‘पोखरा इन्डुरो रेस’ मा स्वदेशी खेलाडीलाई सफलता

जर्मनी, सिंगापुर, अस्ट्रेलिया, युके, श्रीलंका, ओमन, अमेरिका र नेपालका खेलाडी सहभागी प्रतियोगितामा सबैले ६ वटै ट्रेलमा प्रतिस्पर्धा गरेका थिए ।

कार्तिक २९, २०८२

कान्तिपुर संवाददाता

Success for local athletes in the 'Pokhara Enduro Race'

What you should know

पोखरा — तेस्रो संस्करणको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ मा स्वेदशी खेलाडीले वर्चश्व जमाएका छन् । पोखरामा तीन दिनसम्म चलेको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

पोखरा महानगरपालिका–१३ स्थित आर्बा विजयडाँडामा भएको प्रतियोगितामा ८ देशका ४५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार प्रतियोगिता ६ वटा ट्रेलमार्फत ५ किलोमिटर ३ सय ६३ मिटर दूरीमा ६ विधामा सञ्चालन गरिएको थियो  । मास्टर्स ‘ए’ (३०–३९ वर्ष) विधामा नेपालका राजन भण्डारीले १४ मिनेट ५ मिलिसेकेन्डमा दूरी पार गर्दै पहिलो भए । अस्ट्रेलियाका स्टेफन विलियम्स १५ मिनेट ५९ सेकेन्ड ८१ मिलिसेकेन्डमा दोस्रो भएका थिए भने नेपालकै मुनेश घले १६ मिनेट २६ सेकेन्ड ५२ मिलिसेकेन्डमा तेस्रो बने ।

मास्टर्स ‘बी’ मा पनि नेपाली खेलाडीले अग्रता जमाए । नेपालका शक्ति गुन्सेकरले १६ मिनेट १७ सेकेन्ड ३७ मिलिसेकेन्डमा दूरी पार गर्दै पहिलो बने । उक्त विधामा १६ मिनेट ५० सेकेन्ड ४६ मिलिसेकेन्डमा रवि कार्की दोस्रो भए भने १७ मिनेट ३० सेकेन्ड ३७ मिलिसेकेन्डमा दूरी पूरा गरेका प्रयास तामाङ तेस्रो बन्न सफल भए ।

जुनियर विधामा प्रसन्न महर्जनले १५ मिनेट ४९ सेकेन्ड २० मिलिसेकेन्डमा दूरी पार गर्दै पहिलो स्थान हासिल गरे । दिप्सन थापा १५ मिनेट ५० सेकेन्ड ३५ मिलिसेकेन्डसहित दोस्रो र स्वप्निल रायमाझी १६ मिनेट ५८ सेकेन्ड ८५ मिलिसेकेन्डसहित तेस्रो भए ।

खुला महिला विधामा लक्ष्मी मगरले २० मिनेट १ सेकेन्ड ८० मिलिसेकेन्डमा दूरी पार गर्दै जित हात पारिन् । कृपा डंगोल २० मिनेट १५ सेकेन्ड ४० मिलिसेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थानमा रहिन् । इलिट पुरुषतर्फ हिकमत विकले १३ मिनेट ९ सेकेन्ड ७४ मिलिसेकेन्डमा रेस जिते । तेन्जिङ गुरुङ १३ मिनेट ५८ सेकेन्ड ५६ मिलिसेकेन्डसहित दोस्रो र अनिल विक १४ मिनेट २९ सेकेन्ड १६ मिलिसेकेन्डसहित तेस्रो बने ।

५० वर्षमाथिको भेट्रान्स विधामा थाइल्यान्डका मार्क डटी १३ मिनेट ५५ सेकेन्ड १८ मिलिसेकेन्डमा दूरी पार गर्दै विजेता भए । नेपालका मिंगुर दोर्जे शेर्पा १७ मिनेट २२ सेकेन्ड ७५ मिलिसेकेन्डमा दोस्रो र अनिल बास्कोटा १८ मिनेट ५६ सेकेन्ड १८ मिलिसेकेन्डमा तेस्रो भए ।

जर्मनी, सिंगापुर, अस्ट्रेलिया, युके, श्रीलंका, ओमन, अमेरिका र नेपालका खेलाडी सहभागी प्रतियोगितामा सबैले  ६ वटै ट्रेलमा प्रतिस्पर्धा गरेका थिए । समुद्री सतहबाट १ हजार ३ सय ६० मिटरको उचाइमा रहेको आर्बाविजयडाँडामा डन टिल डस्कले सन् २०२० देखि संरचना निर्माण गर्दै प्रतियोगिता आयोजना गर्दै आएको छ । २०८० र २०८१ मा सफलतापूर्वक सम्पन्न भइसकेको यो इन्डुरो रेसले विश्वभरका माउन्टेन बाइक प्रेमीलाई आकर्षित गर्दै नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

कान्तिपुर

Link copied successfully