विराटनगरको लगातार जितमा चितवनको विराम

एनपीएलमा बुधबार चितवन राइनोजको जितमा अफ–स्पिनर रञ्जित कुमार नायक रहे।उनको ५ विकेटको उत्कृष्ट प्रदर्शन अगाडि विराटनगर १६.५ ओभरभित्र १ सय २६ रनमा समेटियो ।

मंसिर ११, २०८२

हिमेश

Chitwan breaks Biratnagar's winning streak

What you should know

काठमाडौँ — लगातार तीन खेल जितेपछि विराटनगर किंग्स लयमा देखिएको थियो । चितवन राइनोजसँग बुधबार जित हात पार्न सकेको भए विराटनगरलाई सम्भवतः प्ले–अफ समीकरण असाध्यै धेरै अनुकूल हुन्थ्यो । 

तर यो पटकथालाई फरक पाराले लेख्ने काम गर्‍यो, चितवनले । त्यो पनि यस्तो जित रह्यो, जसलाई सानदार भन्न सकिनेछ । नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको खेलमा चितवनले विराटनगरलाई ४८ रनले हराएको थियो । 

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लडलाइटमा भएको खेलमा चितवनको जितको नायक रहे, अफ–स्पिनर रञ्जित कुमार । उनको ५ विकेटको उत्कृष्ट प्रदर्शन अगाडि विराटनगर १६.५ ओभरभित्र १ सय २६ रनमा समेटियो । जितका लागि १ सय ७५ रनको लक्ष्य पाएको विराटनगर खेलको कुनै पनि मोडमा त्यसलाई पछ्याउने बाटोमा रहेन । विराटनगरले एकपछि अर्को नियमित अन्तरमा विकेट गुमाइरह्यो । 

रञ्जितले २१ रनमात्र खर्चेर यो सिजनको पहिलो ५ विकेटको प्रदर्शन गरेका थिए । ‘म निकै खुसी छु । यो उपलब्धिका लागि सबैप्रति म आभारी छु । मलाई राम्रो प्रदर्शनका लागि चितवनका सबैले सहयोग र प्रोत्साहन गरिरहेका छन्,’ खेलपछि प्लेयर अफ द म्याच भएका उनले भने । विराटनगरका लागि अन्त्यतिर मर्च्येन्ट डी ल्याङ्गेले ३९ र प्रतिश जीसीले ३० रन बनाए । 

दुवैको आक्रमण ब्याटिङ टिमको खराब सुरुआतका कारण अर्थहीन रह्यो । त्यसअघि साम हेजलेटले २२ रन जोडेका थिए । विराटनगरले पावर–प्लेमा सुरुआती ४ विकेट गुमाएपछि दबाबमा खेल्न बाध्य भएको थियो । अझ टिमले ३९ रन बनाउँदा ५ विकेट गुमाउन पुग्यो । 

त्यसअघि रवि बोपाराको सानदार अर्धशतकप्रेरित चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनाइको थियो । रविले सर्वाधिक ६५ रन बनाए । उनले ३८ बलको सामना गरे अनि तीन चौका र चार छक्का प्रहार गरे । यो सिजन बोपाराको यो तेस्रो अर्धशतक हो । यसअघि उनले कर्णाली याक्स र लुम्बिनी लायन्सविरुद्ध पनि अर्धशतक बनाएका थिए । रविले कप्तान कुशल मल्लसँग पाँचौं विकेटका लागि ५६ रनको साझेदारी गर्दै टोलीको इनिङ्सलाई उच्च बनाए । कुशल २० रन बनाएर नटआउट रहे । यस्तै सैफ जैबले ३२ र देव खनालले २८ रन बनाए । 

‘आज हाम्रो टिमले राम्रो खेल्न सकेन,’ पोस्टम्याच कन्फ्रेन्समा विराटनगरका प्रशिक्षक धम्मिका प्रसादले भने, ‘हाम्रा लागि पूरा दिन नै खराब रह्यो पनि नभनौं । तर हाम्रो टिमले आधारभूत क्रिकेट नै खेल्न सकेन । हामीले राम्रो सुरुआत लिन सकेनौं र यो नै टिमको प्रदर्शनमा पछिसम्म प्रभाव पारिरह्यो ।’ यो नतिजापछि विराटनगर ६ अंकसहित दोस्रो स्थानमा रह्यो । चितवन भने ४ अंक बटुलेर तेस्रो स्थानमा उक्लिन सफल रह्यो ।

हिमेश

Link copied successfully