इंग्ल्यान्डका विश्वकप विजयी ओपनिङ ब्याटर जेसन रोय एनपीएलमा पहिलो खेल खेल्दै
काठमाडौँ — कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको दोस्रो खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । कर्णालीका कप्तान सोमपाल कामीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेर पोखरा एभेन्जर्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।
कर्णालीबाट ३ खेलाडी परिवर्तन गरिएको छ । विलियम बोसिस्टो, दीपक डुम्रे र युवराज खत्रीको स्थानमा जयकिसन कोल्सावाला, दीपेन्द्र रावत र युनिसविक्रम ठकुरीलाई खेलाएको छ । कोल्सावाला र दीपेन्द्रले यस सिजनमा पहिलो पटक खेल्न लागेका हुन् ।
पोखराले अघिल्लो खेल खेलेको टोलीबाट सुमित बर्मा, जिम्मी निसम, म्याट टेलर, अभिषेक तिवारी र दिनेश खरेललाई परिवर्तन गरेको छ । निसम आईएल टी–२० खेल्न दुबई लागिसकेका छन् । पोखराले जेसन रोय, धनन्जय लक्षण, रिषी धवन, आकाश चन्द र सन्दीप केसीलाई खेलाएको छ ।
इंग्ल्यान्डका विश्वकप विजयी ओपनिङ ब्याटर रोय, श्रीलंकाका लक्षण र भारतका धवनसहित सन्दीपको प्रतियोगितामा यो पहिलो खेल हो ।
पोखराले ४ मध्येको १ खेलमात्र जितेको छ । प्लेअफमा पुग्न टोलीले बाँकी रहेको तीनै खेल जित्नु पर्नेछ । कर्णालीले ५ मध्येको १ खेलमात्र जितेको छ । प्लेअफमा पुग्ने आशालाई जीवितै राख्न टोलीले बाँकी रहेको दुवै खेल जित्नु पर्छ ।
