एन्फा प्रेसिडेन्ट लिग : बाराको नव जागृति र सुर्खेतको काँक्रेविहार राष्ट्रिय लिगमा छनोट

हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन्।

कार्तिक २८, २०८२

प्रताप विष्ट

ANFA President's League: Bara's Nava Jagriti and Surkhet's Kankre Bihar qualify for the National League

What you should know

हेटौंडा — बाराको नव जागृति युवा क्लब र सुर्खेतको काँक्रेविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन्।

लिगमा दुवै टोली समान १०–१० अंकसहित सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार समूह चरणको अन्तिम खेलमा नव जागृतिले तनहुँको हैरान्स क्लबलाई ७–२ फराकिलो गोल अन्तरले हरायो। जागृतिका लागि सुजन डंगोलले हृयाट्रिक गरे। उनले ५१ औं, ५६ औं र ६० औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरे। जागृतिका लागि अविनाश स्याङ्तानले ५१ औं र कृपकन्त महतो थारुले ९२ औं मिनेटमा गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको हो । हैरान्सका विजय दोङले ४० औं मिनेटमा र सामुयल सुनारले ६२ औं मिनेटमा एक–एक गोल गरे। प्लेयर अफ दि म्याच जागृतिका लागि हृयाट्रिक गर्ने डंगोल घोषित भए। 

यसैगरी दोस्रो खेलमा काँक्रेविहारले उदयपुरको गाईघाट फुटबल क्लबलाई ५–३ गोलले हरायो। काँक्रेविहारका लागि अनिष घर्ती क्षेत्रीले हृयाट्रिक गरे। उनले खेलको ६९, ८९ र ९१ औं मिनेटमा गोल गरे। यस्तै, अनिष चापागाईंले १७ औं र गणेश पुलामीले ५३ औं मिनेटमा गोल गरे। गाईघाटका लागि पविन राईले २९ औं मिनेटमा र ८१ औं मिनेटमा र यस्तै दिवस श्रेष्ठले १४ औं मिनेटमा गोल गरे।  प्लेयर अफ दि म्याच गाईघाटका गणेश घोषित भए। 

ANFA President's League: Bara's Nava Jagriti and Surkhet's Kankre Bihar qualify for the National League

यसअघि समूह 'ए' बाट कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिगमा समुह 'ए'बाट अन्तिम चारमा पुगेर राष्ट्रिय लिगको लागि छनोट भइसकेको छ। 

लिगको सेमिफाइनल खेल कात्तिक ३० गते हुनेछ भने फाइनल मंसिर २ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully