एसिया कप छनोट फुटबलको तेस्रो चरणमा नेपालले मंगलबार मलेसियाको सामना गर्नेछ ।
What you should know
काठमाडौँ — जतिबेला यस्तो खेलको समय जुर्छ, नेपाली फुटबललाई मन दुख्ने गर्छ । एसिया कप छनोट फुटबलको तेस्रो चरणमा नेपालले मंगलबार मलेसियाको सामना गर्नेछ ।
खासमा यो नेपालमा हुनुपर्ने खेल हो, अझ ठ्याक्कैभन्दा दशरथ रंगशालामा । तर, यही खेल मलेसियामा भइरहेको छ, क्वालालम्पुरस्थित बुकिट जलिल नेसनल स्टेडियममा । यस्तोमा नेपालले घरेलु भूमिमा खेलेर लिन पाउने फाइदा गुमाएको छ ।
मलेसिया भने नेपालको घरमै सामना गर्न पाउँदा खुसी रहनेछ । त्यसमाथि मलेसिया समूह ‘एफ’ को शीर्षस्थानमा छ । टोली चार खेलमध्ये सबैमा विजयी रहेर १२ अंकसहित आरामले पहिलो स्थानमा छ । मलेसियाले नेपालविरुद्धको खेल जित्ने हो भने टोलीको अबको एसिया कपमा छनोट हुने सम्भावना थप बलियो हुनेछ । यो समूहमा भियतनाम ९ अंकसहित दोस्रोमा छ भने लाओस ३ अंक लिएर तेस्रोमा छ ।
नेपाल र लाओसको छनोट हुने सम्भावना समाप्त सकिसकेको छ । नेपाल भने अंकविहीन रहेर अन्तिम स्थानमा छ । ४ खेलमध्ये सबैमा लगातार हार । यो छनोटमा नेपालको प्रदर्शन अहिलेसम्म निराशाजनक छ । तर यही बेला नेपाल अलिकति उत्साही पनि रहनेछ, किनभने नेपाललाई यो खेलमा गुमाउने केही छैन, त्यसैले कम्तीमा एक अंकका लागि मज्जाले खेल्न सक्छ ।
त्यसमाथि बंगलादेशविरुद्धको पछिल्लो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले २–२ को बराबरी नतिजा निकालेको छ, त्यो उत्साहपूर्ण छ । ढाकास्थित नेसनल स्टेडियममा भएको खेलमा नेपालको प्रदर्शन बंगलादेशविरुद्ध कुनै पनि समय कमजोर रहेन । नेपालका लागि त्यो खेलमा सुरुमा रोहित चन्दले गोल गरे भने खेलको अन्त्यतिर अनन्त तामाङले बराबरी गोल थपेका थिए ।
बंगलादेशको तुलनामा मलेसिया फरक प्रतिद्वन्द्वी रहनेछ । यद्यपि मलेसियाली राष्ट्रिय टिम पनि एक प्रकारले समस्याबाट गुज्रिरहेको छ । भलै, टोलीले लगातार जित निकालेको छ । मलेसियाली फुटबल संघमाथि विदेशी मूलका खेलाडी खेलाएको आरोप छ । यसैलाई लिएर कारवाहीको कानुनी प्रक्रिया चलिरहेको छ । त्यसै कारण मलेसियाले यसपल्ट नेपालविरुद्ध ती विदेशी मूलका मानिएका सात खेलाडी खेलाउन पाउने छैन ।
त्यो तथ्यलाई नेपाली कप्तान किरण लिम्बूले राम्रोसँग बुझेका छन् । उनले खेलअघि सोमबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा भने, ‘पछिल्लो पटक मलेसियाली टिम बलियो थियो, किनभने त्यसमा सात त्यस्ता खेलाडी थिए । तर मलाई के लाग्दैन भने तिनीहरूको अनुपस्थितिमा टिम एकैपल्ट कमजोर भएको छ ।’ उनले मलेसियाली लिग आफैंमा उत्कृष्ट रहेकाले त्यसको प्रभाव राष्ट्रिय टिममा पनि पर्ने बताए ।
किरणले थपे, ‘यसअघि मलेसियाविरुद्धको खेलमा गरे जस्तो भुल अब गर्ने छैनौं ।’ बंगलादेशविरुद्धको बराबरीमा प्रशिक्षकका रूपमा नेपाली फुटबल ‘लिजेन्ड’ हरि खड्काले डेब्यु गरेका थिए । उनलाई धेरै हदसम्म त्यो सकारात्मक नतिजाको श्रेय जानेछ । उनले प्रि–म्याच कन्फ्रेन्समा नेपाली टिमले सकारात्मक रहेर खेल्ने बताए र मलेसियाविरुद्ध बलियो चुनौती पेस गर्ने दाबी गरे ।
मलेसियाविरुद्ध नेपालको प्रदर्शन भने अहिलेसम्म राम्रो रहेको छैन । अहिलेसम्म ६ खेल भएकोमा नेपालले एक बराबरी नतिजा निकालेको छ । १९८५ मा विश्वकप छनोटमा नेपालले दशरथ रंगशालामा मलेसियालाई गोलरहित बराबरीमा रोकेको थियो । त्यसयताका ५ खेलमा नेपाल पराजित छ ।
