अस्ट्रेलियाली भूमिमा इंग्ल्यान्डको पछिल्लो जित १५ वर्ष अगाडि रहेको छ । त्यसयता भ्रमणकारी इंग्ल्यान्ड १४ टेस्टमा पराजित रहेको छ । यस्तै दुई टेस्ट भने बराबरीमा टुंगेका छन् ।
What you should know
पर्थ — अस्ट्रेलियाविरुद्धको एसेज सिरिजको पहिलो टेस्ट दुई दिनमै पराजित भएपछि इंग्ल्यान्डको चर्को आलोचना सुरु भएको छ । केही पूर्वखेलाडीले यस टेस्टमा इंग्ल्यान्डको नीति बुद्धिहीन रहेको आरोपसमेत लगाएका छन् ।
बेन स्टोक्सको इंग्ल्यान्ड दुई दिनभित्र आठ विकेटले पराजित भएको थियो र त्यसमा अस्ट्रेलियाका लागि ट्रेभिस हेडले दोस्रो इनिङ्समा ६९ बलमा सनसनीपूर्ण शतकीय इनिङ्स खेलेका थिए । अस्ट्रेलियाली भूमिमा इंग्ल्यान्डको पछिल्लो जित १५ वर्ष अगाडि रहेको छ । त्यसयता भ्रमणकारी इंग्ल्यान्ड १४ टेस्टमा पराजित रहेको छ । यस्तै दुई टेस्ट भने बराबरीमा टुंगेका छन् ।
डिसेम्बर ४ मा ब्रिसवेनमा सुरु हुने डे नाइट टेस्ट अगाडि इंग्ल्यान्डसामु पर्थमा विजयी रहेर अगाडि रहेको अवसर रहेको थियो । अस्ट्रेलिया आफ्नो पहिलो इनिङ्समा १ सय ३२ रनमा अलआउट भएपछि दबाबमा रहेको थियो ।
इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्समा एक समय पाँच विकेटमा १ सय ६० रन बनाएको थियो । तर त्यसयता १२ रनमा इंग्ल्यान्डले पाँच विकेट गुमाएको थियो र त्यस क्रममा पूरा टिम १ सय ७२ रन मात्र बनाएर अलआउट भएको थियो । अझ त्यस इनिङ्समा इंग्ल्यान्डले एक विकेटको क्षतिमा ६५ रन बनाएको थियो । तर इंग्ल्यान्डले लगातार विकेट गुमाइरह्यो ।
यस्तोमा घरेलु टिमले २ सय ५ रनको लक्ष्य पाएको थियो । सिरिजको तयारीमा खासै समय नखर्चेको इंग्ल्यान्ड अब चारैतर्फबाट आलोचनाले घेरिएको छ । पूर्वखेलाडी जेफ्री बोइकटले पत्रिकाको आफ्नो स्तम्भमा लेखेका छन्, ‘जसरी अहिले इंग्ल्यान्डले टेस्टमा हार बेहोरिरहेको छ, यो टिमलाई गम्भीर रूपमा लिन सकिन्न । हारका लागि यो टिमको निकै खराब जिम्मेवार रहेको छ ।’
उनले थपेका छन्, ‘यी खेलाडीले कहिले पनि सिक्ने छैनन् । त्यति मात्र होइन, यी खेलाडीले कसैको सुन्ने काम पनि गर्दैनन् । तिनीहरू आफैंमा खुसी छन् । अब शृंखलाका बाँकी खेलमा इंग्लिस टिमले राम्रो पुनरागमनको प्रयास गरेर भने खालि पछुतोबाहेक अरू केही हुने छैन । टिमको खराब प्रदर्शनलाई लिएर खालि यति भन्न सक्छौं, यो त बुद्धिहीन ब्याटिङ र बलिङ नै हो ।’
यस्तै पूर्वकप्तान माइकल भनले टिमको खराब प्रदर्शनका लागि केही कडा शब्द चयन गरेका छन् । उनले जुन प्रहारको हार इंग्ल्यान्डले आत्मसात् गरेको छ, यसले खेलाडी मानसिक रूपमा पनि कमजोर हुने बताएका छन् । उनले भनेका छन्, ‘यो हारले इंग्ल्यान्डलाई पक्कै पनि पिरोल्नेछ । अझ यो हारले टिमलाई असाध्यै कमजोर बनाउनेछ । यो टिमले राम्रो प्रदर्शन गर्न सक्ने छैन किनभने यसले बुद्धिमतापूर्ण नीति लिएको छैन ।’
भनले टिमका प्रशिक्षक ब्रेन्डन म्याककलमसामु निकै चुनौती तेर्सिएको पनि बताएका छन् । उनले भने, ‘जति बेला ब्रिसवेनमा दोस्रो टेस्ट सुरु हुनेछ, खेलाडीमा आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न प्रेरित गर्नुपर्नेछ । टिम आफ्नो उद्देश्यमै केन्द्रित हुनुपर्नेछ । ब्रिसवेनको यात्रा गर्दा टिमले पर्थमा बेहोरेको हार त्यहींँ छाडेर जानुपर्नेछ ।’ ब्रिसवेनमा इंग्ल्यान्डको प्रदर्शनको इतिहास भने आफैंमा कमजोर छ ।
दोस्रो विश्वयुद्धयता इंग्ल्यान्ड त्यहाँ दुईपल्ट मात्र विजयी रहेका छन् । अर्का पूर्वकप्तान नासिर हुसेनले भने टिमको समर्थन गर्दै अहिले नै सबैखाले सम्भावना नकार्न मिल्ने बताएका छन् । उनले भनेका छन्, ‘इंग्ल्यान्ड टिमले के बुझ्नुपर्छ भने उनीहरूले राम्रै क्रिकेट खेलिरहेका छन्, अबको खेलमा बढी जिम्मेवारीपूर्ण खेल खेल्नुपर्नेछ । यो पहाड चढ्नेजत्तिकै गाह्रो छ । इंग्लिस खेलाडी यसका लागि सक्षम पनि छन् ।
