नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाउने गरेर खेलतालिका आइतबार सार्वजनिक गरिसकेको छ ।
What you should know
काठमाडौँ — २०८१ साल असारमा केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले गरेको पहिलो निर्णय थियो, ‘३ सय दिनभित्र त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दर्शक बस्न मिल्ने प्यारापिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट जडान गर्नेलगायत आवश्यक संचरना बनाउने ।’
सम्झौताअनुसार काम भएको भए वैशाख २४ गते सबै काम सकिएर रातिमा पनि खेल खेलाउन मिल्ने व्यवस्थित संरचना बनिसकेको हुन्थ्यो । तर, समयमा काम नसकिएपछि पटकपटक म्याद थप हुँदा समेत रंगशालामा पुनर्निर्माणको काम सकिएको छैन । केही दिनअघि प्यारापिटको काम सकिए पनि फ्लडलाइटको काम अझै बाँकी छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाउने गरेर खेलतालिका आइतबार सार्वजनिक गरिसकेको छ । तीन दिनपछि मंसिर १ देखि एनपीएल हुँदै छ । तर, फ्लडलाइटको काम सकिने कुरा अनिश्चित बन्दै गएको छ । यसै विषयमा केन्द्रित रहेर कान्तिपुर दैनिका विवेक पोख्रेलले निर्माण कम्पनी विशन–ईश्वरी जोइन्ट भेन्चर ललितपुरका प्रोजेक्ट म्यानेजर सौरभ शाहसँग गरेको कुराकानीको अंश :
एनपीएल हुन ३ दिनमात्र बाँकी हुदा पनि फ्लडलाइट जडान कार्य पूरा भएको छैन । हालसम्म कति प्रतिशत काम सम्पन्न भएको हो ?
एउटा पोलमा बत्ती हाल्ने काम हुँदै छ । बत्ती जडानको काम मुख्य थियो । जुन सकिने चरणमा छ । र, त्यसपछि ‘एमिङ’ र लाइटको म्यानेजमेन्ट गर्ने काम हुन्छ । अहिलेसम्म बत्ती जडानको काम ७० प्रतिशत अनि एमिङ र लाइट म्यानेजमेन्ट गर्ने काम ३० प्रतिशत भनेर छुट्याइएको छ ।
त्यसमध्ये बत्ती जडानको काम करिब करिब सकिएको छ । बत्ती जडानसँगै प्यानल हाल्ने, अर्थिङ र केबलका कामहरू पनि सकिँदै छ । हामीले छ वटै पोलमा भएका ४२० वटा लाइटमध्ये कुनको प्रकाश कहाँ पर्छ भनेर मैदानभर नै स–साना झण्डाको चिन्ह बनाएर एमिङको काम हुँदै छ । चारवटा पोलमा बत्तीको एमिङको काम सकिएको छ । अब दुईटा पोलमा एमिङको काम बाँकी छ । बत्ती हाल्नेबित्तिकै बाँकी दुई पोलको एमिङको काम पनि सकिन्छ । अहिलेको अवस्थामा ८५ प्रतिशतभन्दा बढी काम भएको भन्न मिल्छ । अब १५ प्रतिशत जति बाँकी छ । पोलमा चढेर गर्नुपर्ने जोखिमको काम छ ।
तपाईंहरूले काम सक्नु हुन्छ त ? रातिमै एनपीएलका खेल खेलाउन सकिन्छ ?
हाम्रो काम ढिला भएको हो । ढिलो हुनुका कारण धेरै छन् । दबाबमै भए पनि सक्ने भनेर काम गरिरहेका छौं । जसरी हुन्छ, काम सक्छौं । टेस्टिङका लागि थोरै समय भए सजिलो हुन्थ्यो भन्ने हो । तर यति छोटो अवधिमा पनि काम सक्छौं भनेर लागेका छौं । यो लाइट अरू स्टुडियोमा प्रयोग भएको जस्तो लाइट हैन । एसियाकै सबैभन्दा राम्रो बत्तीमध्ये पर्छ । युरोपबाट आएको हो । १–२ वटा पोलका बत्ती बल्दा पनि यसको उज्यालो बढी छ । हामीले तिहारमा यसको प्रकाश क्षमता हेरेका थियौं । हामीले यहींका लागि भनेर बनाइएको डिजाइन हो ।
यदि बत्ती जोड्ने र एमिङको काम सकिएन भने पनि राति खेलाउन मिल्ने वैकल्पिक व्यवस्था तपाईंको टिमले दिन सक्छ ?
खेलभन्दा २ दिनअघि एनपीएलकै लागि बत्ती बाल्ने तयारीमा हामी छौं । अरू देशहरूमा पनि हामी देख्छौं केही कारणले बत्तीले काम गरेन भने के गर्ने ? भन्ने विकल्प हुन्छ । कुनै समस्या आयो भने दिउँसो खेल गर्नुपर्छ । तर, हामीले त्यो सोचेका छैनौं । त्यस्तो होला जस्तो लाग्दैन । त्यो अवस्था नआओस् भनेर हामी काम गरिरहेका छौं ।
सम्झौताअनुसार काम सम्पन्न नहुँदा पटक–पटक म्याद थपिएको छ अनि अहिले समय भएन भनेर भन्न मिल्छ र ?
दुई पटक म्याद थप भएको थियो । हामीसँग सम्झौताअनुसार भएको समय अवधि नै थोरै थियो । म त्यतातिर जान्नँ । तर, यो काम नेपालमा पहिलो पटक हुँदै थियो । सबै काम अन्तर्राष्ट्रिय स्तरअनुसार गर्ने भनिएको थियो । त्यो स्तर पूरा गर्न हामीले सामानहरू बाहिरबाट ल्याउनुपर्ने, त्यसको दर्ता, टेस्टिङ गर्नुपर्ने ।
हाम्रो समय फिल्डमा भन्दा त्यता धेरै खर्च भयो । फ्लडलाइट राख्ने पोलको डिजाइन नै परिवर्तन गरियो । युरोपबाट आउनुपर्ने लाइटिङका सामग्री आउन ढिला भयो । डिजाइनको परिवर्तन, बर्खासँगै पहिलो प्रस्तावित फ्लडलाइटले स्वीकृति नपाएकाले नयाँ प्रक्रियामा जाँदा ढिलो भएको सत्य हो । यो सबैलाई थाह छ । हामीलाई यस्तो बेलामा सरकारले नै बुझेर समय पर्याप्ट दिनुपर्थ्यो ।
अहिले एनपीएलमा फ्लडलाइट कसरी बल्ने बनाउने भन्ने हो । हाम्रो टोली लागेको छ । भारतबाट पनि टेक्निसियन र यससम्बन्धी इन्जिनियरहरू ल्याएर काम गराएका छौं । कम्पनीबाटै पनि मानिसहरू आएका छन् । नियमित कामदारहरूसहित डेढ सय मानिस सिफ्टअनुसार लागेका छौं ।
अहिले आम क्रिकेटप्रेमी फ्लडलाइटमा एनपीएल हेर्न पाउने भनेर उत्साही छन् । वर्तमान अवस्थाबारे उहाँहरूलाई तपाईं कसरी आश्वस्त पार्नुहुन्छ ?
सबै नेपाली जनता बुझ्ने हुनुहुन्छ । कुनै प्रकारको रोकावट आओस् भन्ने कसैको चाहाना हुँदैन । नेपालमा पहिलो पटक रातिमा क्रिकेट खेल हुन लागेको छ । केही समस्या आए उहाँहरूले बुझ्नुहुन्छ भन्ने लाग्छ । मैदानमै आएर पनि कोहीले सोध्नुहुन्छ । हामी फ्लडलाइट बाल्न लागिरहेका छौं । सबैले देख्नुभएको नै छ । काम गर्दागर्दै भएन भने केही विकल्प निस्केला नि ।
भनेपछि फ्लडलाइट बाल्न सकिन्न कि भन्ने डर र चिन्ता तपाईंको टिममा छ ?
यो समयमा त्यतातिर सोच्ने नै हैन । काम गर्नेतर्फ फोकस छ हाम्रो टिम । कुनै कारणले भएन भने त्यसको पनि समधान हुन्छ । अहिले चाहिँ बाँकी काम कसरी सक्ने भन्नेतिर ध्यान छ । अहिले काम कसरी छिटो सक्ने र फ्लडलाइटमा कसरी खेल गराउन सकिन्छ भन्नेतर्फ मात्र ध्यान केन्द्रित छ ।
तपाईंहरूले बाल्ने फ्लडलाइटमा विद्युत कहाँबाट ल्याउनु हुन्छ ?
सम्झौतामा हामीले ७५० केभीएको दुईटा जेनेरेटर राख्नुपर्ने छ । यहाँ नेपाल विद्युत प्राधिकरणको क्षमताअनुसार विद्युत लाइन छैन भन्ने सुनेको छु । एउटा पोलमा ७० वटा बत्तीमध्ये एउटा बत्ती १६ सय वाटको छ । हामीले ६ वटा पोलमा फ्लडलाइट जडान गरेका छौं । सबै पोलमा गरी ४२० लाइट जडान हुने भयो ।
सबै बत्ती बल्दा ६ मेघाहर्ज जति बिजुली खपत हुन्छ । यो भनेको सानो सहरमा खपत हुने जति बत्ती हो । प्राधिकरणका डेडिकेटेड लाइन पनि यहाँ छैन । त्यही पनि नियमित बत्तीमा समस्या हुनसक्छ । विद्युत जोड्ने नजोड्ने भन्ने कुरा नेपाल क्रिकेट संघ (क्यान) र विद्युत प्राधिकरणको हो ।
