एनपीएलमा आमा र हिमालको सन्देश छरिँदै

‘आमाको सम्मान’ स्वरुप जनकपुर गुलाबी रंगको जर्सी लगाएर पोखराविरुद्ध मैदान उत्रनेछ । जलवायु परिवर्तनको चेतना जगाउने सन्देश बोकेको हरियो जर्सीमा पोखरा टिम हुनेछ ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

Spreading the message of mother and mountains in NPL

What you should know

काठमाडौँ — जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स बिहीबार एनपीएलका लागि मैदानमा उत्रिँदा प्रतिस्पर्धामा मात्र सीमित हुने छैन । यी दुई टोली सामाजिक सन्देश दिने उद्देश्य बोकेर खेल्नेछन् । 

‘आमाको सम्मान’ स्वरुप जनकपुर गुलाबी रंगको जर्सी लगाएर पोखराविरुद्ध मैदान उत्रनेछ । जलवायु परिवर्तनको चेतना जगाउने सन्देश बोकेको हरियो जर्सीमा पोखरा टिम हुनेछ ।

जनकपुरका सबै खेलाडीको जर्सीपछाडि उनीहरूको आमाको नाम हुनेछ । जनकपुरका खेलाडी ललित राजवंशी र विकास आग्रीले हालै आफ्नी आमा गुमाएका थिए । पोखराविरुद्ध खेलेको जर्सी अक्सनबाट लिलामी गरेर संकलित रकम आमाहरूद्वारा सञ्चालित सामाजिक कार्यका लागि प्रदान गरिने जनकपुरका महाप्रबन्धक निरोज खतिवडाले बताए । 

कलाकार नाजिर हुसैनले भिडियो सन्देशमार्फत आफ्नो सपना बेचेर छोराछोरीलाई उभ्याउने आमाहरूको सम्मानका लागि जनकपुरले गरेको प्रयास सराहनीय भएको जनाएका छन् । काठमान्डु गोर्खाजका प्रतीक श्रेष्ठ र सन्नी पटेलले पनि आमाको नाम जर्सीमा राखेर एनपीएल खेलिरहेका छन् । 

पोखराले गत वर्ष पनि ग्लोबल वार्मिङको मुद्दा उठाउँदै आफ्नो जर्सीको अगाडिको भागमा ‘ग्लेसियर म्याटर्स’ लगाएर खेलेको थियो । पोखरा एभेन्जर्सले आफ्नो स्थापना कालदेखि नै मिसनको रूपमा लिएको यो कार्यमा जनकपुरले आमाको सम्मानमा शोकलाई शक्तिमा परिवर्तन गर्ने निर्णय गरेर हातेमालो गरेको पोखराका प्रमुख सुवोध त्रिपाठीले बताए ।

‘२०११ देखि २०२० सम्ममा हिन्दुकुश हिमाली क्षेत्रमा लगभग ६५ प्रतिशत पग्लिएको पाइएको थियो, यो शताब्दीको अन्तसम्म हामीले केही पनि गरेनौं भने ८५ प्रतिशतसम्म हिउँ पग्लिएर जाने अनुमान गरिएको छ,’ त्रिपाठीले भने, ‘पोखरा एभेन्जर्सले गण्डकी क्षेत्रको प्रतिनिधित्व गर्छ । यो क्षेत्रमा लामो हिमशृंखला छ । हामीले त्यही हिमाल सुरक्षित राख्न यो अभियान चलाएका छौं । यो हाम्रो दायित्वमा पनि पर्दछ ।’

८ हजार मिटरमाथिका १४ हिमाल चढिसकेका निमा रेन्जी शेर्पाले नेपालका ५ हजार हिमालले १ सय करोड मानिसलाई पानी पुर्याइरहेको जनाउँदै हिम नदी निरन्तर पग्लिनु चिन्ताको विषय भएको जनाए । उनले हिमनदी जोगाउनु अहिलेको आवश्यकता भएको बताए ।

कान्तिपुर

Link copied successfully