उच्च पहाडमा म्याराथन आयोजना, इलामका सञ्जय प्रथम

समुद्री सतहदेखि २ हजार ३ सय मिटरबाट सुरु भएर ३ हजार ६ सय मिटरसम्मको उचाइमा म्याराथन आयोजना भएको हो ।

मंसिर १६, २०८२

लक्ष्मी गौतम

Marathon organized in high mountains, Sanjay of Ilam wins

पाँचथर — पाँचथरको फालेलुङमा आयोजित दोस्रो खुल्ला पुरुष म्याराथनको उपाधि इलामका सञ्जय राईले जितेका छन् । सन्दकपुर गाउँपालिका-१ निवासी उनले उच्च पहाडमा आयोजित ३२ किलोमिटर दुरीको प्रतियोगिता २ घण्टा ४९ मिनेट १८ सेकेन्टमा पार गरे ।

प्रतियोगितामा पाँचथरको मिक्लाजुङका ओसन राई दोस्रो भए । उनले निर्धारित दुरी २ घण्टा ५७ मिनेट २१ सेकेन्डमा पार गरेका थिए । यस्तै पाँचथरकै फालेलुङ गाउँपालिका-३ का धनराज राई ३ घण्टा ३१ मिनेटमा दुरी पार गर्दै तेस्रो हुँदा याङवरक-३ का सौगात काम्बाङ र मिक्लाजुङ-७ मोरङका याङदेव राईले ३ घण्टा ३५ मिनेटमा निर्धारित दुरी पार गर्दै पाँचौ स्थान सुरक्षित गरे ।

समुद्री सतहदेखि २ हजार ३ सय मिटरबाट सुरु भएर ३ हजार ६ सय मिटरसम्मको उचाइमा गराइएको म्याराथन जिल्लामा आयोजना फालेलुङ रनमध्ये सबैभन्दा उच्च पहाड र हिमालमा आयोजना हुने प्रतियोगितामा पर्छ । जुन फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुङदखि सुरु भएर मेमेङ, थाप्ली डाँडा, फालोट, तीनसिमाना पुगेर पुनः थाप्ली डाँडामा आएर टुंगिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता तेस्रो पटक फालेलुङ पर्यटन महोत्सवका अवसरमा आयोजना गरिएको हो । मंसिर १२ गते सुरु भएको महोत्सव मङ्गलबार सकिँदै छ । 

म्याराथनमा प्रथम स्थान हासिल गर्ने धावकले नगद ३० हजार दोस्रोले नगद २० हजार, तेस्रोले १० हजार रुपैयाँसहित ट्र्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजक तीनसिमाना जनसेवा समाजका अध्यक्ष लेन्जो सावदेनले बताए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully