१ सय ५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले जोराको अविजित २५ रनको योगदानमा दुई बल बाँकी छँदै पोखरालाई हराउँदै दोस्रो जित दर्ता गर्यो।
What you should know
काठमाडौँ — सन्दीप जोराले अन्तिम ओभरमा १० रन प्रहार गरेपछि लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि ३ विकेटको विजय हात पार्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।
१ सय ५१ रनको लक्ष्य लिएर आएको लुम्बिनीलाई अन्तिम ओभरमा १० रन चाहिन्थ्यो । पहिलो बलमा २ रन जोडेका जोराले त्यसपछि दोस्रो र चौथो बलमा चौका प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक विजय दिलाएका हुन् ।
पहिलो १३ बलमा ६ रनमात्र बनाउन सकेका जोराले २२ बलमा २ चौका र १ छक्कासहित अविजित २५ रन बनाएपछि लुम्बिनीले २ बल अगाडि लक्ष्य पुरा गर्यो । ५ खेलमा लुम्बिनीको यो दोस्रो विजय हो । पहिलो खेल जितेको लुम्बिनी त्यसपछि लगातार ३ खेल हार्दा अत्यधिक दबाबमा परेको थियो । पोखराको ४ खेलमा यो तेस्रो हार हो ।
लुम्बिनीको सुरुआत राम्रो थिएन । ओपनरद्वय सुमित महर्जन शून्य र डी’आरसी शट ७ रनमै आउट भए । श्रीलंकाबाट खेलिसकेका निरोशान डिकवेलाको आमनले लुम्बिनीको मध्यक्रम हौसिएको थियो । उनले २२ बल खेली समान २ चौका र छक्कासाथ ३७ रन बनाए । दिलीप नाथ १० रनमै आउट भए ।
कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए । उनले ३६ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । गुलबदिन नैब ११ बल खेली २ छक्कासहित १७ र रुबेन ट्रम्पलमन एक छक्का प्रहार गरी ६ बलमा ९ रनमा आउट भए । पोखराका विपिन खत्रीले ४ ओभरमा १८, म्याट टेलरले ३.४ ओभरमा र सागर ढकालले ३ ओभरमा २४ रन खर्चेर २–२ तथा जिम्मी निसमले १ विकेट लिए ।
यसअघि एडम रोसिङटन र निसमको सानदार ब्याटिङमा पोखराले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली ५ विकेट गुमाई १ सय ५० रन बनाएको थियो ।
८ ओभरमा ३३ रन बनाउँदा ४ विकेट गुमाइसकेको अवस्थामा रोसिङटन र निसमले पाँचौँ विकेटमा ६२ बलमा ९२ रनको साझेदारी गरे । सोहि कारण पोखराले अन्तिम ५ ओभरमा ७६ रन जोडेको थियो ।
रोसिङटनले ६३ बल खेली ७ चौका र ५ छक्का प्रहार गरी ८१ रन बनाए । तिलकराज भण्डारीले उनलाई १९ औँ ओभरमा आउट गरे । निसम ५१ रन बनाई अविजित रहे । उनले ३२ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । किरण ठगुन्ना २ बल खेली १ रनमा अविजित रहे ।
ओपनर दिनेश खरेल ७ रन बनाई आउट भएका थिए । कप्तान कुशल भुर्तेल लगातार दोस्रो बलमा डक आउट भए । सुमित बर्मा पनि ५ बल खेली शून्यमै आउट भए । तृतराज दासले १ रनमात्रै जोड्न सके । लुम्बिनीबाट शेरले ४ ओभरमा २३ र तिलकले ४ ओभरमा २५ रन खर्चेर २–२ तथा नैबले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।
लुम्बिनीका गुलबदिन नैब र पोखराका निसमको आज प्रतियोगितामा अन्तिम खेल रहेको थियो । उनीहरू यूएईको आईएल टी २० खेल्न दुबई जाने तालिका रहेको छ । नैब र निसम दुवै ‘क्याप’ खेलाडीको कोटामा एनपीएलमा खेलिरहेका थिए ।
