जनकपुरलाई जितको स्वाद

चार खेल हारेको जनकपुरले जितपछि प्लेअफ पुग्ने झिनो आशा कायमै राख्यो । चितवनले ५ मध्ये २ खेलमात्र जितेको छ ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

Janakpur tastes victory

What you should know

काठमाडौँ — अनिल साह र माज सदाकतको अर्धशतकमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । जनकपुरको पहिलो जित हो ।

चार खेल हारेको जनकपुरले जितपछि प्लेअफ पुग्ने झिनो आशा कायमै राख्यो । चितवनले ५ मध्ये २ खेलमात्र जितेको छ । चितवनले अन्तिम खेल बिहीबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । गत वर्ष जनकपुरले उपाधि जिते पनि समूह चरणमा चितवनले जनकपुरलाई ३४ रनले हराएको थियो । 

अनिलले ३६ बलमा ६१ र सदाकतले ३० बलमा ६३ रन बनाएपछि जनकपुरले १ सय ७७ रनको लक्ष्य १७.३ ओभरमा १ सय ८० रन बनाएर पूरा गरेको थियो । आसिफ शेख १८ बलमा ३ चौकासहित १८ रनमा आउट भएपछि यी दुई ब्याटरले खुलेर खेल्दै ३७ बलमा ७९ रनको साझेदारी गरे ।

प्लेयर अफ द म्याच अनिलले ३६ बलमा ४ चौका र ३ छक्का तथा सदाकतले ३० बल खेलि ६ चौका र ४ छक्का प्रहार गरे । यान निकोल लफ्टी इटन ११ रनमा आउट भए । आदित्य महता ७ बलमा २ चौका र १ छक्कासहित १८ र सञ्जय कृष्णमूर्ति ५ रनमा अविजित रहे । 

जनकपुरमा नियमित कप्तान अनिलले पहिलो ३ खेलमा ५ रनमात्र बनाउन सके । व्यक्तिगत कमजोर फर्म र जनकपुरले लगातार पराजय भोगिरहँदा अनिललाई अघिल्लो खेलमा प्लेयिङ ११ मा राखिएको थिएन । चितवनविरुद्ध टोलीमा फिर्ता बोलाइए पनि वायन पार्नेलले जनकपुरको कप्तानी गरेका थिए । 

साथै जनकपुरले ललित राजवंशी र किशोर महतोलाई बाहिर राख्ने ठूलै निर्णय गरेको थियो । यस सिजन ललितले ४ खेलमा २ र किशोरले १ विकेटमात्र लिन सकेका थिए । अनिल र सचिन भट्टले उनीहरूको स्थान लिए । यसअघि डेविड मलान र अर्जुन साउदले पहिलो विकेटमा १ सय १२ रनको साझेदारी गरेपछि टस जितेको चितवनले ४ विकेट गुमाई १ सय ७६ सय रन बनायो ।

सदाकतले खेलको पहिलो ओभर मेडन फाले पनि ६ ओभरको पावर प्लेमा ३८, १० ओभरमा ७६ रन जोड्दै चितवनले राम्रो योगफल बनाएको थियो । मलान र अर्जुनले जनकपुरका फिल्डरले छाडेको आधा दर्जन क्याचको भरपूर फाइदा उठाए । पहिलो खेल खेलिरहेका सचिन भट्टको बलमा अनिलले मलानको ३५ रनमा निकै सजिलो क्याच छाडे । मलानले ५४ बलमा ८० रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे ।

लफ्टी इटनले १४ औं ओभरमा अर्जुनलाई आउट गरी जनकपुरलाई पहिलो सफलता दिलाए । अर्जुनले ३९ बलमा ४ चौका र ३ छक्कासहित ५२ रन बनाए । सैफ जैब ७ र रबि बोपारा ३ रनमा आउट भए । कप्तान कुशल मल्ल १४ बलमा २–२ चौका र छक्कासहित ३० र अमर राउटेला १ रनमा अविजित रहे । जनकपुरका अनिल, रुपेश सिंह, सदाकत र लफ्टी इटनले १–१ विकेट लिए ।

कान्तिपुर

Link copied successfully