इंग्लिस प्रिमियर लिगमा आर्सनलले आइतबार आफ्नो उत्तरी लन्डन प्रतिद्वन्द्वी टोटनहमको सामना गर्दै छ ।
What you should know
लन्डन — इंग्लिस प्रिमियर लिगमा आर्सनलले आइतबार आफ्नो उत्तरी लन्डन प्रतिद्वन्द्वी टोटनहमको सामना गर्दै छ र सम्भवतः त्यस खेलमा डिफेन्डर ग्याब्रिएल मागाल्हेस हुने छैनन् । म्यानचेस्टर सिटीले भने शीर्ष स्थानमा रहेको आर्सनललाई पछ्याउने क्रम जारी राख्नेछ । पेप ग्वार्डिओलाको सिटी शनिबार न्युकासल युनाइटेडसँग भिड्दै छ ।
त्यस खेलमा विजयी रहने हो भने सिटीले कम्तीमा २४ घण्टाका लागि आर्सनलसँगको दूरी एक अंकमा छोट्याउन सक्नेछ । डिफेन्डिङ च्याम्पियन लिभरपुललाई भने जित आवश्यक हुनेछ । लिगमा लिभरपुल आफ्ना पछिल्ला ६ खेलमध्ये पाँचमा पराजित छ । रेलिगेसनको चर्को दबाबमा रहेको उल्भस प्रशिक्षक राब एडवार्डसको नेतृत्वमा पहिलो पटक मैदानमा उत्रने छ ।
मागाल्हेस चोटग्रस्त छन् र यसै कारणले टिम छनोटका लागि प्रशिक्षक मिखेल आर्टेटालाई समस्या हुनेछ । पछिल्लो समय ब्राजिली खेलाडी आर्सनलको रक्षापंक्तिको मुख्य खेलाडी रहेका छन् । उनकै नेतृत्वमा आर्सनलले लिगका पछिल्ला ११ खेलमा ५ गोल मात्र खाएको छ । सेनेगलविरुद्धको मैत्रीपूर्ण खेलमा मागाल्हेस घाइते भएका थिए र उनी लामै समय मैदान बाहिर रहनेछन् ।
अहिलेका लागि आर्सनल ४ अंकले शीर्षस्थानमा छ । सन्डरल्यान्डसँग बराबरी खेलेपछि आर्सनल आफ्नो अग्रता बढाउन असफल रहेको हो । यससँगै सबै खाले प्रतियोगितामा आर्सनलको ८ खेलको जित यात्रामा पूर्णविराम लागेको थियो । यही लयमा कायम रहने हो भने आर्सनलले सन् २००३/०४ यता पहिलो पटक लिग उपाधि जित्न सक्नेछ ।
टोटनहमविरुद्ध आफ्नो घरेलु मैदानमा आर्सनलको प्रदर्शन भने उच्च छ । आर्सनल घरमा टोटनहमविरुद्ध अन्तिम पटक सन् १९९३ मा पराजित भएको थियो । अर्कोतर्फ टोटनहम आफैं पनि उत्साही रहनेछ, किनभने यसपल्ट घर बाहिरका खेलमा यो क्लब लयमा छ । टोटनहम घर बाहिरका ५ खेलमध्ये चारमा विजयी छ भने एक बराबरीमा टुंगिएको छ ।
लिभरपुलको भने सम्भवतः उपाधि रक्षा गर्ने अभियान टुटिसकेको छ, किनभने उसले लगातार खराब खेलिरहेको छ । यस्तोमा लिभरपुल शीर्षस्थानबाट आठ अंकको दूरीमा छ । अन्तर्राष्ट्रिय विश्राममा जान अगाडि लिभरपुल सिटीको हातबाट पराजित भएको थियो । यसपल्ट उसले नटिङ्घम फरेस्टको सामना गर्दै छ । गत वर्ष फरेस्टले लिभरपुललाई उसकै घरमा हराएको थियो ।
न्युकासल युनाइटेड भने १४ औं स्थानमा छ र टोलीले यो सिजन तीन जित मात्र निकाल्न सकेको छ । यही न्युकासलले सेन्ट जेम्स पार्कमा सिटीको आतिथ्यता गर्न लागेको हो । खराब लयकै कारण प्रशिक्षक एडी हाउ दबाबमा आइसकेका छन् । उनी के मान्छन् भने टिममा कहाँनिर समस्या छ भन्न गाह्रो छ, तर टिममा सुधार भने अनिवार्य छ ।
हाउको चिन्ताको मुख्य विषय टिमको प्रदर्शनमा उतारचढाव रहेको छ । उनको पद पनि आफैंमा समस्यामा रहेको मानिएको छ, तर युरोपेली च्याम्पियन्स लिगमा न्युकासलको राम्रो प्रदर्शनकै कारण उनी जोगिरहेको मानिएको छ । सिटी भने सन् २०१९ यता न्युकासलविरुद्ध पराजित रहेको छैन् । त्यसैले जितका लागि सिटी बलियो प्रत्याशी रहनेछ ।
