आईआईएमएस कलेज र काठमान्डु गोर्खाजबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौँ — आईआईएमएस कलेज नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमान्डु गोर्खाजको अफिसियल एजुकेसन पार्टनर बनेको छ ।
आईआईएमएस कलेज र काठमान्डु गोर्खाजबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा आईआईएमएसका मुख्य कार्यकारी अधिकृत सविन्द्र महर्जन र गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले हस्ताक्षर गरे । साझेदारीअनुसार आईआईएमएस र गोर्खाजले युवा सशक्तीकरण, खेलकुद–शिक्षाबीच समन्वय र प्रतिभा विकासको उद्देश्यमा आधारित भएर विभिन्न गतिविधि सञ्चालन गर्नेछ ।
महर्जनले भने, ‘आईआईएमएस कलेजले सदैव युवा प्रतिभा, नेतृत्व क्षमता र करियर विकासमा प्राथमिकता दिएको छ । काठमान्डु गोर्खाजसँगको साझेदारी शिक्षा र खेल जोड्ने महत्त्वपूर्ण कदम हुने अपेक्षा छ ।’
कार्यकारी निर्देशक सिरोहियाले एनपीएल र फ्रेन्चाइज क्रिकेटको सफलताका लागि प्रायोजकको भूमिका अत्यन्त महत्त्वपूर्ण भएको बताउँदै आईआईएमएस कलेज जस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यले आफ्नो टोलीको मनोबल उच्च हुने आशा व्यक्त गरे ।
गोर्खाजले यसअघि मुख्य प्रायोजक वर्ल्ड लिंक, गोल्ड पार्टनर शिखर इन्स्योरेन्स, ड्रिंक पार्टनर एक्सट्रिम इनर्जी ड्रिंक र अफिसियल हस्पिटालिटी पार्टनर टुलिप होटलसँग साझेदारी गरिसकेको छ ।
