अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा आठ देशका ५० खेलाडीले प्रतिस्पर्धा गर्दै

यही कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगिता समुन्द्री सतहबाट एक हजार ३६० मिटर उचाइमा अवस्थित पोखरा महानगरपालिका–१३ को आर्बा–विजय डाँडामा आयोजना हुनेछ ।

कार्तिक २६, २०८२

रासस

कास्की — पर्यटकीय सहर पोखरामा बिहीबारदेखि तेस्रो संस्करणको ‘इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक’ प्रतियोगिताको सुरु हुँदैछ ।

यही कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगिता समुन्द्री सतहबाट एक हजार ३६० मिटर उचाइमा अवस्थित  पोखरा महानगरपालिका–१३ को आर्बा–विजय डाँडामा आयोजना हुनेछ । 

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कले जनाएको छ । खेलाडीहरु सबै पोखरा आइपुगेका छन् । प्रतियोगिता स्थलमा सहभागी देशका झन्डाहरु राखेर सजाइएको छ । प्रतियोगिताका ‘रेस’ निर्देशक सुनीलचन्द्र शर्माले प्रतियोगितामा नेपालसहित जर्मनी, सिंगापुर, अस्ट्रेलिया, बेलायत, श्रीलंका, ओमन र अमेरिका गरी आठ देशका ५० खेलाडीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

उनले भने, 'साहसिक इन्डुरो माउन्टेन बाइक रेसको सबै तयारी पूरा भएको छ । आठ देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि १३ बढी देशले नाम दर्ता गराएका थिए । तर  नेपालमा भएको जेनजी आन्दोलनले परेको नकारात्मक असरका कारण अरु देशले दर्ता रद्द गरेका छन् ।'

प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरी छ विधामा छ वटै ट्रयाकमा प्रतिस्पर्धा हुनेछ ।

आयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यसअघि विसं २०८० र विसं २०८१ मा प्रतियोगिता सम्पन्न भइसकेको छ ।

इन्डुरो प्रतियोगिताले विश्वभर ठूलो संख्यामा रहेका ‘माउन्टेन बाइक’ प्रेमी खेलाडी आकर्षित भई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रतियोगिता संयोजक शर्माले बताए । 

रासस

Link copied successfully