राष्ट्रिय खेलकुदका ३६ मध्ये २४ खेल कर्णालीमा खेलाउन सकिने गरी पूर्वाधार तयार भइसकेका छन्। ११ खेल अन्य जिल्लामा खेलाउने प्रदेश सरकारको तयारी छ।
What you should know
सुर्खेत — रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ बराहटाकुरास्थित कभर्डहलमा दैनिकजसो ब्याडमिन्टन, कराते, तेक्वान्दोलगायत खेल आयोजना भइरहेको छ । एक वर्षको अवधिमा झन्डै २० वटा जिल्लास्तरीय प्रतियोगिता भइसके । ‘यातायातको सहज पहुॅच, बसोबासको राम्रो व्यवस्था र आधुनिक सुविधासहितको कभर्डहल भएकाले कम्तीमा २–३ वटा राष्ट्रिय प्रतियोगिता यहीं गर्न सकिने अवस्था छ,’ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाले भने, ‘दैनिकजसो अभ्यास खेल भइरहेको छ, खेलाडी पनि राष्ट्रिय खेलकुदका लागि उत्साही छन् ।’
कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्को ७४ लाख, सांसद क्षेत्र विकास कोषको २० लाख, मुसिकोट नगरपालिकाको करिब १० लाख र अन्य संघसंस्थाको गरी झन्डै डेढ करोड लगानी भइसकेको छ । उनका अनुसार सोलार लाइट, विद्युत्, म्याट, कुलरलगायत सुविधासहित कभर्डहलमा दुइटा कोर्ट छ ।
जुम्ला, कालिकोट, दैलेख र सल्यानका कभर्डहलहरूमा पनि दैनिकजसो इन्डोर अभ्यास खेल र प्रशिक्षण भइरहेका छन् । ती कभर्डहलमा दुई वर्षयता प्रदेश सरकारले झन्डै १० करोड रुपैयाॅ खर्च गरिसकेको छ भने स्थानीय तहले पनि साझेदारी गरेको छ । ‘पूर्वाधार अभावमै पनि खेलाडीले प्रशिक्षण छाड्नुपरेको छैन,’ सल्यानका भलिबल खेलाडी रेशम घर्तीले भने, ‘दसौं राष्ट्रिय खेलकुदमा घरेलु मैदानको सदुपयोग गर्दै कर्णालीले राम्रो उपस्थिति जनाउने छ ।’
फागुन पहिलो साता हुने राष्ट्रिय खेलकुदका लागि पूर्वाधार तयारी अवस्थामै रहेको सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखा प्रमुख जवाहरलाल हमाल बताउँछन् । उनका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा पूर्वाधार निर्माण र खेल गतिविधि सञ्चालन गर्न झन्डै २८ करोड रुपैयाॅ विनियोजन गरेको छ । राष्ट्रिय खेलकुदमा ३६ मध्ये २४ खेल कर्णालीमा खेलाउन सकिने अवस्था रहेको उनले बताए । उनका अनुसार १३ खेल सुर्खेतमा र ११ खेल खेल अन्य जिल्लामा खेलाउने प्रदेश सरकारको तयारी रहेको छ ।
‘सुटिङ, साइक्लिङलगायतका १२ खेल लुम्बिनी र सुदूरपश्चिमका रंगशालामा पनि खेलाउन सकिएला,’ उनले भने, ‘सबै जिल्लाहरूमा कभर्डहल तयारी अवस्थामै छन्, तिनलाई सामान्य स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन सकिने छ, जसको काम १–२ महिनामै सकिन्छ ।’
जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका सचिव मनीष खड्काले राष्ट्रिय खेलकुद समयमै नहुॅदा खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्न नपाएको बताए । ‘संघीय सरकारले हेलचेक्र्याइँ गरेर राष्ट्रिय खेलकुद पटक पटक सारिरहेको छ, अब विनासर्त फागुनमै राष्ट्रिय खेलकुद हुनुपर्छ,’ उनले भने, ‘यहाँका मेलापर्वमा पनि भलिबल, क्रिकेट, फुटबल प्रतियोगिता सञ्चालन हुँदा खेलाडी उत्साही छन्, खेलाडीको उत्साह र नियमित अभ्यासका कारण कर्णालीले यसपालि राम्रो नतिजा हात पार्ने आस छ ।’
चौरजहारी, धैरेनीचौर र पानढुंगा रंगशाला बजेट अभावका कारण अलपत्र हुॅदा क्रिकेट र फुटबलका खेलाडी भने अभ्यास गर्नबाट वञ्चित भएको उनको गुनासो थियो । उनका अनुसार पछिल्लो समय पूर्वाधार अभावमै पनि दुर्गमबाट पनि प्रतिभावान खेलाडी उत्पादन भइरहेको छ् । रुकुम पश्चिमका अर्जुन घर्ती क्रिकेटको राष्ट्रिय टिममा छन् भने अरविन घर्ती यू–१९ को क्लोज क्याम्पमा बसिसकेका छन् । अर्जुन कर्णालीका इमर्जिङ खेलाडी हुन् ।
दसौं राष्ट्रिय खेलकुदको मुख्य स्थल कर्णाली प्रदेश रंगशाला पनि प्रतियोगिता सञ्चालनका लागि तयारी अवस्थामा रहेको सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालले बताए । उनका अनुसार करिब ९९ प्रतिशत पूरा भइसकेको रंगशालामा १० हजार दर्शक अट्नेछन् भने ‘फिफा मापदण्ड’ अनुसार निर्माण गरिएको फुटबल मैदान छ । अरू १६ खेल खेलाउन सकिनेछ । भीभीआईपी र भीआईपी प्यारापिटमा ४ हजार दर्शक बसेर हेर्न मिल्नेगरी रंगशाला बनाइएको उनले बताए । ‘अब सामान्य मर्मतसम्भार र सरसफाइको काम मात्र बाॅकी भएकाले एक महिनाभित्र रंगशाला हस्तान्तरण हुन्छ,’ उनले भने, ‘अहिले दसौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधारतर्फ आयोजक प्रदेशका तर्फबाट गर्नुपर्ने तयारी पूरा भइसकेको छ ।’
प्रदेश रंगशालामा एथलेटिक्सका लागि ८ लेनको ४ सय मिटर ट्र्याक निर्माण भएको छ । स्वीमिङ पुल बनिसकेको छ भने बास्केटबल, भलिबललगायतका खेलका लागि आउटडोर र इन्डोर कोर्ट बनाइएको छ । रंगशाला परिसरको कभर्डहलमा पनि झन्डै १ हजार दर्शक अट्ने सुविधा छ । उनका अनुसार बक्सिङ, तेक्वान्दो, उसु, कराते, ब्याडमिन्टनलगायत खेल पनि कभर्डहलमा सञ्चालन गर्न सकिन्छ ।
९ बिगाह क्षेत्रफलमा फैलिएको रंगशालाको २०७८ मंसिरदेखि निर्माण थालिएको थियो । अहिलेसम्म झन्डै डेढ अर्व रुपैयाॅ खर्च भइसकेको रंगशालाका लागि एक अर्ब ५९ करोड ४७ लाख रुपैयाॅमा एमएसीजीएसएल जेभीले सम्झौता गरेको हो । अब ठेकेदार कम्पनीलाई करिब ९ करोड रुपैयाॅ भुक्तानी गर्न बाॅकी छ । जसका लागि साढे ९ करोड रुपैयाॅ विनियोजन गरिएको छ ।
सुर्खेतमा चिसापानी फुटबल मैदान, कालुंगचोक रग्बी मैदान र प्रदेश रंगशाखा परिसरको क्रिकेट मैदानको निर्माण पनि सकिएको छ । ती पूर्वाधारका लागि प्रदेश सरकारले झन्डै ४ करोड रुपैयाॅ लगानी गरेको छ । हुम्लामा करिब ७१ करोड रुपैयाॅमा हक्की मैदानको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय खेलकुदका लागि आयोजक प्रदेशका तर्फबाट पूर्वाधारसहित बसोबास, स्वास्थ्य, सुरक्षा र स्थानीय यातायातको व्यवस्थापन गर्न तयारी अवस्थामै रहेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । उनका अनुसार वीरेन्द्रनगरका होटलहरूमा दैनिक ३ हजार ५ सयको हाराहारीमा खेलाडीको बसोबासको व्यवस्थापन गर्न सकिन्छ भने राष्ट्रिय खेलकुदलक्षित गर्दै प्रदेश सरकारले रंगशाला र खेलमैदान आसपासमा सडकलगायत पूर्वाधारमा झन्डै २५ करोड रुपैयाॅ लगानी गरिसकेको छ ।
