टस जितेर ब्याटिङ रोजेको नेपालले बिहीबार निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ७० रन बनाएको हो ।
What you should know
काठमाडौँ — कप्तान अशोक धामी र दर्श सुनारले सातौं विकेटमा १ सय ८ रनको साझेदारी गरेपछि नेपालले एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा हङकङलाई २ सय ७१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले बिहीबार निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ७० रन बनाएको हो ।
यूएईमा भइरहेको प्रतियोगितामा मध्यक्रममा अशोक र दर्शले राम्रो साझेदारी गरेपछि नेपालले हङकङलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो । अजमान स्थित सेभेन ड्रिस्ट्रिक ग्राउन्ड २ मा नेपालले अन्तिम ५ ओभरमा ६८ रन जोडेको थियो ।
अशोक इनिङ्सको अन्तिम बलमा ७३ रन बनाई आउट भए । उनले ५१ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे । दर्श ५८ बलमा अविजित ४५ रन बनाए । उनले ३ चौका प्रहार गरे ।
ओपनरद्वय नीरजकुमार यादव २२ र वंश क्षेत्री २४ रनमा आउट भए । नीरजले २० बल खेली ३ चौका र वंशले ३४ बल खेली २ चौका प्रहार गरे । निश्चल क्षेत्री ३ रनमै आउट भए ।
सिब्रिन श्रेष्ठले ५९ बल खेली १ चौकासहित २५ रन बनाए । दिलशाद अलीले ५० बल खेली ३२ रन जोडे । रोहन विश्वकर्मा २१ बल खेली २ चौका र १ छक्का प्रहार गरी २२ रनमा आउट भएपछि अशोक र दर्शको जोडिले जमेर ब्याटिङ गरेका थिए । हङकङका अभिमन्यु गणेशन र डानियल मापले २–२ विकेट लिए ।
नेपाल यस खेल जिते समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुग्ने छ । नेपालले सोमबार साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो ।
