घिसिङको कार्यकालमा नेपाली खेलकुदले ऐतिहासिक सफलताहरू प्राप्त गरेको छ । कराते, कबड्डी, खो खो, उसु, तेक्वान्दो, क्रिकेट, भलिबलजस्ता खेलले ऐतिहासिक उपलब्धि दिलाएको छ ।
What you should know
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार चारवर्षे कार्यकाल पूरा गरी बिदाइ लिएका छन् । २०७८ साल मंसिर १३ गते खेलकुदको ‘हट सिट’को रूपमा रहेको सदस्य–सचिव पदमा नियुक्त घिसिङ पूर्ण कार्यकाल पूरा गरी परिषद्बाट बिदाइ भएका हुन् ।
उनीसँगै राखेपका बोर्ड सदस्य अञ्जन धमला, बिना श्रेष्ठ, दीपेन्द्र विष्ट, जनक बर्तौला, मोहम्मद फाजिल र प्रकाशकुमार कुसारीलाई पनि बिदाइ गरिएको थियो । शुक्रबार बिदाइका क्रममा सदस्यसचिवले मिसन–२०२६ मा रहेका राष्ट्रिय टिम तयारीमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स वितरण गरेका थिए ।
राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले सदस्यसचिव घिसिङको कार्यकाललाई ‘स्वर्णिमकाल’ को रूपमा अर्थ्याए । उनले भने, ‘इतिहास भनेर होइन, गरेर लेखिने कुरा हो । उहाँको नेतृत्वमा खेलकुदमा जुन उपलब्धिहरू हासिल भएका छन्, त्यो ऐतिहासिक र गौरवपूर्ण छ । नेपाली खेलकुदका लागि उहाँको कार्यकाल स्वर्णिमकाल हो ।’
विष्टले भनेजस्तै घिसिङको कार्यकालमा नेपाली खेलकुदले ऐतिहासिक सफलताहरू प्राप्त गरेको छ । कराते, कबड्डी, खो खो, उसु, तेक्वान्दो, क्रिकेट, भलिबलजस्ता खेलले ऐतिहासिक उपलब्धि दिलाएको छ । ओलम्पिक संरचनामै नेपालले पहिलो पदक जित्यो । पारा तेक्वान्दोकी पलेशा गोबर्धनले पेरिस पारालिम्पिक २०२४ मा कांस्य जितेकी थिइन् ।
एसियाली खेलकुदमा जितेको रजत र टिमको कांस्य पदक पनि त्यत्तिकै महत्वपूर्ण रह्यो । हाङचाउ एसियाडमा करातेकी एरिका गुरुङले रजत र कबड्डीमा महिला टिमले कांस्य पदक जितेको थियो । एरिकाको पदक नेपालले २५ वर्षपछि एसियाडमा व्यक्तिगततर्फ जितेको पहिलो रजत थियो भने कबड्डीको पदक नेपालले टिमतर्फ जितेको पहिलो एसियाड पदक बन्यो । हाङचाउ पारा एसियाडको पदक पनि उनको कार्यकालमा नेपालले प्राप्त गरेको अर्को उपलब्धि हो ।
कोरोना महामारीबाट थलिएको खेलकुदलाई चलायमान बनाउने स्थितिमा नियुक्ति पाएका घिसिङले १९ औं एसियाडको तयारीबाटै आफ्नो यात्रा थालेका थिए । जसले उनको कार्यकाललाई गौरवपूर्ण बनायो । चीनमा २०२२ मा हुनुपर्ने एसियाड एक वर्ष ढिला हुँदा नेपालले तयारी गर्ने थप समय पाएको थियो । त्यसबीच नवौं राष्ट्रिय खेलकुद आयोजना गरेर नेपाली खेलकुदलाई चलायमान गर्दै एसियाडका लागि आधार तयार पार्ने काम गरे ।
राखेपका पूर्व सदस्यसविच युवराज लामाले निरन्तर देखिएका राजनीतिक दबाब, विवाद र चुनौतीहरूबीच घिसिङले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै प्रशंसा गरेका छन् । लामाले पदक जितको उपलब्धिहरू व्याख्या गर्दै भनेका छन्, ‘यी उपलब्धिहरू सदस्यसचिव घिसिङको नेतृत्वमा बनेको उल्लेखनीय र प्रेरणादायी अध्यायको रूपमा रहनेछ । नेपाली खेलकुद प्रशासनमा उनले छाडेको परिवर्तन, उपलब्धि र सुधारको छाप दीर्घकालीन रूपमा सम्झिइने छ ।’
लामाले उल्लेख गरेजस्तै राखेपमा लामो समयदेखि रोकिएको कर्मचारी बढुवा प्रक्रिया घिसिङले निष्कर्षमा पुर्याए, जसले गर्दा कर्मचारीको मनोबलमा दीर्घकालीन प्रभाव पारेको छ । बिदाइका क्रममा राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीले भनिन्, ‘वर्षौंदेखि हामी खेलकुदका कर्मचारी बढुवा नपाएर पीडित रहनुपरेको थियो । बढुवा समस्याको जड बनेको थियो । तर उहाँको नेतृत्व क्षमताका कारण यो समस्या समाधान भयो । यसले आम कर्मचारीको मनोबल वृद्धि भएको छ ।’
घिसिङले परिषद्मा दर्ता भएका बग्रेल्ती राष्ट्रिय खेल संघको संख्या पनि स्वाट्टै घटाए । झन्डै २०९ को हाराहारीमा दर्तामा रहेको संघको संख्या घटाएर ६३ मा ल्याएका थिए । उनले समान प्रकृतिका थुप्रै संघलाई एउटै छानामुनि ल्याउनुका साथै निस्क्रिय संघहरूको दर्ता खारेजी गरिदिए भने राष्ट्रिय संघहरूलाई आवधिक निर्वाचनको कानुनी दायराभित्र प्रवेश गराए ।
खेलाडीका लागि निरन्तर प्रशिक्षणको वातावरणका लागि घिसिङको प्रयास सराहनीय रह्यो । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलाडीका लागि प्रशिक्षण नै सफलताको जग भएको स्मरण गराउँदै खेलाडीको हकहितमा सदस्यसचिव घिसिङबाट भएको सकारात्मक प्रयास बिर्सन नसकिने बताए । नेपाली खेलकुदमा शरदचन्द्र शाहपछि सफल सदस्यसचिवको रूपमा आम खेलाडीले घिसिङको नाम लिनेमा दुईमत नरहेको श्रेष्ठको विश्लेषण थियो ।
अध्यक्ष श्रेष्ठले भने, ‘हामीले विदेश जाँदा अत्याधुनिक प्रशिक्षण सेन्टरहरू देखेका थियौं । कल्पना गरिन्थ्यो, नेपालमा कहिले हामी यस्तो सुविधामा प्रशिक्षण गर्न पाउँछौं होला ? तर अहिले हामीले त्यो अवसर पाएका छौं । हामी पनि वैज्ञानिक युगको ट्रेनिङमा प्रवेश गरेका छौं । यसले सकारात्मक नतिजा दिनेमा विश्वस्त छौं ।’
सदस्य–सचिव घिसिङको कार्यकालमा स्थापना भएको नेसनल हाइपर्फोमेन्स सेन्टर नेपाली खेलकुद विकासमा अर्को महत्त्वपूर्ण कदम हो । खेलकुद विज्ञानमा आधारित रहेर ग्रासरुटदेखि नै खेलाडीको पहिचान गर्न एन्थ्रोपोमेट्रिक अनुसन्धानलाई पनि उनले प्राथमिकतामा राखे भने खेलाडी सम्मान तथा पुरस्कारको कार्यविधि नै बनाएर नीतिगत सुधार गरे । खेलाडी उत्पादनमा टेवा पुग्ने हिसाबले निरन्तर राष्ट्रपति रनिङ सिल्ड आयोजना गर्नुका साथै जुनियर राष्ट्रिय खेलकुद (विद्यालय तह), विश्वविद्यालय खेलकुद जस्ता प्रतियोगिताको थालनी गराएका छन् । उनले त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा मार्गप्रसस्त गरिदिएका छन् ।
१९ औं एसियाडमा प्राप्त सफलतासँगै घिसिङले अर्को एसियाडका लागि भनेर ‘मिसन २०२६’ सुरु गरेका थिए । जापानमा अर्को वर्ष हुने एसियाडमा स्वर्णसहित दुई अंकमा पदक जित्ने नेपालको लक्ष्य हो यो । नेपालले अहिलेसम्म एसियाडमा स्वर्ण जित्न सकेको छैन । राष्ट्रिय टिम तयारीका निर्देशक विष्टले मिसन २०२६ मा सदस्यसचिवले जुन लक्ष्य र सपना देख्नुभएको छ, त्यसलाई पूरा गर्न खेलाडी, प्रशिक्षक सबै दत्तचित्त भएर लागिरहेको स्मरण गराए ।
खेलकुदमा सकारात्मक आयाम ल्याउनुका बावजुद घिसिङले आफ्नो कार्यकालमा केही विवाद पनि निम्त्याए । निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग ‘ट्युनिङ’ नमिल्दा १० औं राष्ट्रिय खेलकुद पटक–पटक मिति सर्दै आयोजना हुन सकेन भने नेपाल ओलम्पिक कमिटी (एनओसी) मा निम्तिएको विवादलाई षरिषद्को नेतृत्वमा रहेर पनि घिसिङले निकास दिन सकेनन् । बिदाइमा एनओसीका पूर्वमहासचिव निलेन्द्रराज श्रेष्ठले भने, ‘हामी चाहन्थ्यौं एनओसी विवाद उहाँकै पालामा समाधान होस्, खेलकुदको हट सिटमा बसेर उहाँले प्रयास गर्नुभएको हो, तर माथिकै निकायबाट नचाहेपछि त्यो सम्भव भएन भन्ने लाग्छ । भावी दिनमा नीति निर्माण गर्ने तहमा पुगेर समाधान गर्न शुभकामना दिन चाहन्छु ।’
सदस्य–सचिव घिसिङले बिदाइमा भावुक बन्दै आफ्नो कार्यकालमा खेलाडी, प्रशिक्षक, कर्मचारी सबैले आफूलाई ‘अभूतपूर्व’ सफलता हासिल गर्न सहयोग गरेको भन्दै उनीहरूलाई धन्यवाद दिए ।
