बंगलादेशसँग नेपालको रोमाञ्चक बराबरी

खेल आफैंमा रोमाञ्चक बन्यो, बराबरीमा नतिजामा दुवै टिमलाई कुनै गुनासो हुने छैन । नेपाललाई सन्तोष के तथ्यमा रहनेछ भने बंगलादेशविरुद्ध पछिल्ला ७ खेलमा अपराजित छ । प्रशिक्षकका रूपमा हरि खड्काले यस खेलसँगै डेब्यु गरे ।

कार्तिक २८, २०८२

हिमेश

Nepal's thrilling draw with Bangladesh

What you should know

काठमाडौँ — अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल कस्तो हुनुपर्छ, त्यो ठ्याक्कै नमुनाका रूपमा बंगलादेश र नेपालबीच बिहीबार भएको खेलमा देखियो । ढाकास्थित नेसनल स्टेडियममा भएको खेलमा नेपालले सुरुमा अग्रता लियो । त्यसपछि बंगलादेश खेलमा फर्कंदै अगाडि रह्यो । 

दोस्रो हाफको इन्ज्युरी समयमा नेपाल फेरि खेल बराबरीमा टुंग्याउन सफल रह्यो । यसबीच खेल आफैंमा रोमाञ्चक बन्यो, बराबरीमा नतिजामा दुवै टिमलाई कुनै गुनासो हुने छैन । नेपाललाई सन्तोष के तथ्यमा रहनेछ भने बंगलादेशविरुद्ध पछिल्ला ७ खेलमा अपराजित छ । प्रशिक्षकका रूपमा हरि खड्काले यस खेलसँग डेब्यु गरे । उनको नेतृत्वमा नेपालले पस्केको खेल धेरै हदसम्म सकारात्मक खेल खेलेको थियो र बराबरीका नतिजाका लागि हरिको रणनीतिले काम गरेको देखियो । नेपालले एक गोलले पछाडि रहेको स्थितिमा पनि चुप लागेर बसेन, आक्रमण बुनिरह्यो । 

त्यसकै प्रतिफल हो, दोस्रो हाफको इन्ज्युरी समयमा अनन्त तामाङले ‘फ्लिक’ गर्दै उत्कृष्ट गोल गरे । यसले बंगलादेशी समर्थकहरू एक प्रकारले स्तब्ध जस्तै देखिए । नत्र बंगलादेश जिततर्फ अग्रसर देखिएको थियो र सबै हाम्जा चौधरीको प्रशंसा गर्नमा व्यस्त थिए । इंग्ल्यान्डमा लेस्टर सिटीका लागि खेलिरहेका यी बंगलादेशी खेलाडीले दोस्रो हाफमा ४ मिनेट अन्तरमा दुई गोल गरेका थिए । 

एक गोलले पछाडि रहेको स्थितिबाट बंगलादेशले अग्रता लिएको थियो । हाम्जाले ४६ औं मिनेटमा ‘ओभर हेड बाइसाइकल किक’ को मदतमा आकर्षक गोल गरे । यो गोलबाट उनी कति उम्दा खेलाडी हुन् भने प्रस्ट भएको छ । उनले लेस्टरका लागि इंग्लिस प्रिमियर लिगमा पनि खेले । अहिले भने लेस्टर दोस्रो डिभिजनको च्याम्पियनसिपमा छ । 

Nepal's thrilling draw with Bangladeshपहिलो गोललगत्तै बंगलादेशले पेनाल्टी प्रहारको अवसर पायो । त्यसलाई हाम्जाले नै ५० औं मिनेटमा गोलमा परिणत गरे । सुमन श्रेष्ठले राकिब हुसेनलाई पेनाल्टी एरियामा लडाएकामा श्रीलंकाली रेफ्री कसुन लकमलको पेनाल्टीको निर्णय धेरै हदसम्म कमजोर रह्यो । यसअघि नेपालले रोहित चन्दको गोलबाट २९ औं मिनेटमा अग्रता लिएको थियो । रोहितले नेपालका लागि दोस्रो अन्तर्राष्ट्रिय गोल गरेका हुन् । यसअघि उनले सन् २०२४ मा अफगानिस्तानविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका थिए । 

अनन्तले भने नेपालका लागि चौथो गोल गरेका छन् । नेपालका लागि कप्तान तथा गोलरक्षक किरण लिम्बूले पनि केही आकर्षक बचाउ गरे । नेपालले बंगलादेशविरुद्धका पछिल्ला ७ खेलमध्ये दुई प्रतिस्पर्धा जितेको छ भने बाँकी ५ खेल बराबरीमा टुंगिएको छ । पछिल्लो पटक तीन महिना अगाडि नेपाल र बंगलादेश दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भिड्दा खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

हिमेश

Link copied successfully