सन् २०२२ मा दुई टोलीबीच ढाकामा पहिलो रग्बी सिरिज भएको थियो । भदौ ३० र ३१ गते दशरथ रंगशालामा आयोजना गरिने मिति तय भएको यो सिरिज जेन्जी आन्दोलनका कारण स्थगित भएको थियो ।
What you should know
काठमाडौँ — बंगलादेशको ढाकास्थित रंगशालामा नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय रग्बी सिरिज आयोजना हुने भएको छ । यो मंसिर ७ र ८ गते खेलाइने छ । त्यसका लागि नेपाली टोली बिहीबार ढाका गएको छ ।
सन् २०२२ मा दुई टोलीबीच ढाकामा पहिलो रग्बी सिरिज भएको थियो । भदौ ३० र ३१ गते दशरथ रंगशालामा आयोजना गरिने मिति तय भएको यो सिरिज जेन्जी आन्दोलनका कारण स्थगित भएको थियो । अन्तर्राष्ट्रिय स्तरको रग्बी स्पर्धामा नेपालको राष्ट्रिय फिप्टिन्स तथा सेभेन्स पुरुष रग्बी टिमअर्न्तगत २६ खेलाडी, १ व्यवस्थापक, १ फिजियो र २ रग्बी प्रशिक्षकले सहभागिता जनाउने छन् ।
टोली कप्तान श्रीराम श्रेष्ठ, उप–कप्तान विराट श्रेष्ठ, विवश बासु, विक्रम पुरी, नवीन मर्हजन, कपिल सापकोटा, सरोज कपाली, रोहन डंगोल, सन्दीप राई, गणेश बानियाँ, रोशन बम्जन, नवीनबहादुर मगर, प्रमेश चौधरी, सुरज राना मगर, पुजन फेवाली, मिलन थापा, शेरबहादुर वली, सञ्जय अधिकारी, मोहम्मद इर्शाद हुसैन, अनिल माझी, अनिश श्रेष्ठ, विष्णु खड्का, रमितबहादुर माल, निरोज कार्की, दीपेन्द्र चौधरी र मशेष सुनार छन् । टोलीमा प्रशिक्षक कृष्ण थापा र विनोद तामाङ, देवन थापा (फिजियो) र गोपाल क्षेत्री (टिम व्यवस्थापक) को सहभागिता रहने छ ।
नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय रग्बी सिरिज आयोजना गरी नेपाली टोलीलाई एक्सपोजर दिइरहेको नेपाल रग्बी संघले जनाएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहज हुने गरी रग्बी सेभेन्स र फिप्टिन्समा भाग लिइरहेको संघका महासचिव गोविन्द घिमिरले बताए । बगंलादेशविरुद्धको खेलका लागि नेपाली रग्बी टोलीले कृष्ण थापा र विनोद तामाडबाट प्रशिक्षण लिएका थियो ।
उदयपुर कटहरी नगरपालिकाका २२ वर्षीय नवीनबहादुर मल्लले २०७९ सालदेखि रग्बी खेल्दै आएका छन् । उनी रग्बी सेभेन्स र फिप्टिन्स दुवै विधाबाट खेल्छन् । उनले भने, ‘खेल नबुझेर धेरैले रग्बीलाई नराम्रो भन्ने गर्छन् । जसले गर्दा धेरै स्पोन्सर पनि आउँदैन र सरकारबाट कम बजेट आउँछ ।’
यसपालि जसरी पनि सिरिज जित्नुपर्ने उनी बताउँछन् । ‘यो जितको मौका हामी खेर जान दिने छैनौं, रग्बीको स्तर माथि उठाउन र राष्ट्रलाई मेडल दिन सबै उत्साही छौं,’ उनले अठोट व्यक्त गरे ।
उनले जिल्ला, प्रदेश, यू–१८, यू–२० का प्रतियोगिता खेल्दै आएका छन् । उनी अन्तर्राष्ट्रिय सँगसँगै जिल्ला स्तरबाटै रग्बीको विकास हुनुपर्ने आवश्यकता देख्छन् उनी ।
कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियामा २६ वर्षे प्रमेश चौधरी फिप्टिन्स र सेभेन्स दुवै टीमबाट खेलिरहेका खेलाडी हुन् । दुई वर्षदेखि एपीएफ क्लबसँग आवद्ध छन् । उनले पहिले सेभेन्सबाट एआरएसटी खेले । ‘खेलाडीलाई एक्सपोजर गर्नुपर्छ र अन्य राष्ट्रसँग दुवै विधामा खेल्न पाइयो भने हाम्रो स्तर बढ्छ,’ उनले भने । नेपालमा रग्बी खेल भइरहेका बेलामा मैदान आएर हौसला बढाउन र सपोर्ट गरिदिन उनी समर्थकलाई अनुरोध पनि गर्छन् ।
नेपालीलाई रग्बीसँग परिचित गराउने उद्देश्यले अन्तर्राष्ट्रिय रग्बी सिरिजमा सहभागिता जनाइरहेको महासचिव घिमिरेको तर्क छ । नेपालमा रग्बी राणाकालीन समयदेखि खेल्दै आएको बताइन्छ । तर १२ वर्षदेखि रग्बी विकसित हुँदै आएको छ । पहिले खेलाडी खोज्नुपर्ने अवस्था थियो भने अहिले रग्बी खेल्ने धेरै खेलाडी छन् । नेपाल रग्बी संघले सन् २०२२ देखि बंगलादेश र सन् २०१५ देखि अन्य एसियन राष्ट्रसँग रग्बी प्रतियोगितामा खेलाडीको सहभागिता गराउँदै आएको छ ।
नेपालले बगलादेशसँग सेभेन्सतर्फ दुई प्रतियोगिता खेलेको छ भने फिप्टिन्सतर्फ एक सिरिज खेल खेलेको छ ।
नेपालले सेभेन्स तर्फ सन् २०१५ मा चेन्नई दुई रग्बी खेल खेलेको छ । सन् २०१६ मा सिंगापुरसँग एक र सन् २०१७ मा कतारसँग एक सिरिज खेलेको छ । यी सबै खेलमा नेपाल जितसम्म पुग्न असफल भयो । नेपाल सन् २०२२ मा यू–२० पुरुषतर्फ एक खेल जित्न मात्र सफल भएको थियो ।
सन् २०२३ मा भारतमा नेपाल–भारत–बगलादेशबीच रग्बी फिप्टिन्स भएको थियो । ‘पहिला नेपालमा अनुभवी खेलाडि थिएनन् । तर अहिले हामीले देशभरकै क्लब, जिल्ला र प्रदेशबाट राम्रा खेलाडी छनोट गरेर ल्याएका छौं,’ पूर्व कप्तान तथा प्रशिक्षक कृष्ण थापाले भने, ‘यो खेल शारीरिकसँगै ट्याक्टिकल हिसाबले पनि महत्त्वपूर्ण छ । हामी ट्याक्टिकलमा बंगलादेशभन्दा अगाडि छौं ।’
१० वर्षभित्रमा नेपाल एसियाकै पावर हाउस बन्न सक्ने उनको दाबी छ । ‘पहिला र अहिले रग्बी खेल र खेलाडी आफैमा धेरै विकसित हुँदै आएको छ । दर्शकको मनमा छाउने मानसिकतामा खेलाडीमा छन्,’ उनले भने, ‘नेपालीमा रग्बीको चासो कम देखिन्छ । क्रिकेट र फुटबलको जस्तो रग्बी खेल हेर्ने दर्शक कम छन् । तर हामी रग्बीमा पनि दर्शक आउने बनाउँछौं ।’
नेपाल दुई वर्षअघि एसिया रग्बीको पूर्ण सदस्यता भइसकेको छ । यसले रग्बीको विकास गर्न टेवा पुग्ने विश्वास छ ।
‘रग्बी विकास गर्नलाई मुख्यतः चुनौती मैदानको छ,’ थापाले भने । नेपालले यस सिरिजका लागि तयारी ललितपुरको भेन्पा–१४ मा रहेको एनएसएफ स्पोर्ट कम्प्लेक्स र मध्यपुर थिमिको मैदानमा गरेको थियो । मैदानका साथै बजेट, खेलाडीलाई चोटपटक लाग्दा पाउने सुविधा र सुरक्षाको कमीलाई पूरा गर्न रग्बी संघले सक्रियता देखाइरहेको महासचिव घिमिरेले बताउँछन् । ‘यो खेल फुटबल जस्तै भएकाले बुझ्न धेरै सहज छ । आम मानिससम्म पुर्याउन हाम्रो प्रयास जारी छ,’ घिमिरेले सुनाए ।
- आर्जु सत्याल, प्रशिक्षार्थी
