विराटनगर र आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेमात्र लुम्बिनी प्लेअफमा सुरक्षित हुने सम्भावना बन्छ ।
What you should know
काठमाडौँ — दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिस समावेश विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबारको खेलमा १ सय ४४ रनमै रोकेको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्ता पाएको विराटनगरले निर्धारित २० ओभर खेलि ८ विकेट गुमाई १ सय ४४ रनमात्र बनाउन सक्यो ।
एनपीएलमा पहिलो खेल खेलिरहेका डु प्लेसिसले १२ रनमात्र बनाउन सके । ९ बल खेली २ चौका प्रहार गरेका उनलाई अभिषेक गौतमले विकेटकिपर निरोशन डिकवेलाले स्टम्प आउट गराए । त्यसअघि नै लुम्बिनीले खेलमा उत्कृष्ट सुरुआत गरेको थियो । खेलको दोस्रो बलमै शेर मल्लले जर्ज मन्सीलाई शून्यमा एलबीडब्लू आउट गरेका थिए ।
फाफले ओपनिङमा ब्याटिङ गरेपछि तेस्रो नम्बरमा आएका लोकेश बमले विराटनगरबाट सर्वाधिक ३५ रन बनाए । ४२ बल खेली समान २ चौका र छक्का प्रहार गरेका लोकेशलाई जेजे स्मिथले कट एन्ड बोल्ड गरे । साम हेजलेटले २७ रन बनाए । उनले २० बल खेलि १ चौका र २ छक्का प्रहार गरे ।
नारायण जोशी ५, प्रतिश जिसी ११, बसिर अहमद १९ बलमा समान १ चौका र छक्का प्रहार गरी २८ र साहिल पटेल ३ रनमा आउट भए । इनिङ्सको अन्तिम बल सामना गर्न आएका सन्दीप लामिछानेले छक्का प्रहार गरेका थिए । मर्च्येन्ट डी ल्याङ्गे ८ बल खेली १० रनमा अविजित रहे ।
लुम्बिनीबाट शेरले ३ विकेट लिए । उनले ४ ओभरमा २५ रनमात्र खर्चेका थिए । अभिषेकले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । नामिबियन जोडीद्वय रुबेन ट्रम्पलमनले ४ ओभरमा २४ र स्मिटले ३ ओभरमा ३४ रन खर्चेर १–१ विकेट लिए ।
विराटनगरले यस खेल जितेमा प्लेअफमा निश्चित गर्दै क्वालिफायर १ को नजिक पुग्ने छ । विराटनगरले पहिलो ५ मध्येको ४ खेल जितेर प्लेअफमा स्थान निश्चित गरिसकेको छ । पहिलो ३ खेल जितेको विराटनगर चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएको थियो ।
तर पछिल्लो खेलमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गरी टोली पुनः विजय पथमा फर्किको थियो । यता लुम्बिनीलाई प्लेअफमा पुग्न यो खेल जित्नै पर्ने दबाबमा रहेको छ । लुम्बिनीले ५ मध्येको २ खेल जितेको छ भने ३ मा पराजय भोगेको छ ।
विराटनगर र आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेमात्र लुम्बिनी प्लेअफमा सुरक्षित हुने सम्भावना बन्छ ।
