उपलब्धि दिलाउन खारिँदै करातेका एरिका र सानुमाया

इजिप्टको कायरोमा अर्को साता हुने विश्व कराते च्याम्पियनसिपमा एरिका गुरुङ र सानुमाया थिङले सहभागिता जनाउने भएका छन्।

मंसिर ५, २०८२

ध्रुव तुलाधर

Karatekas Erica and Sanumaya are working hard to achieve success

What you should know

काठमाडौँ — नेपाली कराते फेरि एउटा ठूलो उपलब्धिका लागि तयार हुँदै छ । पछिल्लो दुई वर्षयता नेपाली करातेलाई उचाइँमा पुर्‍याएकी एरिका गुरुङ त्यसकै तयारीमा जुटिरहेकी छिन् । एरिकासँगै त्यो उपलब्धि दिलाउन सानुमाया थिङले पनि आफूलाई तयार पार्दै छिन् । 

यी दुई खेलाडीले अर्को साता विश्व कराते च्याम्पियनसिप खेल्दै छन् । इजिप्टको कायरोमा यही नोभेम्बर २७–३० हुने २७ औं संस्करणको विश्व च्याम्पियनसिपमा नेपालबाट एरिका र सानुमायाको सहभागिता रहनेछ । नेपालले पहिलो पटक छनोट प्रतियोगिता खेल्दै विश्व च्याम्पियनसिप खेल्न लागेको हो । एरिका कुमिते र सानुमाया काताकी प्रतिस्पर्धी हुन् ।

एरिका गत महिना फ्रान्सको पेरिसमा सम्पन्न क्वालिफायरमा सिधै छनोट नजिक पुगेकी थिइन् । प्रारम्भिक चरणको तीन फाइट जितेकी एरिकाले अन्तिम १६ को खेल भने अस्ट्रिया लोरा जिलरसँग सुरुआती अग्रता लिएर पनि गुमाएकी थिइन् । त्यो खेल जितेको भए उनी शीर्ष ६ भित्र पर्दै छनोट हुन्थिन् । तर, एरिकाले डल्लूकेएफमा आफूभन्दा माथिल्लो वरीयताकी स्लोभेनियाकी मारिया जिब्रेट जाला, मलेसियाकी मिर्जा अमिरा सुहादा बिन्ती फैजल र ब्राजिलकी ब्रेन्डा पेरेरालाई हराएकी थिइन् । यही प्रदर्शनको मद्दतमा उनले युनिभर्सालिटी कोटामा आफूलाई विश्व च्याम्पियनसिपमा पुर्‍याएकी छन् । 

सानुमायाले भने पेरिसमा क्वालिफायर हुनुअघि नै कन्टिनेन्टल च्याम्पियनसिपमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा कायरो यात्रा पक्का गरिसकेकी थिइन् । उज्वेकिस्तानको तास्कन्दमा मेमा २१ औं एसियन सियिनर कराते च्याम्पियनसिप भएको थियो । त्यसमा सानुमायाले एकल कातामा उत्कृष्ट प्रदर्शन गर्दै पाँचौं स्थान ओगटेकी थिइन् ।

विश्व च्याम्पियनसिपलाई नेपालको तयारी कस्तो छ त ? प्रमुख प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्टभन्दा उत्कृष्ट नतिजा ल्याउने गरी एरिका र सानुमायालाई तयार पारिरहेको बताउँछन् । उनी भन्छन्, ‘विश्व च्याम्पियनसिपलाई भनेर छुट्टै तयारी गरेका थिएनौं । मिसन २०२६ को प्रशिक्षण सुचारु थियो । जापान एसियाडमा हाम्रो जुन लक्ष्य छ, त्यसमा नै सपोर्ट हुने हिसाबले यो च्याम्पियनसिपलाई लिएका छौं ।’

पछिल्लो दुई वर्ष एरिकाले प्राप्त गरेका थुप्रै ऐतिहासिक सफलतामा सारथि बनेका प्रशिक्षक श्रेष्ठ कायरो यात्रा नेपाली करातेका लागि कोसेढुंगा साबित हुने सम्भावना देख्छन् । एरिकाले जुन ‘स्ट्रेन्थ’ मा सफलता प्राप्त गरिरहेकी छन्, त्यसले गर्दा विश्व च्याम्पियनसिपमा प्रशिक्षक श्रेष्ठले अवसर, चुनौती र सम्भावना सबै देखेका छन् ।

उनले त्यसलाई अर्थ्याए, ‘छनोटमार्फत विश्व च्याम्पियनसिप खेल्नु हाम्रो लागि ठूलो अवसर हो, जहाँ विश्वका एकसेएक खेलाडी छानिएर पुग्छन् । उनीहरूसँग खेल्न सजिलो हुनेछैन । त्यसमा चुनौती पनि त्यत्तिकै छ । तर, एरिकाको सम्भावना पनि उत्तिकै बलियो छ । क्वालिफायर, प्रिमियर लिग, सिरिजजस्ता प्रतियोगितामा तिनै खेलाडीमाथि एरिकाले जित हासिल गरिसकेकी छन्, जसले उनको मनोबल उच्च हुनेछ । यसले हाम्रो पदक सम्भावना पनि छ ।’

हाङचाउ एसियाडमा रजत पदक जितेर नेपाली करातेको शिर उच्च गराएकी एरिकासँग अर्को वर्ष हुने एसियाली खेलकुद (नागोया, जापान) बाट स्वर्णको अपेक्षा छ । त्यसैले ‘मिसन २०२६’ नेपाली राष्ट्रिय टिम तयारीको एउटा प्रशिक्षण कडी हो भने करातेका लागि च्याम्पियनसिपहरू खेलाडीलाई एक्सपोजर दिने ठूलो प्लेटफर्म बनिरहेको छ ।

प्रशिक्षक श्रेष्ठ एसियाडका लागि विश्व च्याम्पियनसिप यात्राले ठूलो सहयोग पुग्ने ठान्छन् । ‘विश्वका एकसेएक खेलाडीसँग खेलेर आफूलाई जाँच्ने मौका पाउँछौं । त्यसबाट धेरै कुरामा आफूलाई करेक्सन गर्न पाउँछौं, त्यो हाम्रा लागि सकारात्मक पक्ष हुनेछ । जसले एसियाड तयारीमा थप सहयोग पुग्नेछ । नतिजा त आफ्नो ठाउँमा जित–हारको आउँछ नै । त्योभन्दा ठूलो अवसर हाम्रा लागि एक्सपोजर नै हो,’ प्रशिक्षक श्रेष्ठले भने । उनीसँग आफूले पनि विश्व च्याम्पियनसिप खेलिसकेको अनुभव छ । त्यसैले विश्व च्याम्पियनसिप खेल्नु नेपाली खेलाडीका लागि ठूलो सपना हुने उनको भोगाइ छ । 

विश्व च्याम्पियनसिपमा पुरुष र महिला दुवैको ६–६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । एरिका महिला ६८ केजीमाथि तौलकी प्रतिस्पर्धी हुन् भने सानुमायाले महिला एकल कातामा दाबेदारिता प्रस्तुत गर्नेछिन् । हरेक तौलमा ३२ खेलाडीको सहभागिता रहनेछ । तिनै खेलाडीलाई ८ समूहमा विभाजन गरी ४–४ खेलाडी राखिनेछ । लिग चरणपछि हरेक समूहका शीर्ष दुई खेलाडी अन्तिम १६ मा पुग्नेछन् । त्यसपछि नकआउट चरण हुनेछ ।

एरिका विश्व च्याम्पियनसिपलाई आफ्ना लागि ओलम्पिक सहभागिताको हैसियतमा राख्छिन् । ‘ओलम्पिक खेल्ने हरेक खेलाडीको ड्रिम हुन्छ । त्यो मेरो पनि छ । तर लस एन्जल्स ओलम्पिक २०२८ मा कराते समावेश छैन । त्यसैले मेरो लागि वर्ल्ड च्याम्पियनसिप नै ओलम्पिक हो । वर्ल्डका शीर्ष खेलाडीसँग खेलेर आफ्नो एक्सपोजर बढाउने छु,’ नेपाल कराते महासंघबाट हिमालयन वािरयरकी उपाधि पाएकी एरिकाले आफ्नो लक्ष्य सुनाइन्, ‘त्यहाँ पुगेर सिक्नु पनि हाम्रा लागि ठूलो एचिभमेन्ट हो ।’

‘हाम्रा गुरुहरूले विश्व च्याम्पियनसिप खेलेर जे सिक्नुभयो, आज हामीलाई त्यो अनुभवले ठूलो प्रेरणा मिलिरहेको छ । भोलि हामीले जे सिक्छौं त्यो भावी पुस्ताका लागि हुनेछ, त्यसले यसलाई मैले अवसर र एचिभमेन्टको रूपमा लिएको छु,’ एरिकाले थपिन् ।

Karatekas Erica and Sanumaya are working hard to achieve success

काताकी सानुमाया पनि विश्व च्याम्पियनसिपमा सक्दो राम्रो प्रदर्शन दिएर स्मरणीय बनाउने लक्ष्यमा छिन् । भन्छिन्, ‘खेलाडी जीवनमा आएको यो ठूलो अवसर हो । भोलिका दिनमा यस्तो मौका आउँछ आउँदैन, तर अहिले आएको बेला भरपुर उपयोग गर्दै राम्रो प्रदर्शन दिने छु । जब प्रदर्शन राम्रो हुन्छ, सफलता मिलिहाल्छ । त्यहीं लक्ष्यसाथ तयारी गरिरहेको छु ।’ 

तास्कन्दमा पाँचौं स्थानमा पुगेकी सानुमायासँग पनि अन्तर्राष्ट्रिय पदकहरू जितेको अनुभव छ । उनले नवौं साउथ एसियन कराते च्याम्पियनसिपमा स्वर्ण र रजत, १० औं वर्ल्ड सितोरियो कराते, इन्डोनेसियामा कांस्य र भारतमा भएको कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । उनले काताकै प्रशिक्षक मन्डेकाजी श्रेष्ठबाट आफूलाई पारंगत बनाइरहेकी छन् । मन्डेकाजी १३ औं सागमा काताबाट दोहोरो स्वर्ण जितेका खेलाडी पनि हुन् ।

वर्ल्ड च्याम्पियनसिपलाई सहभागिता जनाउन नेपाल कराते महासंघ र राष्ट्रिय खेलकुद परिषद्ले पूर्ण सहयोग गरेको प्रशिक्षक श्रेष्ठ बताउँछन् । ‘अन्य च्याम्पियनसिप खेल्न जाँदा कति त प्रशिक्षक, खेलाडी आफैंले लगानी गर्नुपर्ने हुन्छ, यसले खेलाडी आर्थिक मारमा पर्छन्, सोचेजस्तो नतिजा दिन सक्दैनन् । यो च्याम्पियनसिपका लागि संघ र परिषद्ले सबै सहयोग गर्ने वचन दिएको छ । त्यसले गर्दा हामी ढुक्क भएर राम्रो नतिजा लागि कायरो यात्रा गर्नेछौं,’ श्रेष्ठले भने । 

एरिकाको पदक जितयात्रा

नेपाल कराते महासंघबाट ‘हिमालयन वारियर’ को उपाधि पाएकी एरिका पछिल्लो दुई वर्षमा नेपाली करातेलाई ऐतिहासिक पदकहरू दिलाएकी खेलाडी हुन् । १९ औं एसियाली खेलकुदमा रजत जितेपछि नेपाली करातेको सान बनेकी एरिकाको इन्डोनेसियाको जकार्तामा १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा जितेको स्वर्ण पहिलो अन्तर्राष्ट्रिय पदक हो । 

त्यसपछि अमेरिकाको टेक्ससमा यूएस ओपन कराते च्याम्पियनसिपमा स्वर्ण र रजत, भुटानको थिम्पूमा आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण, चीनकै भएको २० औं एसियन सिनियर च्याम्पियनसिपमा रजत, सिंगापुरमा १६ औं एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । त्यस्तै युथ लिग दुबईमा रजत, अस्ट्र्र्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण, थाइल्यान्ड ओपनमा स्वर्ण र कांस्य तथा श्रीलंकामा भएको नवौं दक्षिण एसियाली करातेमा स्वर्ण, मलेसियामा डब्लूकेएफ कराते वान, सिरिज ‘ए’ मा स्वर्ण पदक जितेकी थिइन् । 

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully