फिफा वरीयतामा ४२ औं स्थानमा रहेको चिनियाँ ताइपेईसँग नेपालले मंगलबार सामना गर्दै छ ।
What you should know
काठमाडौँ — अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालका लागि नयाँ प्रतिद्वन्द्वी हो, चिनियाँ ताइपेई । फिफा वरीयतामा पनि यो टिम धेरै माथि छ, ४२ औं स्थानमा ।
एसियाली देशमध्ये त यो झन् सातौं स्थानमा छ । अहिले इन्डोनेसिया भ्रमणमा रहेको नेपालले यही चिनियाँ ताइपेईको मंगलबार सामना गर्दै छ । यस्तोमा तय छ, नेपालसामु यो टिमले प्रस्तुत गर्ने चुनौती कडा हुनेछ ।
थ्री नेसन्स कपका रूपमा योग्यकार्तामा चलिरहेको प्रतियोगिताको पहिलो खेलमा इन्डोनेसियाले नेपाललाई २–१ ले हराएको थियो । त्यसपछि त्यही इन्डोनेसियालाई चिनियाँ ताइपेईले सजिलै ५–० ले हराएको थियो । तीन देशमध्ये नेपालसामु अझै शीर्ष स्थानमा रहेर उपाधि जित्ने अवसर हुनेछ । तर यसका लागि तय गर्नुपर्ने बाटो भने कठिन नै छ, चिनियाँ ताइपेईमाथि ठूलै अन्तरको जित ।
खेलको पूर्वसन्ध्यामा मिडियासँग कुराकानी गर्दै प्रशिक्षक नवीन न्यौपानेले मानिसकेका छन्, चिनियाँ ताइपेई बलियो प्रतिद्वन्द्वी रहनेछ । उनले भनेका छन्, ‘इन्डोनेसियाविरुद्ध हामीले धेरै अवसर बनाएका थियौं । तर उसले काउन्टर आक्रमणमा हामीलाई हरायो । हाम्रो समस्या निर्णायक आक्रमण बुन्नमै रहेको छ । हामी आक्रमण त गरिरहेका छौं, तर त्यसलाई निर्णायक बनाउन चुकिरहेका छौं ।’
त्यसमै सुधारले चिनियाँ ताइपेईको सामना गर्नुपर्ने न्यौपाने बताउँछन् । 'बलियो प्रतिद्वन्द्वीको सामना गर्दा हाम्रो योजना परिपक्व चाहिन्छ र यसैअनुसार खेल्नेछौं । सम्भवतः यो खेलमा हामीले विरलै मात्र आक्रमणको मौका पाउन सक्नेछौं । यस्तै अवसरलाई हामीले राम्रोसँग सदुपयोग गर्नुपर्ने नै हुनेछ । हामीले जितको मानसिकताले खेल्नेछौं । इन्डोनेसिया हामीभन्दा वरीयतामा तल थियो, तर त्यहीसँगै हार्यौं,’ प्रशिक्षक न्यौपानेले आफ्नो रणनीति सुनाए, 'अब हामीसामु वरीयतामा आफूभन्दा माथिको टिमलाई हराउने अवसर छ ।’
कप्तानीको जिम्मेवारीमा रहेका एन्जिला सुब्बाले पनि टिमको तयारी समग्रमा राम्रो रहेको बताइन् । ‘इन्डोनेसियाविरुद्धको पछिल्लो खेल त हामीले जित्ने सकेनौं, तर सबै खेलाडीले त्यसमा आ–आफ्नो जिम्मेवारी भने पूरा गरेका थिए । हामीले हरेस खाएका छैनौं,’ उनले थपिन्, ‘खालि गोल मात्र हुन नसकेको हो । नत्र टिमले प्रदर्शन राम्रो नै थियो । चिनिया ताइपेईविरुद्धको खेलका लागि हामी सबै पूर्णतः तयार छौं । हामीले मानसिक र शारीरिक दुवै तयारी गरेका छौं । हाम्रा उद्देश्य फेरि एकपल्ट राम्रो प्रदर्शन नै रहनेछ । राम्रो नतिजा नै लक्ष्य हुनेछ । हाम्रो तुलनामा चिनियाँ ताइपेईमाथिको टिम हो । यही टिमविरुद्ध हामीले एकजुट भएर खेल्नु पर्ने हुन्छ ।’
