काठमान्डु गोर्खाजको लाइफ इन्स्योरेन्स पार्टनरमा प्रभु महालक्ष्मी

सोमबार सुरु हुने एनपीएल दोस्रो सिजनका लागि गोर्खाजले लाइफ इन्स्योरेन्स पार्टनरमा प्रभु महालक्ष्मीसँग सहकार्य गरेको हो ।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Prabhu Mahalakshmi becomes Kathmandu Gorkhas' life insurance partner

काठमाडौँ — काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबार सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि गोर्खाजले लाइफ इन्स्योरेन्स पार्टनरमा प्रभु महालक्ष्मीसँग सहकार्य गरेको हो ।

काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफबीच बिहीबार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र प्रभु महालक्ष्मी लाइफका सीईओ सन्तोष प्रसाईंले सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रभु महालक्ष्मीका ब्रान्डिङ विभाग प्रमुख विनोद घिमिरे पनि उपस्थित थिए ।

प्रभु महालक्ष्मीका सीईओ प्रसाईंले नेपाली क्रिकेटसँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै नेपाली खेलकुद विकासमा प्रभु महालक्ष्मीको सहयोग रहने प्रतिबद्धता जनाए । गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले प्रभु महालक्ष्मीको साथमा गोर्खाजले एनपीएलमा बलियो उपस्थिति जनाउन सक्दो प्रयास गर्ने बताए ।

८ वर्षदेखि सञ्चालनमा रहेको प्रभु महालक्ष्मी लाइफले नेपाली बिमा बजारमा स्थापित र आक्रामक रूपमा जीवन बिमा व्यवसाय गर्दै आएको जीवन बिमा कम्पनी हो । १ सय १५ कार्यालयमार्फत जीवन बिमासम्बन्धी उच्चस्तरीय सेवा देशका कुनाकन्दरासम्म पुर्‍याएको छ ।

काठमाडौं गोर्खाजले यसअघि मुख्य प्रायोजकमा वर्ल्ड लिंक, गोल्ड पार्टनरमा शिखर इन्स्योरेन्स, ड्रिङ्क पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क, अफिसियल एजुकेशन पार्टनरमा आईआईएमएस कलेज र एब्रोर्ड स्टडी पार्टनरमा केआईईसीसँग प्रायोजन सम्झौता गरिसकेको छ । टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।

कान्तिपुर

Link copied successfully