इंग्ल्यान्डले अस्ट्रेलियाली भूमिमा टेस्ट सिरिज नजितेको १५ वर्ष भइसकेको छ । त्यही बेलादेखि इंग्ल्यान्डले अस्ट्रेलियामा एउटै टेस्ट जितेको छैन ।
What you should know
पर्थ — अस्ट्रेलिया र इंग्ल्यान्डले आफूहरूबीचको एसेज सिरिजको पारम्परिक प्रतिद्वन्द्विता शुक्रबार नवीकरण गर्दै छन् । पहिलो टेस्ट पर्थमा हुनेछ । अस्ट्रेलिया चोटग्रस्त खेलाडीका कारण केही कमजोर देखिएको छ । तर मानिएको छ यही टिमले इंग्ल्यान्डलाई अस्ट्रेलियाली भूमिमा अझ बढी चोट दिन सक्नेछ । पाँच टेस्ट सिरिजको पहिलो खेलमा तीव्र गतिले बल ‘बाउन्स’ हुने पिच प्रयोग हुनेछ ।
यो टेस्टलाई लिएर कौतूहल कति धेरै छ भने टिकट सबै एकै क्षणमा बिक्री भएको छ । पाहुना टिमका कप्तान बेन स्टोक्स भने यसबीच भनिरहेका छन्, आफूहरू अस्ट्रेलियासँग डराउनुपर्ने कुनै कारण छैन । भलै, त्यहाँ उनीहरूको प्रदर्शन पछिल्लो समय राम्रो छैन । इंग्ल्यान्डले अस्ट्रेलियाली भूमिमा टेस्ट सिरिज नजितेको १५ वर्ष भइसकेको छ । त्यही बेलादेखि इंग्ल्यान्डले अस्ट्रेलियामा एउटै टेस्ट जितेको छैन ।
त्यसबीच जति खेलिए, इंग्ल्यान्ड १३ टेस्टमा पराजित छ भने बाँकी दुई बराबरीमा सकिएको छ । अस्ट्रेलिया आउनुअघि इंग्ल्यान्ड न्युजिल्यान्डमा थियो । त्यहाँ टोलीलाई एकदिवसीय सिरिजमा न्युजिल्यान्डले ३–० ले हराएको थियो । अस्ट्रेलिया आएयता तयारीमा इंग्ल्यान्डले एउटै तीन दिनको रातो बल क्रिकेट खेलेको छ । त्यसैले अहिले पूरा सिरिजको कार्यक्रममै पनि आलोचना भइरहेको छ ।
कप्तान स्टोक्स मान्छन्, इतिहास जस्तै भए पनि टिम भने यसपल्ट राम्रो सुरुआत लिने उद्देश्यमा रहनेछ । उनले भनेका छन्, ‘आफ्नै घरमा अस्ट्रेलिया जत्तिको बलियो टिम अरू नहोला । त्यसैले मैले भन्नैपर्छ, अबको साढे दुई महिना जतिको समय हाम्रा लागि असाध्यै गाह्रो हुनेछ । यतिबेला यसअघि जति टेस्ट सिरिज भए, अहिले त्यसको खासै अर्थ हुन्न भन्ने लाग्छ ।’
इंग्ल्यान्ड केही उत्साहित हुनु पछाडिको कारण छ, अस्ट्रेलियाली टिमका दुई प्रमुख तीव्र गतिका बलर प्याट कमिन्स र जोस हेजलउड चोटग्रस्त हुनु । उनीहरूले कम्तीमा पहिलो टेस्ट गुमाउने छन्, त्यसैले इंग्ल्यान्डसामु जितविहीन यात्रा रोक्ने अवसर पनि हुनेछ । त्यसैले अस्ट्रेलियाका पूर्व तीव्र बलर मिचेल जोन्सनले ठीकै भनेका छन्, कमिन्स र हेजलउडको अनुपस्थितिमा नयाँ पटकथा लेखिन बेर छैन ।
उनी भन्छन्, ‘यसले अस्ट्रेलियालाई सताउने छ । यसले अस्ट्रेलियाली छनोटकर्तालाई दुविधामा पारेको छ ।’ धन्न इंग्ल्यान्डलाई आफ्नो पहिलो खेल ब्रिसवेनमा खेल्नु छैन, किनभने त्यहाँ यो टिम दोस्रो विश्वयुद्ध पनि जित्न सकेको छैन । गावाले दिवारात्रि दोस्रो टेस्टको आयोजना गर्नेछ । त्यसपछि टेस्ट क्रमशः एडिलेड, मेलबर्न र सिड्नी पुग्नेछ । इंग्ल्यान्ड आफैं राम्रो प्रदर्शनका लागि तीव्र गतिका बलरमा धेरै निर्भर हुनेछ ।
त्यस सूचीका नाम जोफ्रा आर्चर, मार्क उड, गुस एटकिन्सन, ब्रेडन कार्से, म्याथ्यु पोट्स र जस टङ्ग छन् । सोए बासिर मात्र त्यस्ता एक्ला बलर छन्, जसलाई विशेषज्ञ स्पिनरको रूपमा टिममा राखिएको छ । यो एक प्रकारले इंग्ल्ल्यान्डले उठाउन चाहेको जोखिम हो, किनभने उडलाई छाडेर अरूले अस्ट्रेलियामा टेस्ट खेलेका छैनन् । उड आफैं भर्खर चोटमुक्त भएर टिममा फर्केका छन् ।
अस्ट्रेलियाको बलिङ आक्रमणको जिम्मा भने स्टक बोलान्ड र सदाबहार खेलाडी मिचेल स्टार्कले उठाउने छन् । यस्तोमा नथान लियोन स्पिन आक्रमणको विकल्प हुनेछ भने सिमर ब्रेन्डन डोगटेले डेब्युको अवसर पाउन सक्नेछ । अस्ट्रेलियाली कप्तान ग्रेग च्यापलले पत्रिकाको आफ्नो स्तम्भमा लेखिसकेका छन्, यो सिरिजको निर्णय गर्ने भनेका फास्ट बलर नै हो, त्यसमा जो बलियो, त्यसैले जित्नेछ ।’
