग्ने आशा कायम राख्न टोलीले बाँकी रहेको दुई खेल जित्नुपर्ने हुन्छ । कर्णाली प्लेअफको समीकरणबाट बाहिरिने पहिलो टोली बनेको छ । टोलीले ६ मध्ये १ खेलमात्र जितेको छ । गत सिजन तेस्रो भएको कर्णालीले ५ हार भोगिसकेको छ ।
वाटले ३४ बलमा ५९ रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे । प्रियान्क पाञ्चाल २ छक्कासहित ११ बलमा १६, जयकिशन कोल्सावाला ६, पवन सर्राफ १४ बलमा समान १ छक्का र चौकासहित १९ रनमा आउट भए । नाजिबुल्लाह जाद्रानले १५ बल खेल्दै २ चौका र १ छक्कासहित र २४ रन बनाए ।
गुलशन ९, दीपेन्द्र सावत १०, कप्तान सोमपाल १३, युनिशसिंह ठकुरी ३ रन र विपिन शर्मा शून्यमा आउट भए । कर्णालीबाट ऋषि धवन र लक्षणले ३–३ विकेट लिए । भारतका पूर्व तीव्र गतिका बलर धवनले ४ ओभरमा ३७ र श्रीलंकाका लक्षणले ४ ओभरमा ३१ रन खर्चे । कुशल, किरण ठगुन्ना, सन्दीप क्षेत्रीले १–१ विकेट लिए ।
