पहिला राष्ट्रिय लिग अनि ‘ए’ डिभिजन

कार्यसमितिले महिला फुटबलसम्बन्धी पनि दुई प्रमुख निर्णय गरेको छ । त्यसमा अब महिला फुटबलको पनि फ्रेन्चाइज लिग गरिन निर्णय भएको छ ।

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

First National League and 'A' Division

What you should know

काठमाडौँ — लिगबारे दुविधा, अन्योल र विवादबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एउटा त्यस्तो निर्णय गरेको छ, जसको कार्यान्वयनबारे अझै प्रश्न रहनेछ । त्यो निर्णयअनुसार पुस २५ देखि राष्ट्रिय लिग गरिनेछ । त्यसपछि एक महिनाको अन्तरमा ‘ए’ डिभिजन गर्ने । यसबारे प्रश्न किन रहनेछ भने यसअघि पनि लिग आयोजनाबारे धेरैपल्ट निर्णय भइसकेका छन् । तर कार्यान्वयन भने भएका छैन ।

बरू तय कार्यक्रम एकपछि अर्को फेरिएका छन् । ‘एन्फाले चाहेर मात्र पनि सबै नहुने रहेछ,’ एन्फाका महासचिव किरण राईले स्वीकारे, ‘फेरि एन्फा अभिभावक संस्था हो, त्यसैले कोही कसैमाथि जबरदस्त पनि गर्नुपरेन ।’ एन्फाको आपतकालीन बैठकको निर्णयअनुसार राष्ट्रिय लिग खेल्न सबै ‘ए’ डिभिजन क्लबलाई खुला गरिएको छ । 

त्यसको अर्थ पछिल्लो ‘ए’ डिभिजनमा शीर्ष ६ स्थानमा रहेका टिमले मात्र अब राष्ट्रिय लिग खेल्ने पाउने छैनन् । इच्छा भएका अरूसामु पनि विकल्प खुलेको छ । बैठकले एउटा अर्को ठूलो निर्णय पनि गरेको छ । यसको कार्यान्वयन पनि उसकै हातमा मात्र हुने छैन । त्यस अनुसार एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) को ‘इक्वेल पिच’ कार्यक्रमअन्तर्गत दशरथ रंगशालमा हाइब्रिड घाँसे मैदान राख्ने प्रस्ताव पनि गरिएको छ । 

यसका लागि राष्ट्रिय खेलकुद परिषद्‌देखि सरकारकै सहमति र सहयोग चाहिने छ । ‘सरकारबाट यसमा सहयोगकै अपेक्षा गरेका छौं र हामीले आवश्यक प्रक्रिया पनि पूरा गर्ने छौं,’ महासचिव राईले थपे । 

कार्यसमितिले महिला फुटबलसम्बन्धी पनि दुई प्रमुख निर्णय गरेको छ । त्यसमा अब महिला फुटबलको पनि फ्रेन्चाइज लिग गरिन निर्णय भएको छ । फागुनमा यू–१९ साफ महिला फुटबल पोखरामा आयोजना हुनेछ । राष्ट्रिय महिला नकआउट प्रतियोगिता उदयपुरमा गर्ने निर्णय भएको छ । एन्फाले मंसिर १९ देखि पुस ५ सम्म दशरथ रंगशालामा हुने साफ क्लब वुमेन्स च्याम्पियनसिपका लागि आवश्यक सबै तयारी अगाडि बढिरहेको पनि जनाएको छ । प्रतियोगितामा दक्षिण एसियाका पाँच लिग च्याम्पियन टिमको सहभागिता रहनेछ ।

कान्तिपुर

Link copied successfully