कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपको तालिका सार्वजनिक

सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा हुने पालिकास्तरीय प्रतियोगितामा आठ टिम सहभागी हुने छन् ।

मंसिर ८, २०८२

आनन्द गौतम

Schedule of Kanchenjunga Seselung Women's Gold Cup announced

ताप्लेजुङ — चासोक तङनामको अवसरमा आयोजना गर्न लागिएको कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा हुने पालिकास्तरीय प्रतियोगिताको उद्धघाटन खेलमा सिरिजंगा र मैवाखोला गाउँपालिका आमनेसामने हुनेछन् । 

मंसिर १३ गतेदेखि हुने प्रतियोगिताको दोस्रो दिन १४ गते पाथीभरा याङवरक र आठराई त्रिवेणी गाउँपालिका, १५ गते फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका आमनेसामने हुँदा १६ गते हुने पहिलो चरणको अन्तिम खेल सिदिङवा र मेरिङदेन गाउँपालिकाबीच हुने आयोजकले बताएका छन् । नौ वटा स्थानीय तह रहेको जिल्लाको मिक्वाखोला गाउँपालिका भने यस वर्षको प्रतियोगितामा सहभागी नहुने भएको छ । 

ङावरक साम्जोङ फुङलेङ, कञ्चनजंघा फुङलिङ क्लब र चासोक तङनाम आयोजक समितिको आयोजनामा हुने प्रतियोगिताको फाइनल मंसिर २० गते हुनेछ । प्रतियोगितामा एउटा पालिकाले चारजना बाहिरका खेलाडी ल्याउन पाउने भएकाले प्रतियोगिता उत्कष्ट हुने आयोजकको दाबी छ । 

विजेताले ट्रफीसहित २ लाख २ हजार र उपविजेताले १ लाख २ हजार पुरस्कार पाउने छन् । हरेक दिनको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ, प्रतियोगिताका उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ र विधागत तर्फका उत्कष्टलाई ८ हजार रुपैयाँका दरले पुरस्कार दिइने क्लबका अध्यक्ष अशोककुमार थेवेले बताए । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully