आयोजक गछिया युवा समाजको सहज जितमा प्रदीप बुढाथोकीले ह्याट्रिकसहित ४ गोल गरे
सुनसरी — पाहुना टोली लिजेन्ड क्लब पश्चिम बंगाल भारतलाई ७–० को फराकिलो गोलअन्तरले पाखा लगाउँदै आयोजक टिम प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।
आयोजक गछिया युवा समाजको सहज जितमा प्रदीप बुढाथोकीले ह्याट्रिकसहित ४ गोल गरे । विजय उरावले २ गोल गर्दा सन्तोष खत्रीले १ गोल थपे ।
बुढाथोकीले खेलको १२ औं, ३७ औं र ५६ औं मिनेटमा गोल गर्दै प्रतियोगिताको पहिलो ह्याटिक बनाए । ६४ औं मिनेटमा थप १ गोल गर्दै उनले आफ्नो व्यक्तिगत गोल संख्या ४ पुर्याए । उरावले खेलको ५३ औं र ६९ औं मिनेट गोल गरेका थिए ।
त्यसअघि खेलको १२ औं मिनेटमा खत्रीले गोल गरेर आयोजक टिमको खाता खोल्न सफल भएको थियो । खेलको प्लेयर अफद म्याच प्रदीप भए । उनले नगद ५ हजार १ सय रुपैयाँ हात पारे ।
बुधबार हुने तेस्रो क्वार्टरफाइनल खेलमा गाईघाट युनाइटेड उदयपुर र जलथल फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि सोमबार भएको उद्घाटन खेलमा सिरहाको सहलेस फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । मंसिर २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीले जनही ११ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
