माङ्गेना कप मंसिर १३ देखि

चासोक तङनाम (न्वागी खाने पर्व)को अवसर पारेर प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष विशाल लिम्बूले बताए । प्रतियोगिता मंसिर १८ सम्म चल्ने छ ।

मंसिर ३, २०८२

आनन्द गौतम

ताप्लेजुङ — मेरिङदेन गाउँपालिका-५ थुकिमामा मंसिर १३ गतेदेखि साङ्धुङ्गे माङ्गेना कप फुटबल प्रतियोगिता हुँदैछ ।  

चासोक तङनाम (न्वागी खाने पर्व)को अवसर पारेर प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष विशाल लिम्बूले बताए । प्रतियोगिता मंसिर १८ सम्म चल्ने छ । 

प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  

प्रतियोगितामा ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खेलप्रेमीबाट संकलित रकम र स्थानीय सरकारको सहयोगमा प्रतियोगिता सञ्चालन गर्ने तयारी रहेको आयोजकले बताएका छन् ।  

प्रतियोगितामा १५  टिमको सहभागिता रहने छ । मंसिर ११ गते साँझ ५ बजे खेल तालिका सार्वजनिक गर्ने आयोजकले जानकारी दिए । 

ऐतिहासिक र सांस्कृतिक रुपले महत्त्वपूर्ण साङ्धुङ्गे क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्थानीय लोकेश लोङ्वा लिम्बूले बताए । लिम्बू किम्बदन्तीअनुसार साङ्धुङ्गे भन्ने व्यक्ति मेरिङेदेन आएपछि अहिलेसम्म १२ वटा लिम्बू थर पुगेका छन् । थुकिमा क्षेत्रमा रहेका लिम्बू समुदायका १२ थरगत समुदायले आफूहरुलााई साङ्धुङ्गेका सन्तानको रुपमा लिने गरेको उनको भनाइ छ । 

लिम्बू समुदायको माङ्गेना यकमा भेला भएर पूजा गर्ने स्थलको रुपमा समेत साङ्धुङ्गे क्षेत्र परिचित छ । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully