अनन्त तामाङले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोल मद्दतले नेपालले बंगलादेशलाई २–२ को रोमाञ्चक बराबरीमा रोकेको छ ।
काठमाडौँ — अनन्त तामाङले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोल मद्दतले नेपालले बिहीबार बंगलादेशलाई २–२ को रोमाञ्चक बराबरीमा रोकेको छ ।
बंगलादेश जिततर्फ अग्रसर देखिएका बेला अनन्तले ‘फ्लिक’ गर्दै उत्कृष्ट गोल गरे र नेपाल खेलमा फर्कन सफल रह्यो ।
त्यसअगाडि लेस्टर सिटीका हाम्जा चौधरीले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गरेपछि बंगलादेशले अग्रता लिएको थियो । ढाकाको नेसनल स्टेडियममा बंगलादेश एक गोलले पछाडि रहेको स्थितिबाट अग्रता लिएको थियो । हाम्जाले ४६ औं मिनेटमा ‘ओभर हेड बाइसाइकल किक’ को मद्दले आकर्षक गोल गरे ।
लगत्तै बंगलादेशले पेनाल्टी प्रहारको अवसर पायो र त्यसलाई हाम्जाले ५० औं मिनेटमा गोलमा परिणत गरे । यसअघि नेपालले रोहित चन्दको गोलले २९ औं मिनेटमा अग्रता लिएको थियो । रोहितको नेपालका लागि यो दोस्रो अन्तर्राष्ट्रिय गोल मात्रै हो ।
यसअघि उनले सन् २०२४ मा अफगानिस्तानविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका थिए । यस खेलसँगै हरि खड्काले प्रशिक्षकका रूपमा नेपालका लागि डेब्यु पनि गरेका छन् ।
