रेडियन्ट सिनियर ब्वाइज, स्वर्णिम सिनियर गर्ल्स र ईबीए जुनियर ब्वाइजमा च्याम्पियन बने ।
काठमाडौँ — आयोजक रेडियन्ट पब्लिक, स्वर्णिम र इडेन ब्रिज एकेडेमी (ईबीए) ले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् ।
रेडियन्ट सिनियर ब्वाइज, स्वर्णिम सिनियर गर्ल्स र ईबीए जुनियर ब्वाइजमा च्याम्पियन बने । घरेलु कोर्टमा सिनियर ब्वाइज फाइनलमा रेडियन्ट पब्लिकले पुष्पसदनलाई ४७–४१ स्कोरले पराजित गर्यो । रेडियन्टका सुसनराज न्यौपानेले २२ स्कोरको योगदान गरे ।
सिनियर गर्ल्सको फाइनलमा स्वर्णिमले आयोजक रेडियन्टलाई २३–१० ले हरायो । स्वर्णिमकी हिसील्हामु लामाले ११ स्कोर गरिन् ।
जुनियर ब्वाइजको फाइनलमा ईबीएले ग्रिनफिल्ड नेसनल स्कुललाई २१–१७ ले हराउँदा दिग्विजय पुरीले ४ स्कोर गरेका थिए ।
सिनियर ब्वाइजमा रेडियन्टका सुसनराज न्यौपाने, गर्ल्समा स्वर्णिमकी ओजस्वी बोहरा र जुनियर ब्वाइजमा ईबीएका दिग्विजय पुरी ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा आनन्दकुटी, गर्ल्समा न्यु जेनिथ र जुनियर ब्वाइजमा गोल्डेन फ्लावरे अनुशासित टिमको ट्रफी हात पारे ।
विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारिप्रकाश सन्जेल, रेडियन्टका अध्यक्ष प्रभाकुमार पौडेल, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीलगायतले पुरस्कृत गरे ।
