पोखरामा सोमबारदेखि आईटीएफ जे-३० टेनिस टुर 

मंसिर २७ सम्म चल्ने पोखरा रंगशालास्थित टेनिस कोर्टमा चल्ने प्रतियोगितामा १६ देशका ८० खेलाडी सहभागी हुनेछन् । 

मंसिर १४, २०८२

अनुप पौडेल

ITF J-30 Tennis Tour to begin in Pokhara from Monday

What you should know

कास्की — कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा सोमबारदेखि आठौं संस्करणको आईटीएफ वर्ल्ड टेनिस टुर जे–३० सर्किट १ र २ सुरू हुँदैछ । मंसिर २७ सम्म चल्ने पोखरा रंगशालास्थित टेनिस कोर्टमा चल्ने प्रतियोगितामा १६ देशका ८० खेलाडी सहभागी हुनेछन् । 

ब्वाइजतर्फ ५५ पुरुष र गल्सतर्फ २५ खेलाडी प्रतियोगितामा सहभागी हुने संघ अध्यक्ष राजकुमार गुरुङले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए । उनका अनुसार नेपाल, भारत, चीन, अमेरिका, न्युजिल्यान्ड, ताइवान, अस्ट्रेलिया, कोरिया, बेलायत, बंगलादेश, क्यानडा, सिंगापुर, हङकङ, मलेसिया, श्रीलंका, इजरायलका खेलाडी प्रतियोगिता खेल्न पोखरा आएका छन् । खेलाडी, प्रशिक्षक र खेलाडीको परिवारका सदस्य गरेर करिब २ सय जना यही प्रतियोगिताका लागि पोखरा आएको उनले सुनाए । 

प्रतियोगितामा ब्वाइज तथा गर्ल्स सिंगल्स तथा डबल्समा १३ देखि १८ वर्षभित्रका खेलाडीले वर्ल्ड र्‍यांकिङका आधारमा मेन ड्रमा प्रवेश पाउनेछन् । बाँकीले छनोट चरणका खेल खेल्नुपर्नेछ । मेन ड्रको खेल ३२ जनाको हुनेछ ।

पुरुष र महिलातर्फ सिंगल्स/डबल्स गरेर ४ इभेन्टमा प्रतियोगिता सञ्चालन हुने संघका सचिव भीष्मराज पौडेलले बताए । विजेताले ३० अंक, उपविजेताले १८ अंक, सेमिफाइनलिस्टले ९ अंक, क्वाटर फाइनलिस्टले ५ र राउन्ड–१६ ले २ अंक प्राप्त गर्नेछन् । डबल्सतर्फको विजेताले २५, उपविजेताले १३, सेमिफाइनलिष्टले ६ र क्वाटर–फाइनलिस्टले ३ अंक प्राप्त गर्नेछन् । साथै विजेता र उपविजेताले प्रमाणपत्रसहित मेडल प्राप्त गर्नेछन् । यो प्रतियोगिताको नतिजाले अन्तर्राष्ट्रिय र्‍याङकिङमा पनि अर्थ राख्छ । 

प्रतियोगिताले पोखरामा खर्चिला विदेशी पर्यटक भित्र्याउन र पोखराको टेनिस कोर्टको अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारमा सहयोग पुग्ने आयोजकको विश्वास छ । जेन–जी आन्दोलनका कारण विदेशी खेलाडी गत वर्षभन्दा कम भएको प्रतियोगिता निर्देशक अजय विष्टले सुनाए । 

यसबाहेक पोखरा आउने महँगो जहाज भाडाका कारण विदेशी पर्यटकको संख्या कम हुने गरेको उनको भनाइ छ । ‘काठमाडौंबाट पोखरा आउन जहाजमा विदेशीलाई १ सय २५ डलर लाग्छ । त्यसैले पनि काठमाडौंभन्दा पोखरामा कम खेलाडी आउँछन् । यस्तो कुरामा राज्यले ध्यान दिनुपर्छ,’ उनले भने । नेपाल टेनिस संघले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न थालेपछि खेलाडी, प्रशिक्षक र अभिभावकको क्षमता र बुझाइमा सकारात्मक प्रभाव परेको उनले जिकिर गरे । 

आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गरेर खेल कौशल बढाउन नेपाली खेलाडीलाई यस प्रतियोगिता सुनौलो अवसर हुने आयोजकको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्न सुर्की, बल, नेट, अफिसियललगायत गरेर १७ लाख ८७ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

अनुप

Link copied successfully