हरि र अञ्जनको संयोग जुर्ने छ त ?

ढाकास्थित नेसनल स्टेडियममा हुने खेलले के नेपाली फुटबललाई केही मीठो सन्देश दिन सक्छ त ? सायद यसको दुई फरक उत्तर छ । सक्नेछ, किनभने पछिल्लो समय बंगलादेशमाथि नेपाल हाबी रहेको छ । दुई टिमबीचको पछिल्ला ६ खेलमा नेपाल अपराजित छ । 

कार्तिक २७, २०८२

हिमेश

Will Hari and Anjan be together?

What you should know

काठमाडौँ — नेपाली फुटबलमा अन्योल, अनिश्चितता, विवाद, फुट र द्वन्द्वको शृंखला चलिरहेका बेला पुरुष राष्ट्रिय टिम भने बिहीबार मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा उत्रँदै छ बंगलादेशविरुद्ध । ढाकास्थित नेसनल स्टेडियममा हुने खेलले के नेपाली फुटबललाई केही मीठो सन्देश दिन सक्छ त ? सायद यसको दुई फरक उत्तर छ । सक्नेछ, किनभने पछिल्लो समय बंगलादेशमाथि नेपाल हाबी रहेको छ । दुई टिमबीचको पछिल्ला ६ खेलमा नेपाल अपराजित छ । 

त्यो पनि सन् २०२० यता । त्यसमा दुई जित र चार बराबरी नतिजा समावेश छ । अझ यसपल्ट नेपालका लागि प्रशिक्षकका रूपमा पुरुष टिममा हरि खड्काले डेब्यु गर्दै छन् । नेपाली फुटबलकै सर्वकालीन ‘लिजेन्ड’ मध्ये एक हरिकै नाममा रहेको राष्ट्रिय टोलीका लागि संयुक्त रूपमा १३ गोलको कीर्तिमान छ । उनी मात्र होइनन्, अरू दुईले पनि नेपालका लागि १३ गोल गरेका छन् । 

त्यसमध्ये एक भए, हरिकै समकालीन नीराजन रायमाझी । अर्को भने अञ्जन विष्ट । अहिलेकै टिममै छन् अञ्जन । यस्तोमा के उनले हरिकै सामु गोलको नयाँ कीर्तिमान बनाउन सक्छन् त ? यस्तो सम्भव भए, त्यो नेपाली फुटबलका लागि एउटा स्वप्निल कथा हुनेछ । ‘यस्तो भए त सबैभन्दा बढी खुसी हुनेमा म नै पर्नेछु,’ हरिले भनेका छन्, ‘१३ गोलको कीर्तिमान उछिनेकै राम्रो, धेरै लामो समय भयो यसका लागि प्रतीक्षा गरिरहेको ।’ 

यो सम्भावित संयोगलाई बल दिने अर्को आधार पनि छ, बंगलादेशविरुद्ध अञ्जनको व्यक्तिगत लय । पछिल्ला तीन खेलमा अञ्जनले बंगलादेशविरुद्ध ४ गोल गरेका छन् । त्यसमा एक ह्याट्रिक समावेश छ । सायद नेपालले बंगलादेशविरुद्ध आफूअनुकुल नतिजा निकाल्न सक्ने पनि छैन, किनभने पूरा टिम अहिले खराब लयमा छ । नेपाल आफूले खेलेका पछिल्ला ६ खेलमा जितहीन छ ।   

त्यसमध्ये चार हार र दुई बराबरी सामेल छ । एक प्रकारले भन्ने हो भने पछिल्लो केही खेलमा नेपाली टिमको प्रदर्शन कमजोर छ । अझ घरेलु कलहले खेलाडीमाझ निराशा पनि छ । त्यसैले यो क्रमलाई तोड्न नेपाललाई गाह्रो हुनेछ । त्यसमाथि बंगलादेशी फुटबल अहिले एक प्रकारको उत्साहबाट चलिरहेको छ । यसको स्पष्ट कारण हो, टिममा हाम्जा चौधरीको उपस्थिति छ । लेस्टर सिटीका लागि उनी इंग्ल्यान्डको च्याम्पियनसिप लिगमा खेल्दै छन् ।  

उनीसँग प्रिमियर लिगको पनि बाक्लै अनुभव छ । उनी जत्तिको खेलाडीको सामना गर्न पाउँदा त्यो नेपाली खेलाडीका लागि पनि उत्साहकै अवसर हुनेछ । सन् २०२४ देखि उनले बंगलादेशको राष्ट्रिय टिमबाट खेल्ने निर्णय गरेका थिए र त्यसयता उनको आगमनले बंगलादेशी फुटबल टिम सिधै आकर्षक बनेको छ । यति भन्दाभन्दै पनि बंगलादेश आफ्ना पछिल्ला ५ खेलमध्ये एकैमा मात्र विजयी रहेको छ । त्यो भुटानविरुद्धको जित हो ।

त्यसलाई छाडेर बंगलादेश हङकङ र सिंगापुरसँग पराजित भएको छ । बंगलादेशले हङकङ र नेपालसँग भने बराबरी खेलेको छ । नेपाल र बंगलादेशबीचको पछिल्लो खेल दशरथ रंगशालामा गोलरहित बराबरीमा समाप्त भएको थियो । जेन–जी आन्दोलनकै कारण दुई टिमबीचको दोस्रो खेल रद्द भएको थियो । अनि त्यसयता नेपाली टिमका मुख्य प्रशिक्षक म्याट रसले पनि राजीनामा दिइसकेका छन् ।  

हिमेश

Link copied successfully