कोहलीले आक्रामक हुँदै १ सय २० बलमा १ सय ३५ रन बनाए । उनले ११ चौका र सात छक्का पनि प्रहार गरे ।
काठमाडौँ — विराट कोहलीको सानदार शतकको मद्दतले भारतले पहिलो वान डेमा आइतबार दक्षिण अफ्रिकालाई १७ रनले पराजित गरेको छ ।
राँचीमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर ३ सय ४९ रनको ठूलो स्कोर खडा गरेको थियो ।
जवाफमा दक्षिण अफ्रिकाले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३ सय ३२ रन मात्र बनाउन सक्यो । पाहुना टिमका लागि म्याथ्यु ब्रिट्जकेले सर्वाधिक ७२ रन बनाए । यस्तै, मार्को जेन्सनले ७० रनको योगदान गरे । अन्त्यतिर कोरबिन बोसले ६७ रन थपे ।
भारतीय बलरमध्ये कुलदीप यादवले ६८ रनमा चार विकेट लिए । यससँगै भारतले तीन वान डेको सिरिजमा १–० को अग्रता पनि लिएको छ । कोहलीले आक्रामक हुँदै १ सय २० बलमा १ सय ३५ रन बनाए । उनले ११ चौका र सात छक्का पनि प्रहार गरे ।
उनले दोस्रो विकेटका लागि रोहित शर्मासँग १ सय ३६ रनको साझेदारी पनि गरे । शर्माले ५७ रन जोडे । मार्को जेनसनको बलमा चौका प्रहार गर्दै ३७ वर्षीय कोहलीले आफ्नो ५२ औं वान डे शतक पूरा गरे । उनी वान डे क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी हुन् ।
भारतका लागि केएल राहुलले पनि ६० रनको उपयोगी इनिङ्स खेले । कोहलीका पछाडि ४९ शतकमा भारतकै पूर्व खेलाडी सचिन तेन्दुलकर रहेका छन् । कोहलीसँगै शर्मा दुवैले टेस्ट र ट्वान्टी–२० क्रिकेटबाट संन्यास लिइसकेका छन् । उनीहरू वान डे विश्वकप खेल्ने उद्देश्यमा छन् ।
