आठौं मन्थली नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मन्थली माविलाई

मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा मंसिर ४ देखि ६ गतेसम्म मन्थली माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा ३४ स्वर्ण, २९ रजत र १७ कांस्यसहित जम्मा ८० पदक जित्दै मन्थली मावि उत्कृष्ट विद्यालयका रूपमा उभिएको हो ।

मंसिर ६, २०८२

नवराज श्रेष्ठ

Manthali Secondary School wins the 8th Manthali Municipal President's Running Shield title

What you should know

रामेछाप — आठौं मन्थली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड–२०८२ को उपाधि मन्थली माध्यमिक विद्यालयले जितेको छ । 

मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा मंसिर ४ देखि ६ गतेसम्म मन्थली माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा ३४ स्वर्ण, २९ रजत र १७ कांस्यसहित जम्मा ८० पदक जित्दै मन्थली मावि उत्कृष्ट विद्यालयका रूपमा उभिएको हो ।

त्यसैगरी, ११ स्वर्ण, १४ रजत र १६ कांस्यसहित ४१ पदक जित्न सफल तामाकोशी इङ्ग्लिस बोर्डिङ स्कुल मन्थली दोस्रो स्थानमा रह्यो । ७ स्वर्ण, ३ रजत र ६ कांस्यसहित १६ पदक हात पारेको कर्कलादेवी इङ्ग्लिस बोर्डिङ स्कुल मन्थली तेस्रो बन्यो ।

विजेता मन्थली माविले नगद ४० हजारसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । दोस्रो तामाकोशी बोर्डिङ स्कुलले २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्‍यो भने तेस्रो कर्कलादेवी बोर्डिङ स्कुलले १५ हजार रुपैयाँसहित शिल्ड, ट्रफी र मेडल प्राप्त गर्‍यो । ४ स्वर्ण, ७ रजत र ५ कांस्यसहित १६ पदक जितेको निलकण्ठेश्वर मावि कठजोरले नगद ५ हजारसहित सान्त्वना पुरस्कारमा चित्त बुझायो । ३ स्वर्ण, ५ रजत र ६ कांस्यसहित १४ पदक हात पारेको भैरवी मावि सुनारपानी पाँचौँ स्थानमा रह्यो । 

यसैबीच, सरस्वती मावि (चनखु), शारदा मावि (गेलु), कालीदेवी मावि (फुलासी) र बौद्ध मावि (फुलासी) भने एक पनि पदक जित्न नसकेर खाली हात फर्किए ।

तीन दिनसम्म चलेको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु र करातेसहित विभिन्न खेलमा ६६ स्वर्ण, ६६ रजत र ७९ कांस्य गरी २११ पदकका लागि प्रतिस्पर्धा भएको समिति अध्यक्ष गोपाल माझीले जानकारी दिए । 

विजेता विद्यालयलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार श्रेष्ठलगायतले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully