अपराजित सुदूरपश्चिम प्लेअफमा

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई पराजित गरेपछि सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।

मंसिर १४, २०८२

विनोद पाण्डे

Undefeated Sudurpaschim in the playoffs

What you should know

काठमाडौँ — सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिमले शनिबार दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्‍यो । 

इशान पाण्डे र विनोद भण्डारीले संयमित इनिङ्स खेलेपछि सुदूरपश्चिमले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १ सय ४६ रनको लक्ष्य १४ बलअघि नै पुरा गरेको हो । 

सुदूरपश्चिम गत वर्ष जनकपुरसँगै फाइनलमा पराजित भएको थियो । तर, यसपालि उपाधिमाथि बलियो दाबेदारी प्रस्तुत गरेको सुदूरपश्चिम पहिलो पाँच खेल जितेर प्लेअफमा स्थान पक्का गर्दै क्वालिफायर १ नजिक पुगेको हो । त्यस विपरीत पहिलो चारै खेल हारेपछि जनकपुर बाहिरिने लगभग निश्चित जस्तै भएको छ ।

इशानले ३५ बल खेल्दै ५६ र विनोदले ४९ बल खेल्दै ४२ रन बनाए । इशानले ८ चौका र १ छक्का तथा विनोदले ३ चौका र १ छक्का प्रहार गरे । ओपनर जस ब्राउन खेलको पहिलो बल र क्रिस लिन १ रनमै आउट भएको अवस्थामा इशान र विनोदले ७५ बलमा ९१ रनको साझेदारी भूमिका निभाए । कप्तान दीपेन्द्रसिंह ऐरीले ७ बलमा १० र हरमित सिंहले १० बलमा अविजित २५ रन बनाएर सुदूरपश्चिमलाई जिताए । हरमितले १ चौका र ३ छक्का प्रहार गरे । जनकपुरका माज सदाकतले २, सञ्जय कृष्णमूर्ति र आदित्य महताले १–१ विकेट लिए । 

यसअघि अमेरिकी ब्याटर कृष्णमूर्तिको अर्धशतकप्रेरित जनकपुरले निर्धारित २० ओभर खेल्दै ८ विकेटमा १ सय ४५ रन बनाएको थियो । अन्तिम ८ ओभरमा ७८ रन जोड्दै जनकपुर यो स्कोरमा उभिन सफल भएको थियो । १२ ओभरभित्र ६७–४ को स्थितिमा रहेको जनकपुरको इनिङ्स तानेका कृष्णमूर्तिले ३८ बलमा ५० रन बनाए । उनले ४ चौका र २ छक्का प्रहार गरे । कृष्णमूर्तिले दीपेन्द्रले फालेको १५ औं ओभरमा २ छक्का र १ चौकासहित २० रन प्रहार गरे । उनले आदित्य महतासँग मिलेर पाँचौं विकेटमा ५५ रन जोडे । आदित्यले १३ बलमा २ चौकासहित १५ रन बनाएका थिए । 

अविनाश बोहराले १८ औं ओभरमा कृष्णमूर्ति र शुभ कंशाकारलाई लगातार बलमा आउट गरेर सुदूरपश्चिमलाई खेलमा फर्काएका थिए । अविनाशले उक्त ओभरमा २ रनमात्र दिए । दक्षिण अफ्रिकी अलराउन्डर वायन पार्नेल १२ बल खेल्दै १४ रनमा आउट भए । रुपेश सिंह १ रनमा अविजित रहे । अविनाशले सुदूरपश्चिमबाट ४ विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चे । अर्का तीव्र गतिका बलर स्कट कुग्लेइनले ४ ओभरमा २२ रन खर्चेर ३ र दीपेन्द्रले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । 

जनकपुरको सुरुआत राम्रो थिएन । कुग्लेइनले खेलको पहिलो ओभरमै आसिफ शेखलाई बोल्ड गरे । उनले नै मयन यादवलाई ६ रनमा एलबीडब्लू आउट गरे । ओपनर माज सदाकत ९ बलमा २ चौकासहित १२ रनमा दीपेन्द्रबाट बोल्ड भए । यान निकोल लफ्टी इटनले ३३ बलमा ३९ रन बनाए । उनले समान २ चौका र छक्का प्रहार गरे । 

एनपीएलमा पहिलो विदेशी कप्तान

दक्षिण अफ्रिकाका पूर्व अलराउन्डर वायन पार्नेल एनपीएलमा कप्तानी गर्ने पहिलो विदेशी खेलाडी बनेका छन् । अघिल्लो खेलमा मात्र उनी जनकपुर टालीमा समावेश भएका थिए । पोखरासँगको खेलमा अविजित अर्धशतक बनाएका थिए । एक समय दक्षिण अफ्रिकाको तीव्र बलिङको मुख्य आशा रहेका उनले सुदूरपश्चिमसँग भने बलिङ गरेनन् ।

जनकपुर पहिलो ३ खेलमा पराजित भएको थियो भने नियमित कप्तान अनिल साहको कमजोर फर्म रहेका कारण जनकपुरले पार्नेललाई कप्तानी दिने ‘बोल्ड’ निर्णय गरेको थियो । तर, पार्नेल आएर पनि जनकपुरको हारक्रम रोकिएन । टोली प्लेअफ दौडबाट बाहिरिने लगभग निश्चित जस्तै भएको छ । 

अनिल जनकपुरको प्लेयिङ टोलीमा पनि छैनन् । उनको स्थानमा आदित्यले खेलेका थिए । गत वर्ष जनकपुरले सुदूरपश्चिमलाई नै पराजित गरी उपाधि जितेको थियो । यस सिजनमा जनकपुरको प्रदर्शन निकै कमजोर रह्यो । टोलीले अघिल्लो खेलबाट गत सिजनका हिरो लाहिरू मिलान्थालाई प्लेयिङ टोलीबाट बाहिर राखेको थियो । आसिफ शेख जनकपुरका विकेटकिपर/ब्याटर मार्की खेलाडी हुन् । तर, उनलाई जनकपुरले यसपटक नेतृत्वदायी भूमिका दिएको छैन । गत सिजन अनिल अधिकांश समय घाइते हुँदा आसिफकै कप्तानीमा जनकपुरले उपाधि उचालेको थियो । 

लुम्बिनीको आशा कायमै

काठमाडौं– सन्दीप जोराले अन्तिम ओभरमा १० रन प्रहार गरेपछि लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि ३ विकेटको रोमाञ्चक जित हात पार्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।

१ सय ५१ रनको लक्ष्य पाएको लुम्बिनीलाई विजयनिम्ति अन्तिम ओभरमा १० रन चाहिन्थ्यो । पहिलो बलमा २ रन जोडेका जोराले त्यसपछि दोस्रो र चौथो बलमा चौका प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक विजय दिलाए । पहिलो १३ बलमा ६ रनमात्र बनाउन सकेका जोराले २२ बलमा २ चौका र १ छक्कासहित अविजित २५ रन बटुलेपछि लुम्बिनीले २ बल अगाडि लक्ष्य पूरा गर्‍यो । ५ खेलमा लुम्बिनीको यो दोस्रो जित हो । पहिलो खेल जितेको लुम्बिनी त्यसपछि लगातार ३ खेल हार्दा अत्यधिक दबाबमा परेको थियो । पोखराको ४ खेलमा यो तेस्रो हार हो । 

Undefeated Sudurpaschim in the playoffs

लुम्बिनीको सुरुआत राम्रो थिएन । ओपनरद्वय सुमित महर्जन शून्य र डी’आरसी शर्ट ७ रनमै आउट भए । श्रीलंकाबाट खेलिसकेका निरोशन डिकवेलाको आगमनले लुम्बिनीको मध्यक्रम हौसिएको थियो । उनले २२ बल खेल्दै २–२ चौका र छक्कासहित ३७ रन बनाए । दिलीप नाथ १० रनमै आउट भए ।

कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए । प्लेयर अफ द म्याच उनले ३६ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । गुलबदिन नैब ११ बलमा २ छक्कासहित १७ र रुबेन ट्रम्पलमन एक छक्कासहित ६ बलमा ९ रन बनाएर आउट भए । पोखराका विपिन खत्रीले ४ ओभरमा १८, म्याट टेलरले ३.४ ओभरमा र सागर ढकालले ३ ओभरमा समान २४ रन खर्चेर २–२ तथा जिम्मी निसमले १ विकेट लिएका थिए ।

यसअघि एडम रोसिङ्टन र निसमको सानदार ब्याटिङमा पोखराले निर्धारित २० ओभर खेल्दै ५ विकेट गुमाई १ सय ५० रन बनाएको थियो । ८ ओभरमा ३३ रन बनाउँदा ४ विकेट गुमाइसकेको अवस्थामा रोसिङ्टन र निसमले पाँचौं विकेटमा ६२ बलमा ९२ रनको साझेदारी गरे । सोही कारण पोखराले अन्तिम ५ ओभरमा ७६ रन जोडेको थियो । 

रोसिङ्टनले ६३ बल खेल्दा ७ चौका र ५ छक्कासहित ८१ रन बनाए । तिलकराज भण्डारीले उनलाई १९ औं ओभरमा आउट गरेका थिए । निसम ५१ रन बनाई अविजित रहे । उनले ३२ बल खेल्दै ३–३ चौका र छक्का प्रहार गरे । किरण ठगुन्ना १ रनमा अविजित रहे । ओपनर दिनेश खरेल ७ रन बनाई आउट भए । कप्तान कुशल भुर्तेल लगातार दोस्रो बलमा डकआउट भए । सुमित बर्मा पनि ५ बल खेलेर शून्यमै आउट भए । तृतराज दासले १ रनमात्रै जोड्न सके । लुम्बिनीबाट शेर मल्लले ४ ओभरमा २३ र तिलकले ४ ओभरमा २५ रन खर्चेर २–२ तथा नैबले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । 

लुम्बिनीका गुलबदिन नैब र पोखराका निसमको एनपीएलमा शनिबार अन्तिम खेल रहेको थियो । उनीहरू यूएईको आईएल टी–२० खेल्न दुबई जाने तालिका छ । नैब र निसम दुवै ‘क्याप’ खेलाडीको कोटामा एनपीएलमा खेलिरहेका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully