पहिलो खेलमै लुम्बिनी लायन्सको सान

गत वर्ष चितवन राइनोजविरुद्ध मात्र जित हात पारेको लुम्बिनीले यसपालि चितवनलाई नै हराएर एनपीएल यात्रा थालेको छ।

मंसिर ५, २०८२

कान्तिपुर संवाददाता

Lumbini Lions' pride in the first game

What you should know

काठमाडौँ — लुम्बिनी लायन्स गत सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को पुछारमा थियो । टोलीले लिग चरणका ७ मध्ये १ खेलमात्र जितेको थियो । त्यो एउटै जित लुम्बिनीले चितवन राइनोजविरुद्ध पाएको थियो । 

यस सिजनको एनपीएलमा बिहीबारको खेलमा पनि लुम्बिनीले त्यसैलाई निरन्तरता दियो । रोहित पौडेल र गुलबद्दिन नैबले चौथो विकेटमा ४१ बलभित्र ६० रनको साझेदारी गरेपछि लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गर्‍यो । चितवन त्यही टोली हो, जसले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेर आफ्नो दाबेदारिता प्रस्तुत गरेको थियो । 

लुम्बिनीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १ सय ४३ रनको लक्ष्य ९ बलअगाडि १ सय ४६ रन बनाउँदै पूरा गर्यो । लुम्बिनीले आफ्नो पहिलो खेलमै जित हात पारेको हो । 

रोहितले ४४ बल खेल्दै १ चौका प्रहार गरी ३९ रन बनाए । नैबले ४४ रनको अविजित इनिङ्स खेले । उनले २४ बल खेल्दै समान ३ चौका र छककासहित ४४ रन बनाए । जेजे स्मिट ४ रनमा अविजित रहे । उनले चौका प्रहार गर्दै विजयी रन बटुलेका थिए । चितवनका रिजन ढकालले ३ ओभरमा १७ रन खर्चेर २ र सोहेल तनवीरले १ विकेट लिए । 

रिजनले लुम्बिनीका दुवै ओपनरलाई आउट गरेका हुन् । डी’आर शट समान १ छक्का र चौका प्रहार गर्दै ११ र सन्दीप जोरा १८ बलमा ४ चौका प्रहार गर्दै २८ रनमा आउट भए । दिलीप नाथ तेस्रो रन लिने प्रयासमा १० रनमै रनआउट हुन पुगे ।

‘पहिलो विजय निकै महत्त्वपूर्ण हुन्छ, कुनै पनि प्रतियोगितामा पहिलो खेल जित्दा त्यो प्रतियोगिता नै एकदमै राम्रो हुन्छ जस्तो लाग्छ । त्यसैले आजको खेल हामीलाई एकदमै महत्त्ववूर्ण थियो,’ लुम्बिनीका कप्तान रोहितले भने, ‘यो नतिजा हाम्रो टिम प्रयासमा सम्भव भएको हो । सबैको राम्रो प्रयासमा नै जित निकाल्न सफल भयौं । 

फ्लडलाइटमा चितवनलाई १ सय ४२ रनमै रोकेर हामीले विजय आधार तयार पारेका थियौं ।’ यसअघि रवि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४२ रन बनाएको थियो । बोपाराले ५५ बलमा ६६ रन बनाई चितवनको इनिङ्स तानेका थिए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । बोपारालाई अन्तिम ओभरमा गुलबद्दिन नैबले दिलीप नाथबाट क्याच गराए । 

Lumbini Lions' pride in the first game

चितवनको सुरुआत राम्रो थिएन । पहिलो ओभरमै रुबेन ट्रम्पलमनले डेबिड मलानलाई शून्यमै बोल्ड गरे । देव्रेहाते स्पिनर अभिषेक गौतमले दीपक बोहरालाई १० र देव खनाललाई १४ रनमा आउट गरेपछि चितवन आठौं ओभरमा ४१–३ को स्थितिमा पुग्यो । 

कप्तान कुशल मल्लले १८ बलमा २१ रन बनाए । १२ रनमा शेर मल्लबाट रिटर्न क्याच हुन जोगिएका कुशलले १ छक्का प्रहार गरे । उनी ट्रम्पलमनको दोस्रो सिकार भए । ट्रम्पलमनले सैफ जैबलाई पनि आउट गरे । जैबले ७ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाए । सोहेल तनवीर ५ रनमा आउट भए । ट्रम्पलमनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । नैबले ४ ओभरमा २३ र अभिषेकले ३ ओभरमा १५ रन खर्चेर २–२ विकेट लिए । शुक्रबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।

कान्तिपुर

Link copied successfully