त्रिवि क्रिकेट रंगशालामा क्यानले १० लाखको चेक प्रदान गर्दै काठमाडौँमा नेपाली दृष्टिविहीन महिला टोलीलाई सम्मान गरेको हो ।
काठमाडौँ — पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकपको उपविजेता बनेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले सम्मान गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको खेल सुरु हुनु अघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालाको मैदानमा नेपाली दृष्टिविहीन महिला टोलीलाई सम्मान गरिएको थियो ।
क्यानले नेपाली महिला टोलीलाई १० लाखको चेक प्रदान गरेर सम्मान गरेको थियो । सो अवसर क्यान र नेपाल नेत्रहीन क्रिकेट संघका पदाधिकारी उपस्थिति थिए ।
श्रीलंकामा आइतबार भएको फाइनलमा नेपाललाई भारतले ७ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा ७ राष्ट्रको सहभागिता थियो ।
सोमबार काठमाडौँ आइपुगेको नेपाली दृष्टिविहीन महिला टोलीलाई प्रधानमन्त्री सुशीला कार्कीले सोही दिन प्रधानमन्त्री निवास बालुवाटार बोलाएर बधाई दिएकी थिइन् ।
