इमिरेट्समा भएको खेलमा आर्सनलका लागि जुरेन टिम्बर, नोभी माडुके र ग्याब्रिएल मार्टिनेलले गोल गरे ।
काठमाडौँ — आर्सनलले युरोपेली च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत प्रदर्शनलाई बुधबार पनि कायम राख्यो । उसले बायर्न म्युनिकलाई ३–१ ले पराजित गरेको हो । हारले बायर्नको शतप्रतिशत प्रदर्शन भने रोकिएको छ ।
इमिरेट्समा भएको खेलमा आर्सनलका लागि जुरेन टिम्बर, नोभी माडुके र ग्याब्रिएल मार्टिनेलले गोल गरे । बायर्नका तर्फबाट लेनार्ट कार्लले एक गोल फर्काए । यो जितपछि आर्सनलको पाँच खेलबाट १५ अंक भएको छ र शीर्षमा छ ।
बायर्न भने १२ अंकमा तेस्रोमा छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) को पनि १२ अंक भएको छ र दोस्रो स्थानमा उक्लेको छ । उसले अर्को खेलमा टोटनहमलाई ५–३ ले हरायो । यस्तै रियल म्याड्रिडले ओलम्पियाकोजलाई ४–३ ले पराजित गर्यो ।
रियल १२ अंकमा पाँचौं स्थानमा पुगेको छ । इन्टर मिलान भने एटलेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भयो । यस्तै लिभरपुललाई पीएसभी आयनहोभनले ४–१ ले हरायो ।
अन्य खेलमा कोपनहेगनले अल्माटीलाई ३–२, एटलान्टाले फ्रायन्कफर्टलाई ३–०, स्पोर्टिङ लिस्वनले क्लब ब्रुगलाई ३–० ले पराजित गर्यो । पाफोस र मोनाकोले २–२ को बराबरी खेले ।
