यस सिजनमा तेस्रो हार बेहोरेपछि लुम्बिनी लायन्स र डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स सकटमा परेको छ ।
काठमाडौँ — सुदूरपश्चिम रोयल्स बिहीबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार चौथो विजय हात पारेर प्लेअफका लागि बलियो स्थितिमा पुगेको छ । पोखरा एभेन्जर्सले पनि जितको स्वाद चाखेको छ । तर, यस सिजनमा तेस्रो हार बेहोरेपछि लुम्बिनी लायन्स र डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स सकटमा परेको छ ।
सुदूरपश्चिमले बिहीबार पहिलो खेलमा लुम्बिनीलाई ७ विकेटले पराजित गरी लगातार चौथो विजय हात पाएको हो । पोखराले दिनको दोस्रो खेलमा च्याम्पियन जनकपुरलाई २५ रनले हरायो । विनोद भण्डारी र आरिफ शेखको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिमले सहज जित निकालेको थियो । पहिलो ब्याटिङ गरेको लुम्बिनी निर्धारित १९.४ ओभरमा १ सय ४३ रनमै अलआउट भयो । टोलीले ३३ बलको अन्तरमा ३९ रनमात्र बनाएर पछिल्लो ८ विकेट गुमाएको थियो । विनोद र आरिफले तेस्रो विकेटमा ९९ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले १० बलअगाडि नै लक्ष्य पुरा गरेको हो ।
सुदूरपश्चिमको लगातार चौथो जित हो । यो जितले टोलीको प्लेअफमा पुग्ने सम्भावना अझ बलियो बनाएको छ । लुम्बिनीले ४ मध्ये ३ खेल हारिसकेको छ । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लुम्बिनी लगातार तीन खेलमा पराजित भइसकेको छ । लुम्बिनी अघिल्लो खेलमा कर्णाली याक्स र काठमान्डु गोर्खाजसँग पराजित भएको थियो ।
सुदूरपश्चिमलाई विजयका लागि ६ रन आवश्यक भएको समयमा आरिफ ३९ रन बनाई आउट भए । उनले ३७ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । विनोद ६९ रनमा अविजित रहे । प्लेयर अफ द म्याच उनले ४९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । हरमित सिंह ३ रनमा अविजित रहे । उनले विजयी छक्का प्रहार गरे । ओपनर जोस ब्राउन २ चौका प्रहार गरी ९ रनमा आउट भए । उनलाई अभिषेक गौतमले आउट गरे । लगातार दुई छक्का प्रहार गरेका क्रिस लिनलाई त्यसको अर्को बलमा रुबेन ट्रम्पलमनले आउट गरे ।
यसअघि पावर प्लेको पहिलो ६ ओभरमा १ विकेट गुमाई ५० रन बनाएको लुम्बिनी १० ओभरमा ७०–२ को स्थितिमा पुगेको थियो । त्यसपछि टोलीले रन गति अगाडि बढाउन सकेन । डी’आरसी शटले पहिलो ओभरमै स्कट कुग्लेएनलाई ३ चौका प्रहार गरे । दोस्रो ओभरमा ओपनरको रूपमा पठाइएका सुमित महर्जनले कप्तान दीपेन्द्रसिंह ऐरीलाई २ चौका प्रहार गरे । त्यसपछि भने टोलीले ठूलो शटका लागि भौतारिन परेको थियो । टोलीले पूरा इनिङ्समा १ छक्कामात्र प्रहार गर्न सक्यो ।
शट ११ बल खेल्दै ४ चौकासहित १८ रन बनाई हेमन्त धामीको बलमा इनसाइड एज लागि बोल्ड भए । सुमितले १४ बल खेल्दै ३ चौकासहित १८ रन बनाए । कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडे । २९ रनमा अविनाश बोहराको बलमा नरेन साउदले क्याच छाडेपछि जीवनदान पाएका रोहितले त्यसको फाइदा उठाउन सकेनन् । ६ रन थपेपछि हेमन्त धामीको बलमा रिभर्स स्विप गर्न खोज्दा विकेटकिपर विनोदबाट क्याच समातिए । रोहितले ३६ बल खेल्दै ३ चौका प्रहार गरे ।
गुलबद्दिन नैब २ चौका प्रहार गरी ९ बलमा ११ र ट्रम्पलमन ३ बल खेल्दै शून्यमा आउट भए । उनलाई दीपेन्द्रले सिधा थ्रोमा रन आउट गरे । अविनाश बोहराको यो ओभरमा आउट हुने तेस्रो खेलाडी दिलीप नाथ थिए । एलबीडब्लू आउट हुनु अघि उनले २९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरी ३१ रन बनाए ।
सन्दीप जोरा ७, शेर मल्ल ४, थोमस ड्राका ६ र अभिषेक गौतम ६ रनमा आउट भए । सुदूरपश्चिमका अविनाश र हरमितले ३–३ विकेट लिए । अविनाशले ४ ओभरमा २६ र हरमितले ३.४ ओभरमा २२ रन खर्चे । हेमन्तले ३ ओभरमा २८ रन खर्चेर २ र कुग्लेनले १ विकेट लिए ।
जनकपुर बाहिरिने स्थितिमा
गत वर्ष पहिलो संस्करणको योग्य विजेता बनेको जनकपुर पहिलो तीनै खेलमा पराजित भएको छ । बाँकी रहेको चारै खेलमा विजय हात पारे पनि जनकपुरलाई त्यो प्लेअफमा पुग्न पर्याप्त नबन्न सक्छ । पोखराले भने तेस्रो खेलमा आएर पहिलो विजय निकालेको हो ।
१ सय ५६ रनको विशाल लक्ष्य लिएर आएको जनकपुरले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाई १ सय ३० रनमात्र बनाउन सक्यो । इनिङ्सको पहिलो बलमै पाकिस्तानी खेलाडी माज सदाकतले छक्का प्रहार गरे पनि विपिन खत्रीले सोही ओभरमा आसिफ शेखलाई शून्यमा स्टम्पआउट र शुभ कंशाकारलाई ४ रनमा बोल्ड गरी पोखरालाई सनसनीपूर्ण सुरुआत दिलाए ।
त्यसपछि भने जनकपुर माथि उठ्न सकेन । विपिनका ओपनिङ जोडी अर्का स्पिनर सुमित बर्माले इनिङ्सको चौथो ओभरमा यान निकोल लफ्टी इटन र सदाकतलाई आउट गरेपछि पोखराले खेल पूर्ण नियन्त्रणमा राखेको थियो । लफ्टी इटन २ र सदाकत २० रनमा आउट भए । सदाकतले १४ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे ।
कप्तान अनिल साहले पुनः निराश बनाए । उनले १ रनमात्र जोड्न सके । विपिनले अनिल र मयन यादवलाई ४ रनमा आउट गरी उत्कृष्ट बलिङ गरे । विपिनले ४ ओभरमा १५ रनमात्र खर्चे । सञ्जय कृष्णमूर्तिले २३ रन बनाए । उनले २० बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।
रुपेश सिंह १२ बलमा ७ रन बनाई जिम्मी निसमको सिकार भए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका दक्षिण अफ्रिकी भेट्रान वायन पार्नेलले ५० रन बनाए । उनी अन्तिम ओभरमा ‘रिटायर्ड आउट’ भए । ३६ वर्षे उनले ३८ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे । ललित राजवंशी १० रनमा अविजित रहे । विपिनबाहेक पोखराबाट सुमितले २ तथा कप्तान कुशल भुर्तेल र निसमले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको पोखराले ६ विकेट गुमाई १ सय ५५ रन बनाएको थियो । पोखराले अन्तिम ५ ओभरमा ६० रन बनाउँदै राम्रो स्कोर बनाउन सफल भएको हो । एडम रोसिङ्टन र दिनेश खरेलले पहिलो विकेटमा ६१ रन जोडेर पोखरालाई राम्रो सुरुआत दिलाए । नवौं ओभरमा कृष्णमूर्तिले रोसिङ्टनलाई आउट गरी यो साझेदारी तोडे । त्यसको अर्को बलमा देव्रेहाते स्पिनर कृष्णमूर्तिर्ले पोखराका कप्तान कुशल भुर्तेललाई पहिलो बलमै बोल्ड गरे ।
रोसिङ्टनले १७ बल खेल्दै ३ चौका प्रहार गरेर २४ रन बनाए । अर्का ओपनर दिनेशले ३८ बल खेल्दै २ चौका र ३ छक्कासहित ३८ रन बनाए । निसम १ रनमै आउट भए । बर्मा र तृतराज दासले पाँचौं विकेटमा ७२ रनको साझेदारी गरी पोखराको स्थिति सुधारेका थिए । तृतराजले १९ औं ओभरमा रनआउट हुनुपूर्व २८ बल खेल्दै २ चौकासहित २८ रन बनाए । ड्यान डाउथवेट ३ बल खेल्दै १ छक्का प्रहार गरी ७ रनमा आउट भए ।
प्लेयर अफ द म्याच बर्मा ५० रनमा अविजित रहे । उनले २९ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे । कृष्णमूर्तिले जनकपुरबाट ३ विकेट लिए । उनले ४ ओभरमा २१ रनमात्र खर्चेका थिए । ललित राजवंशीले ४ ओभरमा ४० रन खर्चेर २ र अनिलले १ विकेट लिए ।
‘आमाको सम्मान’ स्वरुप जनकपुर गुलाबी जर्सी र पोखरा हिमनदी महत्त्वपूर्ण छ भन्ने वातावरण संरक्षण अभियानको सन्देश बोकी हरियो जर्सी लगाएर खेलेको थियो ।
