खेल नेपाली समय अनुसार साँझ सवा छ बजे सुरु हुनेछ। नेपाल थ्री नेसन्स कप खेल्न इन्डोनेसिया पुगेको हो।
What you should know
काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टिमले बुधवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको सामना गर्दै छ। खेल इन्डोनेसियाको योग्यकार्तास्थित मागुवोहर्जो रंगशालामा हुनेछ। खेल नेपाली समय अनुसार साँझ सवा छ बजे सुरु हुनेछ। नेपाल थ्री नेसन्स कप खेल्न इन्डोनेसिया पुगेको हो।
प्रतियोगिताको अर्को टिम चिनियाँ ताइपेइ रहेको छ। नेपालले इन्डोनेसियाबाट कडा चुनौती सामना गर्ने विश्वास गरिएको छ। फिफा वरीयतामा नेपालभन्दा पछाडि रहेको इन्डोनेसियाले यही प्रतियोगिताका लागि भनेर विदेशमा रहेका आफ्नै मूलका केही खेलाडीलाई टिममा समावेश गरेको छ।
यो खेल नेपाल र इन्डोनेसियाबीचको तेस्रो भेट मात्र हुनेछ। यसअघिका दुई खेलमा एकपल्ट इन्डोनेसिया विजयी रहेको छ भने एकपल्ट नेपाल। सन् १९८९ मा एएफसी वुमेन्स च्याम्पियनसिपमा इन्डोनेसियाले नेपाललाई ८–० ले पराजित गरेको थियो।
त्यति बेला नेपालले भर्खरै महिलाको अन्तर्राष्ट्रिय फुटबल खेल्न सुरु गरेको थियो। दोस्रो खेल भने सन् २०१९ मा भएको थियो। एएफसी वुमेन्स ओलम्पिक छनोटको त्यही खेलमा नेपालले इन्डोनेसियालाई २–१ ले हराएको थियो। त्यसमा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन्।
यसपल्ट भने चोटग्रस्त सावित्रा टिममा हुनेछैनन् र उनको स्थानमा एन्जिला सुब्बाले टिमको नेतृत्व गरिरहेकी छन्। उनले इन्डोनेसियाविरुद्ध जितकै लागि खेल्ने बताएकी छन्। उनले प्रि–म्याच कन्फ्रेन्समा इन्डोनेसियालाई प्रतिद्वन्द्वीका रूपमा सम्मान दिएर नै खेल्ने बताएकी छन्।
यस्तै प्रशिक्षक नवीन न्यौपानेले पनि नेपाली टिम सकारात्मक नतिजाकै लागि इन्डोनेसिया आएको प्रतिक्रिया दिएका छन्। उनले प्रि–म्याच कन्फ्रेन्समा आफ्नो टिममाथि पूर्ण विश्वास पोखेका थिए। उनको नेतृत्वमा नेपालले यसअघि भारतको सिलोङमा थ्री नेसन्स कप खेलेको थियो।
