चम्किए देब्रेहाते ब्याटर

विराटनगर किंग्स र काठमाडौँ गोर्खाजले शुक्रबार एनपीएलमा जित निकाल्ने क्रममा देब्रेहाते ब्याटरहरू निर्णायक बने।

मंसिर १३, २०८२

विनोद पाण्डे

The left-handed batter shined.

What you should know

काठमाडौँ — देब्रेहाते ब्याटरहरू चम्किँदा विराटनगर किंग्स र काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार विजय नतिजा निकालेका छन् । यसले यी दुई टोलीको प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

बसिर अहमदको सानदार ब्याटिङमा विराटनगरले कर्णाली याक्समाथि ३ विकेटको सनसनी विजय हात पार्यो । जोहन सिम्पसनको आक्रामक अर्धशतकमा काठमान्डुले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो । 

विराटनगर ५ खेलमा चौथो विजय हात पार्दै प्लेअफ नजिक पुगेको हो । विराटनगर दोस्रो स्थानमा छ । सुदूरपश्चिम रोयल्स पहिलो ४ खेल जितेर शीर्षस्थानमा छ । काठमान्डुले ५ खेलमा तेस्रो विजय हात पार्दै तेस्रो स्थानमा छ । कर्णालीको भने ४ खेलमा यो तेस्रो हार हो । चितवनले ४ खेलमा दोस्रो हार भोगेको छ ।

बसिरले अविजित ६२ रन बनाएपछि विराटनगरले १ सय ६१ रनको लक्ष्य कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लडलाइटमा १ बल अगाडि पूरा गर्‍यो । अन्तिम ओभरमा १० र २ बलमा ४ रन चाहिँदा बसिरले विजय छक्का प्रहार गरेपछि विराटनगरले १ सय ६३ रन बनायो । 

विजय लक्ष्य पछ्याउनेक्रममा अन्तिम ओभरमा नतिजा आएको यो केवल दोस्रो खेल हो । यसअघि चितवनले कर्णालीविरुद्ध नै १ सय ६७ रनको लक्ष्य पछ्याउँदा ५ बलअघि १ सय ७१ रन बनाएको थियो । 

प्लेयर अफ द म्याच बसिरले ४३ बलमा समान ३ चौका र छक्का प्रहार गरे । कप्तान सन्दीप लामिछाने ४ बलमा ६ रन बनाई अविजित रहे । पावर–प्लेको पहिलो ६ ओभरमा ३५ रन बनाउँदा ३ विकेट गुमाइसकेको अवस्थामा विराटनगरले खेल पल्टाएको हो । 

जर्ज मन्सी शून्य, लोकेश बम ६, साम हेजलेट १६ रनमै आउट हुँदा बसिरले पहिला साहिल पटेलसँग चौथो विकेटमा ४४ रनको साझेदारी गरे । पहिलो पटक मौका पाएका साहिलले २४ बल खेल्दै १ छक्कसहित १९ रन बनाए । 

मर्च्येन्ट डी ल्याङ्गे २ रनमै आउट भए पनि बसिरले नारायण जोशीसँग छैटौं विकेटमा ६९ रनको साझेदारी निभाए । सोमपाल कामीको बलमा आउट भए पनि नो–बलका कारण जोगिएका नारायणले १६ बलमा २ चौका र १ छक्कासहित २५ रन बनाए । प्रतिश जीसी ६ रनमा आउट भए । कर्णालीका सोमपाल र गुलशन झाले २–२ तथा पवन सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोले १–१ विकेट लिए । 

श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेहन जयसूर्यालाई विराटनगरले पहिलो पटक खेलाएको थियो । अमेरिकी अलराउन्डर शुभम रन्जनेले यूएईको आईएल टी–२० का लागि दुबई लागेपछि ल्याइएका जयसूर्या फिल्डिङका क्रममा घाइते भएपछि ब्याटिङमा आउन नसक्ने अवस्थामा विराटनगरले खेल पल्टाएको थियो । 

कर्णालीको रणनीति पनि कमजोर देखिएको थियो । प्रमुख दुई युवा स्पिनर विपिन शर्मा र युवराज खत्रीलाई टोलीले एकै ओभर पनि बलिङ गर्न दिएन । विराटनगरको तल्लोक्रमका ब्याटिङ आउँदा पनि विपिन र युवराज फिल्डरको रूपमा मात्र मैदान रहे । अफ स्पिनरको भूमिकामा रहेका बोसिस्टोले ३ ओभरमा १२ रनमात्र दिएर १ विकेट लिएका थिए । तर देव्रेहाते बसिर ब्याटिङमा रहँदा कर्णालीले बोसिस्टोलाई बाँकी रहेको १ ओभरमा लगाएन । अर्जुन घर्तीमगरको स्थानमा खेलेका दीपक डुम्रेको विकेटकिपिङ पनि कमजोर रह्यो ।

यसअघि प्रियान्क पाञ्चल र बोसिस्टोको प्रयासमा टस जितेर ब्याटिङमा आएको कर्णालीले २० ओभरमा ३ विकेट गुमाई १ सय ६० रन बनाएको थियो । ओपनर मार्क वाट ९ बलमा ६ रनमै आउट भएपछि पाञ्चल र बोसिस्टोको जोडीले ८२ बलमा ९६ रनको साझेदारी गरे । पाञ्चलले ४७ बलमा ६३ रन बनाए । प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक बनाउने क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे ।

बोसिस्टो ४८ रनमा अविजित रहे । ४८ बल नै खेलेका उनले २ चौका प्रहार गरे । नाजिबुल्लाह जाद्रान ६ बलमा १ छक्कासहित १२ रनमा अविजित रहे । गुलशन १० बल खेल्दै २ चौका र १ छक्कासहित २० रन बनाएर आउट भए । सन्दीप र डी ल्याङ्गेले १–१ विकेट लिए । 

‘बागमती डर्बी’ मा काठमान्डुको कब्जा

इंग्लिस ब्याटर जोहन सिम्पसनले अर्धशतक बनाए पनि मध्यक्रम नाटकीय रूपमा पतन भएपछि ठूलो स्कोर बनाउनबाट रोकिएको थियो । टस हारेपछि ब्याटिङमा आएको काठमान्डु १९.४ ओभरमै १ सय ४२ रनमा अलआउट भयो । काठमान्डुले अन्तिम ७ विकेट २३ बलको अन्तरमा २० रनका लागि गुमाएको थियो । 

पावर–प्लेको पहिलो ५ ओभरभित्र २४ रन बनाउँदा ३ विकेट गुमाइसकेको अवस्थामा सिम्पसनले मिलिन्द कुमारसँग चौथो विकेटमा ७१ बलमा ९८ रनको साझेदारी गरे । सिम्पसनले ६० रन बनाए । जारी प्रतियोगितामा काठमान्डुका खेलाडीको यो पहिलो अर्धशतक हो । उनले २९ बल खेल्दै समान ३ चौका र छक्का प्रहार गरे । मिलिन्दले ४३ बलमा ५ चौसहित ३८ रन बनाए । दुवै लगातार बलमा आउट भए । मिलिन्दलाई १६ औं ओभरको अन्तिम बलमा रवि बोपाराले बोल्ड गरे भने १७ औं ओभरको पहिलो बलमा कमलसिंह ऐरीले सिम्पसनलाई आउट गरे ।

त्यसपछि भने काठमान्डुका खेलाडी पालैपालो आउट भए । १७ औं ओभरमा सोहेल तनवीरले ३ विकेट लिए । उनले कुल ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । रञ्जित कुमारले ४ ओभरमा २८ र कमलले २.४ ओभरमा १९ रन खर्चेर २–२ विकट लिए । 

यसअघि आकाश त्रिपाठी ४ रनमै रनआउट भए । तेस्रो नम्बरमा पठाइएका रशिद खान एक छक्का प्रहार गरी ६ रन बनाई आउट भए । बेन चाल्सवर्थले १४ बलमा १३ रन बनाए । सिम्पसन आउट भएपछि आएका जेहरार्ड इरसमस वाइड बलमा स्टम्पआउट भए । आदिल आलम अन्सारीले ५ बलमा ८ रन बनाए । सन्तोष यादवले पनि खाता खोल्न सकेनन् भने कप्तान करण केसी १ र दिपेश कँडेल ६ रनमा आउट भए । शाहब आलम २ रनमा अविजित रहे ।

उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि काठमान्डुले ‘बागमती डर्बी’ मा एकपक्षीय हिसाबमा धावा बोलेको थियो । चितवन १७.२ ओभरमा ८९ रनमा अलआउट भयो । रशिदले पुछारको ३ विकेट लिए । उनले १.२ ओभरमा ३ रनमात्र खर्चेर पछिल्लो ४ मध्ये ३ विकेट लिए । करणसहित मिलिन्द र शाहबले २–२ विकेट लिए । करणले ४ ओभरमा २३, मिलिन्दले ४ ओभरमा १८ र शाहबले ४ ओभरमा २६ रन खर्चे । सन्तोषको नाममा १ विकेट रह्यो । 

चितवनबाट देव खनाल र बोपाराले समान २१ रन बनाए । देवले १८ बलमा २ चौका र १ छक्का तथा बोपाराले २३ बलमा १–१ चौका र छक्का प्रहार गरे । सोहेल तनवीर १८ रनमा आउट भए । करणले पहिलो ओभरमै दीपक बोहरालाई शून्यमा आउट गरे । अर्का ओपनर डेबिड मलान ७ रनमै आउट भए । सैफ जैब १, कप्तान कुशल मल्ल ६ र अर्जुन साउद २ रनमा आउट भए । कमलले २ रन जोडे । 

काठमान्डुका प्रशिक्षक वसन्त शाहीले प्लेअफका लागि सबै टोलीको ढोका खुला भएको बताए । बाँकी रहेको आफ्नो दुई खेल जितेर शीर्ष २ मा पर्ने काठमान्डुको लक्ष्य रहेको उनले सुनाए । काठमान्डुले कर्णाली र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ । 

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully