उद्धघाटन खेलमा शनिबार मैवाखोला र सिरिजंगा गाउँपालिका आमने सामने हुँदैछन् ।
What you should know
ताप्लेजुङ — कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप फुटबलको उद्धघाटन खेलमा शनिबार मैवाखोला र सिरिजंगा गाउँपालिका आमने सामने हुँदैछन् ।
चासोक तङनाम पर्व २०८२ को अवसरमा आयोजित प्रतियोगितामा अहिलेसम्मको बढी पुरस्कार राखेर पहिलो पटक पालिकास्तरीय महिला फुटबल गराइँदैछ । एउटा पालिकाले चार जनासम्म बाहिरका खेलाडी ल्याउन पाउने प्रावधान रहेकाले प्रतियोगिता आकर्षक हुने दाबी आयोजकको छ ।
तर, उद्धघाटन खेल्न लागेका दुवै पालिकाले पहिलो खेलका लागि भने बाहिरका खेलाडी नल्याएको र पालिकाभित्रका राम्रा खेलाडी छनोट गरेर तयार पारेको दाबी गरेका छन् । मैवाखोला गाउँपालिका सामाजिक विकास समितिका संयोजकसमेत रहेका चन्द्र तामाङ ग्रास रुटदेखि नै राम्रो तयारी गरेका खेलाडी भएकाले उद्धघाटन खेल जित्ने दाबी गर्छन् । ‘हामिले अहिले डिके मादेन (खेल प्रशिक्षक) ले डेढ महिनासम्म तालिम दिएका पालिका भित्रैका खेलाडिको टिम तयार पारेका छौं,’ चन्द्रले भने, ‘सिरिजंगालाई लिड गर्छौं भन्ने लागेको छ ।’
सिरिजंगाको टिमको नेतृत्व गरिरहेका डिल्ली गुरुङ पनि खेलाडि पालिका भित्रैका मात्रै भएको तर उद्धघाटन खेल जित्ने दाबी गर्छन् । ‘गाउँको ग्राउन्डमा खेलेका खेलाडीहरु छन्,’ डिल्लीले भने, ‘अवसर पाउँदा खेल देखाउँछन् र मैवाखोलालाई लिड गछर्न भन्ने लागेको छ ।’ सेसेमा बोखिम, मनु राई, भरोसा लिङ्देन, समिक्षा गुरुङ जस्ता खेलाडीको नाम लिएरै डिल्लीले भने, ‘उद्धघाटन खेल जितिन्छ र बाँकी टिमको खेल र खेलाडी हेरेर थप निर्णय लिने भन्ने मनस्थितिमा छौं ।’
ट्रफिसहित विजेताका लागि २ लाख २ हजार र उपविजेताका लागि १ लाख २ हजार पुरस्कार राशि रहेको प्रतियोगितामा जिल्लाका नौ मध्ये आठ पालिका सहभागी हुँदैछन् । खेल संयोजक सन्तोष गुरुङका अनुसार पालिकाहरुले आफ्नो पालिकाको महिला विभागीय टिम वा अन्य क्लबमा आवद्ध भएर खेल्दै गरेकाको खोजी गरेर टिममा समावेश गरेको पाइएको छ । दोस्रो चरणमा प्रवेश गरेपछि राष्ट्रियस्तरको प्रतियोगितामा समावेश खेलाडी ल्याउने मनस्थितिमा पनि पालिकाहरु देखिन्छनु । ‘धेरैले पहिलो चरणको खेल आफ्नै पालिकामा भएकालाई खेलाउने र दोस्रो चरणमा पुगेपछि प्रतिस्पर्धी अनुसार राम्रा खेलाडी ल्याउने तयारी देखिन्छ,’ खेल सहसंयोजक केवल मादेनले भने ।
सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा हुने यही प्रतियोगिताको दर्शकका लागि लाखे जात्रामा बनाइएको प्याराफिट अहिलेसम्म राखिएको छ । महिला मात्रैको प्रतियोगिताका लागि पहिलो पटक टिकट काटेर प्रवेशको व्यवस्था आयोजकले गरेका छन् । पहिलो क्वाटर फाइनलका लागि एक सय रुपैयाँ टिकटदर रहेको आयोजकले बताए । यो प्याराफिटमा आठ हजारसम्म दर्शक अट्छन् ।
हरेक दिनको म्यान अफ द म्याचका लागि ५ हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडिका लागि १० हजार र अन्य विधागततर्फ ८ हजारका दरले पुरस्कार दिइने कञ्चनजंघा सेसेलुङ क्लबका अध्यक्ष अशोककुमार थेवेले जानकारी दिए । हरेकदिन दिनको ठीक २ बजेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी आयोजकको छ । प्रतियोगिताको दोस्रो दिन १४ गते पाथीभरा याङवरक र आठराई त्रिवेणी गाउँपालिका, १५ गते फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका तथा १६ गते पहिलो चरणको अन्तिम खेलमा सिदिङवा र मेरिङदेन गाउँपालिका आमनेसामने हुँदैछन् । नौ वटा स्थानीय तहमध्ये यस वर्ष मिक्वाखोला गाउँपालिका भने सहभागी छैन ।
ङावरक साम्जोङ फुङलेङ, कञ्चनजंघा फुङलिङ क्लब र चासोक तङनाम आयोजक समिति रहेको प्रतियोगिताको फाइनल मंसिर २० गते हुनेछ । गत वर्ष देशका नाम चलेका क्लबहरु सहभागी गराएर यही अवसरमा यही मैदानमा प्रतियोगिता गरिएको थियो ।
