ह्याट्रिक जितपछि काठमान्डु गोर्खाज प्लेअफ नजिक

आईएल टी–२० खेल्न दुबई जान लागेकाले नामिबियाका जेरहार्ड इरसमसको आइतबार गोर्खाजबाट अन्तिम खेल

मंसिर १५, २०८२

विनोद पाण्डे

Kathmandu Gorkhas closer to playoffs after hat-trick win

What you should know

काठमाडौँ — जेरहार्ड इरसमस र जोहन सिम्पसनको सानदार ब्याटिङमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै आफूलाई प्लेअफ नजिक पुर्‍याएको छ । 

काठमान्डुको यो लगातार तेस्रो जित हो । ६ खेलमा चौथो जित हात पारेपछि काठमान्डु दोस्रो स्थानमा उक्लिएको छ । समान ८ अंक भए पनि काठमान्डुले विराटनगरलाई नेट रन रेटमा उछिन्दै दोस्रो स्थानमा ओगटेको हो । कर्णालीले ५ खेलमा चौथो पराजय भोग्यो । 

इरसमस र सिम्पसनले ४५ बलमा ८६ रनको साझेदारी गरेपछि काठमान्डुले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १ सय ५० रनको लक्ष्य १२ बलअगाडि १ सय ५५ रन बनाएर पूरा गरेको थियो । काठमान्डुलाई जितका लागि १ रन आवश्यक हुँदा देव्रेहाते ब्याटर सिम्पसन बलर नन्दन यादवको बलमा आउट भएका थिए ।

नन्दनले त्यसपछि आएका रशिद खानलाई अर्को बलमा आउट गरे । दुई बलपछि भीम सार्कीले छक्का प्रहार गर्दै विजयी रन बटुले । सिम्पसनले २१ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेर ४१ रन बनाए । प्लेयर अफ द म्याच इरसमसले ३३ बलमा अविजित ४३ रन बनाए । यूएईको आईएल टी–२० खेल्न दुबई जान लागेका नामिबियाका कप्तान इरसमसले समान २ चौका र छक्का प्रहार गरे । 

इरसमसले आफ्नो खेलभन्दा पनि टिमको जित महत्त्वपूर्ण भएको बताए । ‘यो मेरो अन्तिम खेल पनि थियो, राम्रो प्रदर्शनका लागि म अलिकति संघर्ष पनि गरिरहेको थिएँ, सधैं राम्रो खेल्न सकिन्छ भन्ने होइन,’ इरसमसले भने, ‘समयमै राम्रो प्रदर्शन दिन सके, त्यसमा खुसी छु । १–२ वटा राम्रो साझेदारी गर्न सक्ने हो भने विकेट राम्रो भएका कारण पछि बाउन्ड्री आउन सजिलो हुन्छ भनेर मैले र सिम्पसनले ब्याटिङ गरिरहेका थियौं ।’

सुरुको १२–१३ बल खेल्दा गाह्रोँ भए पनि सिम्पसन जस्तो अनुभवी खेलाडीसँग खेल्दा सजिलो भएको इरसमसले सुनाए । इरसमसले सिम्पसन देव्रेहाते ब्याटर भएकाले पनि फाइदा मिलेको बताए । गत वर्ष गोर्खाजमा कुनै देव्रेहाते ब्याटर नभएको तथा यस पटक धेरै देव्रेहाते ब्याटर भएकाले पनि आफ्नो टोलीले राम्रो खेलिरहेको उनको अनुभव थियो । 

सिम्पसनले लगातार तीन जितपछि मनोबल बढेका जनाउँदै भरिभराउ दर्शकमाझ फाइनल खेल्ने इच्छा भएको सुनाए । यस विजयपछि गोर्खाज राम्रो स्थितिमा पुगेको र अन्तिम खेल जितेर शीर्ष दुई स्थानमा रहँदै क्वालिफायरमा स्थान बनाउन प्रयास रहने उनको दाबी थियो । 

आकाश त्रिपाठी ११ बलमा ८ रनमै आउट भए पनि काठमान्डुले पावर प्लेको पहिलो ६ ओभरमा ४६ रन जोडेको थियो । त्यसमा बेन चार्ल्सवर्थले कर्णालीका कप्तान सोमपाल कामीको एकै ओभरमा ३ छक्कासहित २० रन प्रहार गरे । चार्ल्सवर्थले २१ बल खेल्दै २ चौका र ३ छक्कासहित ३४ रन बनाए ।

मिलिन्द कुमार १५ रनमा रनआउट भएपछि गम्भीर संकटमा परेको समयमा इरसमस र सिम्पसनले खुलेर खेलेका थिए । कर्णालीका नन्दनले ४ ओभरमा ३५ रन खर्चेर ३ र पवन सर्राफले १ विकेट लिए । यसअघि गुलशन झाको आक्रामक इनिङ्सपछि टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धाििरत २० ओभरमा ७ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । 

कर्णालीले निकै दयनीय सुरुआत गरेको थियो । कप्तान करण केसीले खेलको पहिलो बलमै प्रियांक पाञ्चाललाई कट एन्ड बोल्ड गरेका थिए । सोही ओभरको अन्तिम बलमा विलियम बोसिस्टो १ रनमा रनआउट भए । मार्क वाट र पवनले तेस्रो विकेटमा ५९ रनको साझेदारी गरी कर्णालीको स्थिति सुधारेका थिए । वाट पनि ३० रनमा रनआउट भए । उनले २७ बलमा १ चौका र २ छक्का प्रहार गरे । पवनलाई ३५ रनमा सन्तोष यादवले एलबीडब्लू आउट गरे । पवनले २९ बलमा समान २ चौका र छक्का प्रहार गरे ।

नाजिबुल्लाह जाद्रानले १४ बलमा १२ रनमात्र बनाउन सके । सोमपाल पनि ६ रनमै आउट भए । गुलशनले दीपक डुम्रेसँग २८ बलमा ५५ रनको महत्त्वपूर्ण साझेदारी गरे । दीपकले १२ बलमा १० रन बनाए । गुलशन ४९ रनमा अविजित रहे । उनले २२ बल खेल्दा ६ चौका र ३ छक्का प्रहार गरे । 

काठमान्डुबाट रशिद खानले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण, मिलिन्द र सन्तोषले १–१ विकेट लिए । करणले ४ ओभरमा २६, मिलिन्दले ४ ओभरमा २४ र सन्तोषले ३ ओभरमा २२ रन खर्चे । राम्रो क्रिकेट खेले पनि हरेक ओभरमा सानो सानो गल्ती गर्दा नतिजा आफ्नो पक्षमा आउन नसकेको गुलशनले सुनाए ।

‘विकेटमा एकदमै राम्रो खेलिरहेका थियौं, तर हामीले २० रन जति कम बनायौं, सुरुमै २ विकेट जाँदा निश्चय पनि गाह्रो भइहाल्छ । हामीले त्यो स्थितिबाट पनि टिमलाई तानेका थियौं,’ उनले भने, ‘बल सिधा–सिधा आइरहेको थियो र उनीहरूलाई रन बनाउन सजिलो भएको थियो ।’ काठमान्डुले बिहीबार पोखरा एभेन्जर्ससँग लिगको अन्तिम खेल खेल्नेछ । अहिले पनि प्लेअफ दौडमा रहेको कर्णालीले मंगलबार पोखरा र शनिबार चितवनसँग अन्तिम दुई खेल्नेछ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully